रेमिट्यान्स सदुपयोग गरौं

बैदेशिक रोजगारी र सेनामा भर्ती हुने लाहुरेहरुको जिल्लाका रुपमा बागलुङ परिचित छ । यहाँका अधिकांश युवा रोजगारीको शिशिलामा बिभिन्न मुलुकहरुमा पुग्ने गरेका छन् । बैदेशीक रोजगारीमा रहेका मानिसहरुको संख्या उच्च रहेका कारणलेनै बागलुङलाई रेमिट्यान्सको जिल्लाको रुपमा चिनिने गरेको हो । बैदेशीक रोजगारीका क्रममा विश्वका बिकसीत मुलुक देखी खाडी तथा मलेसियामा जानेको संख्या पनि उच्च रहेको छ । भारतीय र बेलायती सैनिक तथा सिंगापुरे पुलिसमा जानेको ठूलो जमात छ । भारतमा अन्य कामको शिलशिलामा जानेहरुको संख्याको लेखा जोखा पनि छैन । प्राय युवा अवस्थाका मानिसहरु तेस्रो मुलुकमा जाने र उमेरको हद लागेकाहरु भारतमा रोजगारीको लागि जाने प्रचलन समेत छ । यो वा त्यो ढंगबाट बैदेशिक रोजगारीमा जानेहरुको संख्या उच्च रहेकालेनै होला बागलुङमा रेमिट्यान्स निकै ठुलो मात्रामा भित्रिने गरेको छ । सामान्य समयमा समेत भ्याई नभ्याई हुने बागलुङका बिप्रेसण बितरण केन्द्रहरुलाई चाड पर्वको समयमा थप चाप पर्ने गरेको छ ।

यो बर्ष मात्रै दशैंको समयमा बागलुङमा झण्डै एक अर्व भन्दा धेरै रेमिट्यान्टस् भित्रिएको छ । बैदेसिक रोजगारीमा रहेकाहरुले चाड पर्वको समयमा आफ्नो घर परिवारको खर्चको जोहो गर्नका लागि बिप्रेसण मार्फत पैसा पठाएका हुन् । बागलुङमा अरवौंको मात्रामा भित्रिएको रकम के कस्ता काममा खर्च भयो वा लगानी भयो भन्ने बिषयमा भने निकै कम खोजी हुने गरेको छ । दशैको मुखमा बागलुङमा भित्रिएको अरवौं रुपैयाँ बिप्रेसण खानपान, लत्ता कपडा र दान दक्षिणामा सकिएको छ । दशैंका नाममा मौलाई रहेको बिकृतिका कारण दान दक्षिणा, लत्ता कपडा र खानपानमा ठुलो रकम खर्च हुने गरेको हो । खर्च गरेर त्यसको प्रतिफल खोज्ने भन्दा पनि तडक भडक देखाउनको लागि गरिने खर्च बढ्दै गएका कारण बिदेशमा दुखले कमाएको पैसा बिना कामका बस्तु तथा सेवाहरुमा धेरै खर्च हुने गरेको छ ।
बिदेशमा नेपालीहरुले पसिना बगाएर कमाएको पैसा कुनै न कुनै रुपमा नेपालमा भित्रिरहेको छ तर त्यसको सहि सदुपयोग भने निकै कम मात्रामा हुने गरेको छ । बिदेशबाट आएको पैसालाई अनावश्यक खर्च गरेका कारणलेनै केही समयका लागि बिदेश भासीएका युवाहरु परिवारको गुजाराकै लागि बर्षौं सम्म बिदेशीको अधिनमा काम गर्न बाध्य भैरहेको तितो यथार्थ हाम्रो सामु छ ।

बिदेशमा काम गरेर फर्कंदा ठूलो रवाफ बनाउनेहरुले पनि छिटै खर्च अभावमा जीवन बिताएको देखिन्छ । समयमा त्यसको सदुपयोग गर्ने वातावरण अब राज्य तहबाट बनाउन जरुरी छ । कमाईलाई समयमा लगानी वा पूजिमा लगाउने पद्दती राज्यले अपनायो भने पछि उनीहरुले दुःख पाउनु पर्दैन । दशैंमा बागलुङमा जस्तै देशभर अरवौंको सम्पत्ति भित्रिएको छ । यो सम्पत्तिलाई सदुपयोग गर्ने र उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने वातावरण अव घरघरबाट बनाउन जरुरी छ । यदि बैदेशीक रोजगारीबाट कमाई भएको रकमलाई सदुपयोग गर्न सकियो भने भावि पुस्ताले अहिलेको पुस्ताको जस्तो सानो परिवारको गुजारा चलाउन समेत बिदेशीको मुख ताक्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने छ । यदि अहिलेकै अवस्थामा प्रतिफल आउनेमा भन्दा भड्काव देखाउनेमा खर्च गर्ने परिपाठि कायम रहने हो भने नत अहिलेको पुस्ताको मेहनत काम लाग्नेछ नत भावी पुस्ताको भविश्यनै सुरक्षित रहन्छ ।