दशैं, चंगा र बागलुङका फाट

कृष्णराज शर्मा-असौज लागेपछि देखिनै अाकाशै ढाकिने गरि चंगा उड्थे । बाटो हिंड्नेहरु जसले पनि सहजै चंगा उडेको देख्थे । बजार पातलो थियो । लडिरहेका चंगा देखेपछि त झन ‘चंगा चैट्’ नहोउञ्जेल बाटोमै टक्क रोकिएर हेर्थे । जिल्लामा अाउने सरकारी अड्डाका ठुलाबडा व्यक्तिहरु बागलुङमा चंगाको क्रेज देखेर दंग हुन्थे । त्यति बाक्लो चंगा उडाईन्थ्यो त्यतिबेला । तर चंगा भने अव्यवस्थित रुपमा उडाईन्थ्यो । खेतखेतमै चंगा उडाईन्थ्यो । खेतखेतमा चंगा झर्थे । अहिलेको बानपा दुईको लगभग पुरै जग्गामा धान झुलेका हुन्थे । चंगा उडाउनेले भन्दा चंगा छोप्नेले भित्र्याउने बेलाको धानबालीमा ठूलो क्षेति पुर्याउँथे । किसानहरु अाफ्नो बाली नष्ट भएकोमा उजुरी हाल्थे । तर चंगा उडाउनेका लागि अर्को विकल्प पनि थिएन । त्यो बेलाका घरका धुरिमा छत् हुँदैन्थ्यो । अग्ला रुख भएतिर चंगा उडाउन मिल्दैनथ्यो । विजुली बलेको थिएन,तारखम्बा केही थिएनन् । चंगा उडाउन उपयुक्त थलो यिनै धानखेत थिए । भर्खर अधिग्रहण गरि स्थानीय धौलागिरी (महेन्द्र) क्याम्पसको चौर विस्तार भएको थियो । त्यहि खुलाचौरमा अंचलाधीशले एकपटक चंगा प्रतियोगिता गराएका थिए । अंचलाधीशले व्यवस्थित चंगा उडाउन र प्रोत्साहन गर्न चंगा प्रतियोगिताको अायोजना गरेका थिए । जुन धेरै पछिसम्म रह्यो । धानकाटे पछि भने धानखेतमै चंगा उडाउन छुट थियो । धान भित्र्याए लगत्तै अर्को बाली लाग्दैनथ्यो ।

गहुँबालीको चलन खासै अाएको थिएन । फागुन सम्मै खेतका गह्रामा खुल्ला रुपमा चर्न र खेल्न सकिन्थ्यो । यिनै खेतमा हिमाली भेगबाट जाडोछल्न अाउने ‘टोपा’ ( टाउकोमा कानेटोपी लाउनेहरु ) नअाउञ्जेल सम्म चंगा उडिरहन्थे । अर्थात जाडो बढ्दै गएपछि चंगा उडाउन अाफसेअाफ बन्द हुन्थ्यो । ऊ बेला लगभग चार दशक अगाडि त्यस्तो थियो । अाजको असौज-कात्तिकमा अाकाशमा एउटा पनि चंगा उडेको देखिन्न । खेत पनि कतै बाँकी छैन । घरैघरले खेत ढाकेको छ । धान झुल्दैन । चंगा चैट हुँदैन । चंगा उडाउने कतै ठाउँ पनि छैन । अाकाश पनि रित्तो छ । हिंजोका हामीलाई चंगा उडाएको स्मरण मात्र ताजा हुन्छ । शरदऋतु खल्लो लाग्छ । टिभीका स्कृनमा चंगा उड्छन् । लिंगेपीङ मच्चिन्छ । केटाकेटीले टिभीमा उडेका चंगा देख्छन् । टिभीमा अाउने विज्ञापनमा चंगा उडाएको देखेर घरभित्र भित्रै रमाउँछन् । चंगा उडाउने कसरी हो भनेर सोध्छन् । चंगा उडाउन रङ्ङ मान्ने बच्चाहरुले चंगा किनेर पनि ल्याउँछन् । थोरै उचा ठाउँमा चढेर उडाउन खोज्छन् । कसरी उडाउने थाहैछैन,उडाउन जान्दैनन् । सिकाईदिन कसैलाई फुर्सद छैन । सिकाउन कसैले चाहँदैनन् । उडेको चंगा मिसाउँदा शरदऋतु कति हाँस्थ्यो । घर अाँगनको वातावरण कति रमाईलो हुन्थ्यो । चंगा नमिसिएको दशैं तिहार त बम्बैबाट उद्धार गरि फर्काईएकि चेलीको जस्तै त्यसैत्यसै फुङ्ङ उडेको अनुहार जस्तो पो हुनेरहेछ ! अधिकांशका बाउअामाले मोवाईल र कम्प्युटरमा झुण्डिएको देखेपछि मेरा बच्चाले पढिरहेको छ भन्ने ठान्छन् । मोवाईल र कम्प्युटरको कुलतमा लागेका छन वा पढाईमा छन् हेर्दैनन् । कम्प्युटर र मोवाईल खेलाउँदैमा बच्चाहरु सहि लाईनमै छन् भन्न सकिन्न । हिजो चंगा उडाउन जान्नेहरु देश चलाउने मात्र नभै देशलाई चंगाजस्तै टुक्काटुक्रा पारेर ‘उडाउन’ पनि जान्ने भएकाछन् । चंगा उडाएकाहरु देशका उच्च अोहोदामा छन् । न्यायधीश,डाक्टर,प्रशाशक,ईन्जीनियर,प्रध्यापक भएर देशको विकासमा महत्वपूर्ण योगदान दिएर निवृत्त भैसकेका छन् । खाने मुखलाई जुँगाले कहिले कसलाई छेकेको छ र पढाइ बिग्रन्छ ? बोर्डिङको अादेश सबथोक होईन । बच्चाको बाल मस्तिष्क र बौद्धिक विकासका लागि बँधुवा खेलकुद मात्र प्रयाप्त हुँदैन । चंगा उडाउने जमानाका जत्तिका अहिलेका किशोर किशोरीमा बौद्धिक चनाखोपन पटक्कै छैन । विकृतिमा मात्रै चनाखोपन छ । व्यवहारिक ज्ञान शुन्यमा झरेको छ ।

