मुटुरोगीलाई मिजार समाजको सहयोग

म्याग्दी, ९ कार्तिक — मुटु, पित्त र कलेजोमा गम्भीर समस्या भई उपचाररत बेनी नगरपालिका–९ की सपना मिजारलाई आर्थिक सहयोग प्राप्त भएको छ । शहीद गङ्गालाल अस्पतालमा मुटु र पित्त तथा शिक्षण अस्पतालमा कलेजोको शल्यक्रियापश्चात् नियमित अस्पतालको सम्पर्कमा रहेर उपचार गराइरहेकी १३ वर्षीया मिजारको उपचारमा सहयोग प¥याउने उद्देश्यले म्याग्दीस्थित मिजार समाजले रु २० हजार १५५सहयोग गरेको हो । बुधबार बेनीमा आयोजित एक कार्यक्रममा समाजका अध्यक्ष सुकलाल किसानले पीडित मिजार र उनका आमा नैना मिजारलाई सो रकम प्रदान गरेका थिए । आफन्तको सहयोग र चन्दा सङ्कलन गरी शल्यक्रिया हुँदैआए पनि नियमित रूपमा अस्पतालमा पुगेर उपचार गराइरहनुपर्ने भएकाले राहतका लागि सहयोग गरिएको अध्यक्ष किसानले बताए । घरमुली बुबाको निधन भएको र आमासमेत अपाङ्गता रहेका कारण सपनाको नियमित उपचारमा समस्या भएकाले थप सहयोगका लागि समाजले आह्वान गरेको छ । सपना घरपरिवारकी जेठी छोरी हुन् ।

उनका दुई भाइ छन् । शल्यक्रियापश्चात् उनको अवस्था सामान्य रहे पनि एक वर्षसम्म हरेक महीना अस्पतालमा पुगेर उपचार गराइरहनुपर्ने सल्लाह चिकित्सकले दिएको सपनाकी आमा नैना मिजारले बताए । यसैबिच म्याग्दीका अग्रज कवि तथा पण्डित स्व प्रेमप्रकाश पौडेलको प्रथम वार्षिकीको अवसरमा ‘स्मृतिग्रन्थ’ स्मारिका विमोचन गरिएको छ । स्व पौडेलको जीवनगाथालाई समेटेर उहाँका छोरा गोविन्द, मनोज र ठाकुरले स्मृतिग्रन्थ स्मारिका प्रकाशन गरेका हुन् । स्व पौडेलको प्रथम पितृ कार्यका दिन बुधबार बेनीस्थित कुरिलाखर्कमा आयोजित कार्यक्रममा हिन्दू धर्मका अभियान्ता किशोर गौतमले लोकार्पण गर्नुभएको सो स्मृतिग्रन्थमा पौडेलले साहित्य, राजनीति, धार्मिक, शैक्षिक र सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई चर्चा गरिएको छ । उनको विसं १९९७ मा भएको थियो ।