मल्लाज जोड्ने पदमार्ग निर्माण

म्याग्दी, ९ कार्तिक — बेनी नगरपालिका–८ कालीपुलदेखि जलजला गाउँपालिका वडा नं २, ३ र ४ मा पर्ने मल्लाज जोड्ने पक्की पदमार्ग निर्माण भएको छ । विकास नेपाल बेल्जियमको आर्थिक सहयोगमा कालीपुलदेखि डिलफाँटहँुदै मल्लाजको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भगवती कोत मन्दिर परिसरसम्म करीब दुई किलोमिटर पदमार्ग निर्माण भएको हो । पाँच वर्षअघि कालीपुलदेखि शुरु भएको पदमार्ग निर्माणले यस वर्ष पूर्णता पाएको डिलफाँट–कोतघर पदमार्ग उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बरुवालले बताए । तीन चरणमा रु ८६ लाख नौ हजार २५२ को लागतमा एक हजार ९५२ मिटर पक्की पदमार्ग निर्माण भएको अध्यक्ष बरुवालले जानकारी दिए ।

संस्थाको रु ५९ लाख ८६ हजार ३५२ सहयोग र स्थानीयवासीको रु १७ लाख ३३ हजार ७७७ को लागतमा तीन वर्षअघि कालीपुलदेखि डिलफाँटसम्म पदमार्ग निर्माण भएको थियो । यस वर्ष संस्थाको थप रु छ लाख ३३ हजार र स्थानीयवासीको रु दुई लाख ७६ हजार ७५१ को लगानीमा ३०० मिटर पदमार्ग बनाएर कोतघर परिसरमा पु¥याइएको हो । साविक माझफाँट गाउँ विकास समिति र वडाले पनि डिलफाँटदेखि कोतघरतर्फ ३०० मिटर पदमार्ग निर्माण गरेका थिए । पदमार्ग निर्माण भएपछि बेनीबजारका साथै बगरफाँट वारिबेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवतजावतमा सहज भएको छ ।