सीमाले रोक्दैन संगीत सिर्जनालाईः नवराज पन्त

बागलुङ, ९ कार्तिक — विदेशमा बसेरपनि नेपालीले आफूमा भएका सिर्जनाहरूलाई बेलाबखत प्रस्फुटित गर्दै आएका छन् । गीतकार नवराज पन्त अमेरिकामा बस्छन् । उनको पछिल्लो रचना ‘सालको पात टपरी हुनी’ को चर्चा नेपालमा छ । सार्वजनिक भएको महीना दिन पुग्दा युट्युबमा १७ लाख पटक हेरिएको छ । कलाको सीमा हुँदैन । भूगोलले सिर्जनाकर्म रोक्दैन् । विसं २०६८ मा ‘डाँडै फुर्के सल्लो’ गीत सार्वजनिक हुँदा लोकसङ्गीत प्रेमीले श्रद्धापूर्वक पन्तको पनि नाम लिए । उनले गाउदैनन्, सङ्गीत दिदैनन् । तर, शब्दले गीतमा प्राण भर्छन । पन्तको मूल सिर्जना कर्म गीत रचना हो । “भौतिक रूपमा अमेरिकामा बसेपनि मेरो मन र भावना नेपालमै छ”, पन्तले भने । सङ्गीतप्रति सानैदेखिको प्रेम र समर्पणले उनलाई गीत रचनातर्फ धकेल्यो । रोजगारीको सिलसिलामा चार वर्षअघि अमेरिका पुगेका पन्तले त्यहाँ पनि गीत लेखनलाई निरन्तरता दिए । सङ्गीतकार बसन्त थापाले आफू बेलायत भ्रमणमा हुँदा नयाँ गीत मागेपछि पन्तले ‘सालको पात…’ लेखे । “कम्पनीमा काम गर्दै थिएँ, एक्कासी गीत फु¥यो”, पन्तले सम्झिए, “कागजको चिर्पेटोमा शब्द उतारेँ ।” मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव उनको गीतको रचनागर्भ हो । गीतमा गायक कुलेन्द्र विश्वकर्मा र गायिका विष्णु माझीको स्वर छ । सात वर्षअघिको लोकदोहारी गीत ‘डाँडै फुर्के सल्लो’ पनि यिनै चार कलाकारको उपज हो ।

बागलुङ नगरपालिका–१२ अमलाचौरका पन्तले अमेरिकामै बसेर हालसम्म दर्जन बढी गीत रचना गरेका छन् । गायक÷सङ्गीतकार रामकृष्णबम मल्ल जापान पुगेको दश वर्ष भयो । उद्देश्य रोजगारी भएपनि सङ्गीत कर्ममा पनि उनको उत्तिकै लगाव छ । नेपालमै सङ्गीतको ज्ञान र अनुभव लिएर विदेशिएका मल्लको जापान पनि सिर्जनाको थलो भएको छ । “म यहाँ आएर पनि थुप्रै गीत रचना गरेँ, गाएँ” मल्लले भने, “सङ्गीत साधनाबाट टाढा छैन ।” लोक र आधुनिक शैलीका गीतमा सङ्गीत भर्ने र गाउने मल्लले ‘मायाको बारीमा’, ‘बस प्यारी’, ‘गलकोट सम्झिएँ’ लगायतका गीत जापानमै बसेर रचना गरे । जापानमा बसेर गीत लेखीरहेका छ जना गीतकारको संयुक्त आधुनिक गीत सङ्ग्रह ‘सहयात्रा’ मा समेत मल्लको एकल सङ्गीत छ । बागलुङको गलकोट नगरपालिका–५ हरिचौरका मल्लको गत महिना जापानमा ‘रामकृष्णबम मल्ल एकल साँझ’ पनि आयोजना गरियो । ‘कलाकार कल्याणकारी कोष’ का लागि टिकटमा उक्त कार्यक्रम राखिएको थियो । “एक वर्षको तयारी गरेर कार्यक्रम ग¥यौँ” मल्लले भने, “सम्भवत जापानमै पहिलोपटक त्यस किसिमको कार्यक्रम भयो ।” प्रत्यक्ष सङ्गीतमा भएको कार्यक्रममा मल्ललाई जापानी बाद्यवादकले समेत सघाएका थिए । “कार्यक्रमले राम्रो सन्देश दियो, विदेशी भूमिमा पनि ठूलो व्यवस्थापन सहित कार्यक्रम गर्न सफल भयौँ”, मल्लले भने । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका सूर्य खड्का १० वर्षदेखि जापानमा छन् । यसबीचमा उनले ८० भन्दा बढी लोक तथा दोहोरी गीत गाएका छन् । उनका ‘चार बजेको आलाराम’, ‘घडी’, ‘रित्तो काख’ लगायतका गीत चर्चामा छन् । उनले अधिकांश गीतको रकर्डिङ समेत जापानमै गर्दै आएका छन् । “नेपालबाट सङ्गीतको एरेन्ज मगाउँछु, स्वर यहीँको स्टुडियोमा रेर्कड गर्छु”, उनले भने । खड्का जापानमा हुने साङ्गीतिक कार्यक्रममा व्यस्त हुनेमा पर्छन ।