तित्याङको मनकामना मन्दिर पुनःनिर्माण

दर्शनार्थि बढ्ने स्थानियको आशा

बागलुङ, १० कार्तिक– गोरखा मनकामना मन्दिरको झल्को दिने बागलुङको मनकामना मन्दिरको पुनःनिर्माण गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ९ तित्याङमा रहेको पुरातात्विक ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मनकामना देवीको मन्दिर पुनःनिर्माण गरिएको हो । बागलुङ बजारदेखि तीन किलोमिटरको दुरीमा रहेको यस मनकामना मन्दिरमा दर्शनार्थीहरुको भीड भाड लाग्ने गरेका कारण मन्दिरलाई नयाँ स्वरुप सहित तामाले छानो छाएर पुनःनिर्माण गरिएको पुनःनिर्माण समितिका अध्यक्ष टिकाराम थापाले बताए ।
मन्दिर पुनःनिर्माणमा जम्मा छ लाख आठ हजार सात सय रुपैयाँ खर्च भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरको छानो छाउने दुई सय ८० किलोग्राम ताम्रपत्र खरिदमा तीन लाख २२ हजार रुपैयाँ खर्च भएको समितिका अध्यक्ष टिकाराम थापाले बताए । मन्दिरमा काठमा कुदेर बनाएका विभिन्न देवी देवताका मुर्तिहरु राखिएको छ । यसका लागि स्थानीय मुर्तिकार नै परिचालन गरेकाले झण्डै ४० हजार रुपैयाँमा निर्माण गरिएको बताइएको छ । मन्दिर निर्माणका लागि बागलुङ नगरपालिकाको कार्यालयले दुई लाख ८६ हजार रुपैँया र अन्य चन्दादाताहरुबाट गरी ४ लाख ५८ हजार ७ सय रुपैँया सहयोग प्राप्त भएको थियो ।
बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले ऐतिहासिक महत्व बोकेको मन्दिरको संरक्षणका लागि नगरपालिकाले योजना बनाएर अगाडि बढेको बताए । धार्मिक तथा पर्यटकीय विकासका लागि नगर क्षेत्रका मठ मन्दिरलाई नयाँ स्वरुप दिने काम भइरहेको भन्दै स्थानीयको आग्रह अनुसार काम भइरहेको बताए ।