नैतिकता भन्नेकुरा पढाउने ‘सर’ संग सिमित भएको छ । बाह्रै महिनाको घोकन्ते पठनपाठन विधिले घुलमिल र श्रृजनात्मक क्षमतामा छिद्रैछिद्र परेको छ । एकमुष्ठ एक महिनासम्मलाई पुग्ने तालिका सहितको गृहकार्य दिएर बच्चाहरु रन्थनिएर कोठामा बस्न बाध्य भएकाछन् । उनीहरुले उन्मुक्त भएर खेल्ने सोच्ने समयनै पाउँदैनन् । यस्तो परिवेषका केटाकेटीले चंगा उडाउने त कुरै छोडौं,यो प्रसंग झिक्ने मान्छेलाई नै पागलको संज्ञा दिनबेर लाग्दैन । बाउअामाका अगाडि पुस्तक फिंजाएर वारम्वार ‘पिसाब’ फेर्ने बहाना बनाएर रिल्याक्स हुन्छन केटाकेटीहरु । खेल्ने अबसर प्रशस्त नपाएका धेरै बच्चाहरु दुर्व्यसनमा फस्ने गरेका घटना हाम्रै वरिपरि प्रशस्त छन् । अनावश्यक धेरै गृहकार्य बच्चालाई थोपर्नु कठोर संजाए दिनुसरह हो । संजाए व्यहोर्नु भन्दा दुर्व्यसनिको संगत रमाईलो बनिदिन्छ । हामीले यतापट्टी ध्यानै दिएका छैनौं । जापान जस्तो संमृद्धशाली देशमा पनि चंगा उडाउने संस्कृति ज्यूँकात्यूँ राखिएको छ । बाबाअामाले नै ससाना नानीहरुलाई संगै लगेर चंगा उडाउन सिकाउँछन् । उनीहरुले त कम्प्युटर मोवाईल चलाउने मात्र होईन अाँफै बनाउँछन पनि । उनीहरु पढाईमा पनि तेज छन् । चंगा उडाएर जापानीजहरु झन् श्रृजनाका धनी बनेका छन् । चंगा उडाएर उनीहरुले जापानको प्रकृतिलाई अझ मनोरम बनाउँछन् । अरु विकसित देशमा पनि यो संस्कृति उत्तिकै बलियो छ । हामी हाम्रै शैलीको चंगा उडाउने संस्कृति मासेर बोर्डिङको एकोहोरो ‘भेडो संस्कृति’ भित्र्याएर सुशिक्षित समाज देख्न थालेका छौं । अन्तमा,त्यतिबेलाका अञचलाधीशको त अहिले कल्पना पनि गर्न भएन । अहिलेका कुनै नयाँ ‘धीश’ बनेर लोप हुन लागेको चंगा संस्कृति जोगाउन यो तिहार भित्रै चंगा प्रतियोगिताको अायोजना गर्न जोकसैबाट पहल हुने हो भने शरदऋतु अझ कति खुशी हुँदो हो ! नयाँपंक्तिले भविष्यका पंक्तिलाई चंगा उडाउन सिकाउने अाधार बन्दो हो । यो प्रसंगमा कोही सरोकारवाला छौं भने मन मन्थन गर्ने हो कि !