जनप्रतिनिधीको चासो भएन खेल विकासमा

फुटबल,क्रिकेट, जस्ता सवै खेलहरु एकै मैदानमा

बागलुङ,१२ कार्तिक — सदरमुकामको बाँङगेचउरमा एउटा मात्र खेल मैदानन छ । त्यसमा हरेक दिन बिहान धेरै टिमले फुटबल खेल्ने र प्रशिक्षण गर्छन् । फुटबल मात्र हैन क्रिकेटको चाहना राख्नेलाई त मैदानै छैन । मार्सल आर्टका खेलाडी र सिक्न चाहनेका लागि त झनै समस्या छ । जिल्लामा अहिले सम्म खेलका लागि कुनै व्यवस्थित मैदान, कवर्डहल वा प्रशिक्षण स्थल नभएपछि खेलाडीहरु पलायनको अबस्थामा पुगेका छन् । राम्रो अभ्यास गर्न सकेमा धेरै प्रतियोगितामा भाग लिन सकिने चाहना भएर पनि नसकेको युवा खेलाडीको तर्क छ । धेरैले खेलमा सफलता पाउने आशा भएपनि अभ्यास गर्ने ठाउँ नपाएको बताए । मैदानको अभाव र खेल संस्कृति नभएकोमा खेलाडी निराश छन् । खेल अभावमा राष्ट्रिय तहमा पुगेका खेलाडीको नाम लिएर मात्र रमाउनु परेको भीमापोखराका अर्जुन कार्की गुनासो गर्छन् । ‘करण केसी, बिमल घर्ती जस्ता खेलाडी हाम्रा हुन् भन्छौं, तर जिल्लामा हामीले त्यस्तै बन्नका लागि मैदान, प्रशिक्षक र वातावरण पाएका छैनौं’ उनले भने, ‘निरन्तर खेल अभ्यास भैरहने हो भने राष्ट्रलाई चिनाउने खेलाडी यहाँ पनि उत्पादन हुन्थे ।’ फुर्सदको समय राष्ट्रिय र अन्तराष्ट्रिय खेल टिभीमा हेरेर समय बिताएको उनले बताए । बजेट नआउने, पूर्वाधार अभाव र सरकारी संयन्त्रको बेवास्ताले खेल क्षेत्र ओझेल परेको जिल्ला खेलकुद समितिका अध्यक्ष धनबहादुर परियार बताउँछन् । ‘एउटा मैदान सम्याउने, व्यवस्थित गर्ने र केही खेल संचालन गर्ने अभियान गर्न खोज्दा बर्षमा ५ लाख बजेट पनि आउँदैन’ परियारले भने, ‘भएकै मैदान संरक्षण गर्न पनि आर्थिक अभाव भयो ।’ केही बर्षअघि समितिमार्फत गोल प्रोजेक्ट भित्राउने तयारी समेत थियो, बजेट अभावले योजनामै सिमित भएको उनले टिप्पणी गरे । स्थानीय तहहरुपनि खेलप्रति उदासिन देखिएका छन् । उनीहरुले बजेट बिनियोजनमा खासै चासो नराखेको अधिकांसको बुझाई छ । ‘बजेट जति सडकमा लगानी गर्न खोजिन्छ, खेलको बिकासमा लगानी छैन’ कराँतेका प्रशिक्षक धनबहादुर महर्जन भन्छन्, ‘आफ्नै लगानीबाट युवाहरुले गाउँगाउँमा संचालन गर्ने खेलमा पुगेर प्रशिक्षण र छनौट गराएका छौं ।’ स्थानीय तहहरुले एकएकवटा कवर्डहल बनाउने, नियमित खेलकुद क्रियाकलाप गर्न लगानी गर्न सकेमा युवालाई दुव्र्यसनबाट बचाउन सकिने महर्जनको मत छ । हाल सदरमुकामस्थित रुद्रेपिपल युवा क्लबको एउटा व्याडमिन्टन कवर्ड हल छ । अन्य खेलका लागि उपयुक्त मैदान र हल छैन । बाँगेचउर मैदानलाई बहुउद्धेश्यीय रंगाशाला बनाउने राजनीतिक दलको चुनावी एजेण्डा पनि थियो । अहिलेसम्म त्यस बारेमा नीति र कार्यक्रम आएको छैन । गलकोट, जैमिनी र ढोरपाटन नगरपालिकामा पनि फुटबल, भलिबल र अन्य खेलका मैदानकै अभावले खेलमा चासो राख्नेहरु अन्य पेशामा पलायन भएका छन् । ‘राष्ट्रिय तहमा पुगेका खेलाडीलाई पनि राज्यको संरक्षण छैन’ सुटिङकी भगवती केसीले भनिन्, ‘युवा अबस्थामा खेलेकाहरु पनि अहिले अरु पेशा खोजेर थन्कीनु पर्छ ।’ केसीले ओलम्पिक खेलमा समेत भाग लिएकी थिइन् । हाल उनी शिक्षण पेशामा छिन् । बागलुङ नगरपालिकाले खेलको विकास गर्ने भन्दै अघिल्लो बर्षदेखि मेयरकप फुटबल प्रतियोगिता थालेको छ । चालु बर्षका लागि पनि बजेट राखेको नगरप्रमुख जनकराज पौडेलले बताए । खेलाडीहरु भने एक तहले एक प्रकारको खेलको विकास गरिदिए पनि धेरै प्रतिभा संरक्षण गर्न सकिने बताउँछन् । ‘एउटा नगरपालिकाले एउटा खेल संरक्षण गर्ने अभियान चाल्दा यहाँ दशवटा खेलको बिकास हुन्छ’ परियारले भने, ‘हामीले कुरा त गरेका छौं, बजेट बिनियोजन गर्दा सडकमै चासो राख्नुहुन्छ ।’