ठेकी बनाउने पेशा संकटटमा प¥यो

बागलुङ, ९ कार्तिक — गिठेदार कुँदेर काठको ठेकी बनाउने पेशा संकटमा परेको छ । बागलुङको अमलाचौरका चुँदार समुदायले गर्दै आएको ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि संकटमा परेको हो । परम्परागत प्रबिधिको प्रयोग गरेर बनाईंदै आएको ठेकी बनाउने पेशा दुखजिलो भएकाले नयाँ पुस्ताले अंगाल्न मानेन् । मेहेनत अनुसारको प्रतिफल पाउन कठिन हुने र बजारमा आएका आधुनिक भाँडाकुँडाका कारण ठेकीकको व्यापार समेत कम हुँदै गएकाले नयाँ पुस्ताले ठेकी बनाउने सिप नसिकेको बागलुङ नगरपालिका–१२ अमलाचौरका टिका बहादुर चुँदाराले बताए । ‘हामीले बाउबाजेले सिकाएको आधारमा काम सिकेर जिवन धान्ने पेशा नै ठेकी बनाउने पेशालाई बनायौं’ चुँदाराले भने– ‘हाम्रा छोर नातीले छालाको लोती तानेर भाँडी घुमाउन झिजो मान्छन, काम सिक्न मान्दैनन् ।’ गाउँमा दुखजिलो तरिकाले बनाईने ठेकीको काम भन्दा बैदेशीक रोजगारी सहज मानेर युवाहरु बिदेशीएका कारण सिप हस्तान्तरणमा समस्या भएको हो । ‘ठेकी बनाएर बिक्री गर्नका लागि गाउँ–गाउँमा डुल्नु पर्ने बाध्यता छ, कहिलेकाहिँ त महिनौ ठेकी बोकेर डुल्दा पनि पानी पिउने पैसा समेत पर्दैन्’ चुँदाराले भने– ‘परम्परागत प्रबिधिको प्रयोग गरेर बनाएका ठेकीको परिश्रम अनुसारको मुल्य पर्दैन् ।’ आधुनिक प्रबिधिको बिषयमा जानकारी नै नभएका कारण उनीहरुले पेशा जोगाउन कठिन भएको बताए ।

ठेकी बनाउनका लागि आवश्यक गिठेदारको काठ पर्याप्त मात्रामा नपाईने भएकाले पनि यो पेशा गर्नेहरुलाई समस्या हुने गरेको छ । बागलुङको बलेवाका चुँदार समुदायले बनाउने ठेकीको लागि आवश्यक गिठेदार बागलुङमा निकै कम मात्रामा पाईन्छ । गुल्मीममा पाईने काठ ढुवानी गरेर बागलुङ ल्याउँदा लागत बढ्ने भएकाले ठेकी बेच्न कठिन हुने गरेको चुँदाराले बताए । ‘पहिले–पहिले जस्तो काठ ल्याउनका लागि पनि सजिलो छैन्’ बलेवाकै सुर्य बिकले भने– ‘अहिले त अर्को गाउँपालिकाबाट हाम्रो नगरपालिकामा काठ ल्याउँदा कर लाग्छ भन्ने गरेका छन् ।’ एकै पटक धेरै काठ ल्याउँदा सामुदायिक वन तथा जिल्ला वन कार्यालयले बाधा सिर्जना गर्ने र थोरै थोरै गरेर काठ ल्याउँदा लागत बढ्ने गरेको उनको भनाई छ । बलेवामा रहेका २४ परिवार चुँदारा छन् उनीहरु मध्ये १० परिवारले ठेकी बनाउने पेशालाई अंगाल्दै आएका छन् । बलेवामा उत्पादन भएका ठेकीहरु पहिले–पहिले पाल्पा, स्याङ्जा, गुल्मी, प्युठान, म्याग्दी र पर्वत लगायतका जिल्लामा बिक्री हुने गरेको भएपनि पछिल्लो समय ठेकीको माग घट्दै गएको छ । पुराना पुस्ताका केही व्यक्तिहरुले ठेकीको उत्पादन गरेर बिक्री बितरण गर्दै आएका छन् । अहिले गिठेदारबाट बनेको ठेकीलाई प्रतिमाना ६ सय रुपैयाँदेखी १ हजार रुपैयाँसम्म पर्ने गरेको छ । चार मानाको ठेकी बनाउनका लागि तीन जना कालिगढलाई ४ घण्टासम्म लाग्ने गरेको उनीहरु बताउँछन् । भाँडी समात्नको लागि ताकत भएको एक जना कालिगढको आवस्यकवता पर्छ भने भाँडीको लोती घुमाउनका लागि दुई जना आवश्यक हुन्छन् एक जनालाई अरु थप काम लगाईने गरिन्छ । बञ्चरो, भाँडी थेवे, फलाँसी, बाँक र निकानको सहयताले ठेकी बनाउँदा दुर्घटनाको जोखिम समेत उत्तिकै हुने गरेको उनीहरुको भनाई छ । कालिगढले धारिलो भाँडी चलाउँदा समान्य त्रुटी हुँदा समेत ठेकी बनाउने काठ बिग्रिने र धारिलो भाँडीले काममा रहेका सबैलाई चोट लाग्ने सम्भावना रहेको बिकले बताए ।