गलकोट क्षेत्रको चक्रपथको तयारी

बागलुङ, ९ कार्तिक — गलकोट, ताराखोला र काठेखोला गाउँपालिका समेत जोड्ने गरी चक्रपथ निर्माणको काम थालिएको छ । ताराखोला बिशेष प्रकृतिको गाउँपालिका हो । यहाँका पर्यटकीय स्थानको पहिचान बढाउने र छिमेकी स्थानीय तह जोड्नका लागि चक्रपथको काम थालिएको अध्यक्ष प्रकाश घर्ती मगरले बताए । हाल भैरहेका ग्रामीण र कच्ची सडकको स्तरउन्नतीमार्फत चक्रपथको रुप दिईने छ । यो चक्रपथका लागि केही स्थानमा मात्र नयाँ ट्रयाक खोल्नुपर्छ भने धेरै स्थानमा पुरानै सडकको स्तरोन्नती गरिनेछ । काठेखोला गाउँपालिकाको बिहुँको रिजालचोकदेखि ताराखोला, गलकोट नगरपालिकाको हरिचौर र फेरी ताराखोलाकै वडा नं. १ माझखर्क जोड्ने चmत्रपथ बनाईने भएको हो । त्यसका लागि गण्डकी प्रदेश सरकारले २ करोड १० लाख रुपैयाँ बिनियोजन गरेको छ । सडक विभागले पनि ताराखोलातर्फ १ करोड र माझखर्कतर्फ १ करोड गरी २ करोड बिनियोजन गरेको हो । चालु बर्षका लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ बिनियोजन गरेको यो सडकलाई बहुबर्षे योजना बनाएर स्तरीय चक्रपथ बनाईन लागिएको घर्तीले बताए । ‘यहाँका पर्यटकीय क्षेत्रको पहिचान र गाउँपालिकाको दैनिक जीवनका लागि यो कोषे ढुंगा हुनेछ’ घर्तीले भने, ‘सडक अभावमा गाउँपालिका केन्द्र पुग्न हामीले धेरै सास्ती खेपेका छौं ।’ स्तरोन्नती पछि यो सडक भएर गाउँपालिका र अन्य वडामा पुग्न सहज हुने उनले बताए । १५ बर्षअघि सशष्त्र द्वन्द्वको समयमा स्थानीयले यो सडक खनेका थिए । सयौंले डेढ महिनासम्म श्रमदान गरेर खुलाएको ट्रक बिस्तारका लागि अहिलेसम्म सरकारी बजेट नपरेपछि साँघुरो र जोखिमयुक्त थियो ।

यो बर्षको बजेटले सडकको स्तरोन्नती हुने स्थानीयमा आशा पलाएको छ । ‘चक्रपथ बन्यो भने बर्षौदेखिको सास्ती अन्त्य भएर सहजै आउजाउ गर्न सकिन्थ्यो’ अर्गलका गोबिन्द घर्तीले भने, ‘अब सबैको पहलबाट सडकलाई पूर्णता दिनुपर्छ ।’ रिजालचोकदेखि ताराखोला सम्मको ५५ किमीको सडक छभने चक्रपथ पुरा हुँदा ६० किमीभन्दा लामो हुने उनले बताए । हाल बिनियोजन भएको बजेटले प्रारम्भिक काम पुरा गर्न सकिने घर्तीले बताए । ‘५ बर्षभित्र सक्ने गरी यस्तै बजेट निरन्तर बिनियोजन भएमा स्तरीय सडकमा यात्रा गर्न सकिन्छ’ घर्तीले भने, ‘प्रदेश सरकार र सडक विभागमा यसको डिपिआर समेत बुझाएका छौं ।’ गाउँपालिकाले पनि टुक्रे योजना छाडेर मुख्य सडकमा लगानी थप्ने नीति बनाएको उनले बताए । यो सडक अधिकांस स्थानमा ६ मीटर चौडाको छ । कम्तिमा १० मीटर चौडा बनाएर चक्रपथको रुप दिने गापाको योजना छ । म्याग्दीको रुम र ओखरबोटतर्पm पुग्न पनि यो सडक उपयोगी छ । सडकको सास्तीले बिरामी पर्दा समयमा उपचारका लागि सदरमुकाम पुग्न समस्या भोगेको ताराखोलाकी बिष्णु रोकाले बताईन् । ताराखोलाबाट हरेक दिन ढुंगा, काठ, तरकारी, दूध र अन्य खाद्यान्न समेत सदरमुकामतर्फ बिक्रि गर्न सडक समस्याले कठिन भएको उनले बताईन् ।