कर्मचारीले तलब नपाएको गुनासो

साउन महिना देखी पाँच जना कर्मचारीले तलव भत्ता पाएनन्

बागलुङ, १२ कार्तिक — बिषयगत कार्यालय अन्र्तगत बागलुङ नगरपालिकाको कृषि र पशु शाखामा काम गर्ने पाँच जना कर्मचारीको तिन महिनादेखी तलब भत्ता रोकिएको छ । जिल्लास्थित कार्यालय खारेज भएपछि बागलुङ नगरपालिकामा खटिएका कर्मचारीहरुले तलब भत्ता नपाएका हुन् । नगरपालिकाभित्र दरबन्दी नभएको र मन्त्रालयले तलब भत्ता नपठाएको भन्दै उनीहरुलाई तलब उपलव्ध गराईएको छैन् । कार्यालय खारेजीमा परेपछि जिल्ला पशुसेवा कार्यालय र जिल्ल कृषि विकास कार्यालयले पत्र काटेर बागलुङ नगरपालिकामा खटाएपनि नगरपालिकाले तलब नदिएको कृषि प्राबिधिक सहायक प्रेम प्रसाद आचार्यले बताए । गत चैत्र महिनादेखी बागलुङ नगरपालिकामा काम गर्दै आएका उनीहरुको असार मसान्त सम्मको तलब भत्ता जिल्लास्थित कार्यालयले उपलव्ध गराएको थियो । साउन महिनादेखीको तलब भत्ता रोकिएको आचार्यले बताए ।

कृषि सेवा अन्र्तगत बलेवा सम्पर्क कार्यालयमा कार्यरत प्राबिधिक सहायक प्रेम प्रसाद आचार्य, कार्यालय सहयोगी उजिर सिंह थापा र बागलुङ नगरपालिकाको कार्यालयमा कार्यरत जिवन सुवेदी लगायत पशुसेवाका थप दुई जना कर्मचारीले तलब नपाएको नायव प्राबिधिक सहायक जिवन सुवेदीले बताईन् । ‘नगरपालिकामा तलब भत्ताको बिषयमा कुरा गर्दा मन्त्रालयको पत्र चाहिन्छ भन्नु हुन्छ, मन्त्रालयमा सम्पर्क गर्दा काम गरेको नगरपालिकाबाट लिनु भन्ने जवाफ आउने गरेको छ’ सुवेदीले भनिन्– ‘मन्त्रालयले गत असोज २२ र २५ गते गरेको निर्णय अनुसार नगरपालिकाले तलब भत्ता उपलव्ध गराउन सक्ने अवस्था रहेको भएपनि उहाँहरुले वास्ता गर्नु भएन् ।’ ‘कार्यालयले काजमा भनेर नगरपालिकामा खटायो सोही अनुसार काम गरीयो’ उनले भनिन्– ‘तलब पाउने बेलामा यता न उताको बनाईदिए ।’ बागलुङ नगरपालिकाले भने दरबन्दीमा रहेका र करार सेवाका सबै कर्मचारीको तलब भत्ता भुक्तनी गरेको जनाएको छ । ‘बिना दरबन्दी काम गरिरहनुभएका केही साथिहरुको तलव मन्त्रालयले पठाएको छैन्’ प्रमुख प्रसासकीय अधिकृत भिम बहादुर कुँवरले भने ‘हामीसँग स्रोत नै नभएको बिषयमा कसरी भुक्तानी गर्ने ।’ सोधभर्ना गर्नेगरी उनीहरुलाई तलब भत्ता खुवाउन सकिने भएपनि मन्त्रालयले कुनै जानकारी नगराएका कारण तलब भुक्तानी दिन नसकीएको कुँवरले बताए । जिल्लास्थित कार्यालय खारेजीमा परेपछि नगरपालिका तथा गाउँपालिकामा गएका कर्मचारीमध्ये अन्य गाउँपालिका तथा नगरपालिकाले तलब भुक्तानी गरेको भएपनि बागलुङ नगरपालिकाले बेवास्ता गरेको कर्मचारीहरुको गुनासो छ ।