छक्का पञ्जाको ब्लकबस्टर ह्याट्रिक

दीपक-दीपा भन्छन्– सफलताले मात्तिदैनौं, गम्भीर हुन्छौं ।

काठमाडौं, ७ कात्तिक- नेपाली चलचित्रको बजार सानो छ । यही सानो बजारमा एक वर्षमा १ सयभन्दा बढी नेपाली चलचित्र प्रदर्शनमा आउँछन् । त्यसमा सरदर ९५ प्रतिशत चलचित्र असफल हुन्छन् भने ५ प्रतिशतले मात्र लगानी उठाउँछन् । नाफामा जाने चलचित्र त २/३ वटा मात्र हुन्छन् । जुन कुरा विगतका आँकडाले प्रष्ट पार्छ । एउटा चलचित्र निर्माण गरेपछि त्यसको लगानी समेत उठाउन मुस्किल हुने नेपाली चलचित्र बजारमा ʻछक्का पञ्जाʼएउटा ब्राण्ड साबित हुँदै गएको छ । व्यापारिक रिपोर्टअनुसार यसका तीनवटै श्रृङ्खला ब्लकबस्टर साबित बनेका छन् । ʻछक्का पञ्जाʼ, ʻछक्का पञ्जा २ʼ र हाल प्रदर्शनरत ʻछक्का पञ्जा ३ʼ गरी ३ चलचित्र ब्लकबस्टर सावित भएसँगै चलचित्रकी निर्देशक दीपाश्री निरौला भाग्यभानी साबित भएकी छिन् । ʻछक्का पञ्जाʼको व्यापारिका आँकडा १६ करोड छ।
जुन चलचित्रले सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको छ । त्यस्तै ʻछक्का पञ्जा २ʼ ले १४ करोड बढीको कमाई गरेको थियो । वितरकको भनाईलाई आधार मान्ने हो भने दशैंको घटस्थापनाको दिनदेखि प्रदर्शनमा आएको ʻछक्का पञ्जा ३ʼ ले झण्डै १३ करोडको कमाइसकेको छ । प्रदर्शनको तेस्रो सातामा लाग्दा पनि चलचित्र हेर्न हलमा दर्शकको भीड छ । यसरी हेर्दा तेस्रो श्रृङ्खलाले अघिल्ला दुई श्रृङ्खलाको रेकर्ड तिहारअघि नै तोडेर नयाँ व्यापारिक रेकर्ड राख्ने अनुमान गर्न सकिन्छ । लेखक, निर्माता तथा कलाकार दीपकराज गिरी लोकान्तरसँग भन्छन्, ʻआजसम्म पनि हलमा दर्शकको चाप देख्दा त्यस्तै देखिन्छ ।ʼ
दुई सातामा ‘छक्का पञ्जा ३’ ले गरेको यो व्यापार सर्वाधिक हो । चलचित्रले राजधानी र देशका मुख्य शहरमा आक्रमक व्यापार गरिरहेको छ । निर्देशक दीपाश्री निरौला मोफसलभन्दा राजधानीमा दर्शकको अझ बढी चाप रहेको बताउँछिन् । ʻछक्का पञ्जा ३ʼलाई दर्शक तथा समीक्षकले ‘छक्का पञ्जा’  र ‘छक्का पञ्जा २’ भन्दा उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । चलचित्रले उठाएको विषयवस्तुलाई दर्शकले खास्सा भनेका छन् । चलचित्रले शिक्षा क्षेत्रमा हुने बेथितिलाई रमाईलो ढंगले व्यङ्ग्य गरेको छ । ʻयस पटकको कथालाई सबैले तारिफ गर्नुभएको छ,ʼ दीपाश्री भन्छिन्, ʻयसले हामीलाई थप जिम्मेवारी थपिदिएको छ ।ʼ दर्शकको प्रतिक्रियाले आफूहरूलाई थप ऊर्जा र हौसला मिलेको उनले बताइन् ।उनी भन्छिन्, ʻयो सफलताबाट मात्तिने होइन कि हामी अझ गम्भीर भएर लाग्नेछौं ।ʼ
दीपकराज गिरी नेपालमा बजारअनुसार धेरै चलचित्र प्रदर्शनमा आउने गरेको बताउँदै राम्रो चलचित्र दर्शकले माया गर्ने बताउँछन् । कथा, पटकथा तथा संवादमा मेहनत नगर्दा धेरै चलचित्र घाटामा जाने गरेको उनी बताउँछन् । यता दीपाश्रीको तर्क पनि उही छ । ʻहामीले दर्शकको आफ्नो चलचित्र बनाउन सक्यौं र त सबैले मन पराउनुभयो,ʼ उनले भनिन्, ʻबजारको मागअनुसार समसामयिक कथामा बनेका चलचित्रलाई दर्शकले रुचाउँछन् ।ʼ बजारमा के चलिरहेको छ, दर्शक कस्तो चलचित्र रुचाउँछन्, दर्शकलाई हेरेर चलचित्र बनाउँदै आएका कारण सफलता मिल्दै गएको उनी बताउँछिन् ।ʻत्यसमा चलचित्रको बजेट, गीतसंगीत, कलाकार, प्राविधिक लगायत सम्पूर्ण टीमको भूमिका त महत्त्वपूर्ण हुन्छ नै,ʼ उनले भनिन् ।