आफ्नै माटोमा कर्म

बागलुङका गाउँ बस्तीहरुमा यतिबेला कामको चटारो चलेको छ । बारीमा पाकेको कोदो र खेतमा पाकेको धान भित्राउनका लागि किशानहरु खाईनखाई गरेर काममा व्यस्त छन् । धान, कोदो भित्राएर खेत बारीमा आलु, केराउ, गहुँ लागयतका बाली लगाउने अर्को चटारो सँग–सँगै सुरु भएको छ । दशैं सकिए लगत्तै कामको चापमा रहेका किसानका लागि यतिबेला एक घण्टा भुल्न समेत फुर्सद छैन् । गाउँमा युवा पुस्ताको अभाव छ । पढाईको शिशिलामा देशका ठुला शहर पसेका युवा युवतीहरु दशैं बिदा मनाएर शहर पसिसकेका छन्भने बैदेशीक रोजगारीमा गएकाहरु फर्केका छैनन् । शहर बजारको मोह र बैदेशीक रोजगारीको बाध्यताका कारण गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । गाउँ घरमा रहेका बुढा–बुढी र केटा–केटीको भरमा कयौं खेतका फाँटहरुमा सुन जस्तै धान फलेको छभने बारीमा चाँदीसरि कोदो फुलेको छ । एकाद अपवादबाहेक अझै पनि जिल्लाका उत्पादन हुने क्षेत्रहरुमा खेतबारी बाँझो देख्न भने पाईंदैन् । जनतन गरेको खेतीबालीले राम्रै फसल दिएकालेनै होला यस बर्ष जिल्लामा धानको उत्पादन बढ्ने संकेत गरिएको छ ।
भिरालो जमिन, कान्लै कान्ला रहेका खेतबारीका कारण आधुनिक प्रबिधिको प्रयोग गरेर खेती गर्ने अवस्था छैन् । जोत्नको लागि ट्याक्टर र धान कोदो काट्न तथा ठटाउनका लागि थ्रेसर प्रयोग गर्ने अवस्था छैन् । सबै खेतका फाँटहरु यातायातको पहुँचमा समेत छैनन् । त्यसैले यहाँको सबैखाले उत्पादन भित्राउनका लागि जनशक्तिकै आवश्यकता रहेको छ । खाली भएका गाउँहरुमा जनशक्ति खोजी भैरहेको छ तर प्राप्त रुपमा जनशक्ति नपाएकै कारण गाउँघरमा खेती किसानी गरेर बस्नेहरुलाई थप कामको चाप पर्नेनै भयो । रोजगारीको अभाव देखाउँदै बिदेशीने युवाहरुको ठुलो लर्को लागेको छ तर गाउँघरमा काम गर्ने जनशक्तिको अभाव भएको बिषयमा भने कसैको चासो छैन् । खेतबारीमा काम गरेर पाउने पारिश्रमीकको ग्यारेण्टी नभएका कारण युवाहरु सुन फल्ने माटोलाई छोडेर मरुभुमीमा पैसा खोजीरहेका छन् ।
देशमा ठुला–ठुला राजनीतिक परिवर्तनहरु भए तर त्यसका उपलव्धीहरुले तल्लो तहका नागरिकहरुको समस्या सम्बोधन गर्न सकेको छैन् । राजनीतिक परिवर्तनको स्वाद लिन नपाएकै कारण हुँदा खाँदाको खेतबारी बाँझो राखेर युवाहरु बिदेशीएका छन् । बिश्राम गर्ने बेला भएका बुढाबुढी र हाँस्दै खेल्दै दिन बिताउनुपर्ने बालबालिकाहरु कामको बोझले च्यापिएका छन् । गाउँ गाउँमा सिंहदरबार निर्माण गरिएको छ । जनताको प्रत्यक्ष पहुँच सरकारसम्म पु¥याएको भनिएको छ तर त्यसको अनुभुती जनतामा खै ? युवाहरुलाई खेतबारीकै काम गरेर जिवन गुजारा चलाउन सकिने वातावरण अब स्थानीय सरकारले बनाउन आवश्यक छ । नेपालको भुगोललाई मध्येनजर गरेर प्रबिधिको विकास र युवा पलायनलाई रोक्नु सबै स्थानिय सरकार तथा प्रदेश र केन्द्र सरकारको चुनौतीको बिषय हो । सिजनमा देशकै माटो सिंचने र बेसिजनमा उपयुक्त कामको अवसर दिलाएर युवाहरुलाई आफ्नै माटोमा कर्म गर्ने वातावरण सिर्जना गर्न सके खेती लगाउने र भित्राउने बेलामा जनशक्तिको अभाव कम हुने छ ।