साना जलविद्युत आयोजना उद्घाटन गर्न हेलिकप्टरमा सरर

विद्युत आयोजना निर्माणमा झण्डै दश करोड सहयोग गरेका हङकङ निवासी सर माइकल कादुरीको परिवार तीन वटा हेलिकप्टरमा आए

रुकुमपूर्व, ८ कात्तिक – भूमे गाउँपालिकामा पर्ने लुकुम खोलामा बिहीबार चार हेलिकप्टर अवतरण भए । गाउँलेहरु एक्कासी अचम्ममा परे । गाउँलेले भने, ‘हैन आज एकैचोटी यतिविधि हेलिकप्टर गाउँमा किन आयो ?’ साना जलविद्युत आयोजना उद्घाटन गर्न आएका पाहुनालाई ओसारपसार गर्न हेलिकप्टर गाउँमा घुमेको थियो । ४ हेलिकप्टरले धेरैपटक तलमाथि मात्रै गरेनन् । खोला आसपासका गाउँमा पनि एकै साथ चार हेलिकप्टरले धेरैपटक चक्कर लाए । भूमे गाउँपालिका-६, को सिसाघारीमा निर्माण भएको लुकुमखोला (सिसाघारी) साना जलविद्युत आयोजना उद्घाटनमा आएका पाहुनालाई ओसार्न ४ हेलिकप्टर आएका थिए । विद्युत आयोजना निर्माणमा झण्डै दश करोड सहयोग गरेका हङकङ निवासी सर माइकल कादुरीको परिवार तीन वटा हेलिकप्टरमा आए भने विद्युत आयोजना र उद्घाटन कार्यक्रमको डकुमेन्ट्री बनाउन टीम अर्को हेलिकप्टरमा । १ सय ३५ किलो वाट उत्पादन क्षमताको उक्त विद्युत आयोजनाका माइकल कादुरीले नै उद्घाटन गरे । कादुरीकै परिवारले कादुरी एग्रिकल्चरल एड एसोसियसन ब्रिटिस गार्खाज नेपाल मार्फत ९ करोड ७५ लाख ६ हजार सात सय ७९ रुपैयाँ तथा प्राविधिक सहयोग गरेको छ । दश करोड ३२ लाख ५६ हजार ७ सय ७९ रुपैयाँ ३२ पैसामा बनेको उक्त विद्युतमा स्थानीय उपभोक्ताले नगद र श्रमदान गरी ३५ लाख लगानी गरेका छन् । २०७३ साल कात्तिक २ गतेदेखि निर्माण सुरु भइ २०७४ साउनमा सम्पन्न उक्त विद्युत आयोजनाको बिहीबार उद्घाटन तथा हस्तान्तरण सम्पन्न भएको छ । आयोजना उद्घाटन तथा हस्तान्तरणका लागि आएका चार हेलिकप्टर मध्य ठाउँ अभावमा एउटा खोलावारी राखिएको थियो भने तीन वटा आयोजना उद्घाटनस्थलमै राखिएको थियो । एकैपटक चार/चार हेलिकोप्टर त्यस पनि गाउँमै पुगेपछि हेलिकोप्टर हेर्नेहरुको पनि घुँइचो थियो ।