यस्तो छ प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य रिपोर्ट

मौसमी फ्लु भनेर चिनिने एच वन एन वन (स्वाइनफ्लु) भने नेगेटिभ छ ।

काठमाडौं, १३ कात्तिक – छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी ओली स्वास्थ्य अवस्था सुधारोन्मुख छ । चिकित्सकहरुका अनुसार उहालाई स्वासनलीको संक्रमण (रेस्पिरेटोरी ट्य्राक्ट इन्फेक्सन) भएको छ । दसैँको टीकाको दिनदेखि अस्वस्थ हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार नदेखिएपछि सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । सुरुमा सामान्य रुघाखोकी लागेका उहाँलाई छाती दुखाइ र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको थियो । एक दशकअघि मिर्गौला प्रत्यारोपण गरेकाले उहालाई चाँडै संक्रमण हुने समस्या छ ।
सेन्टरका निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले श्वासनलीमा भएको संक्रमणलाई मिर्गौलासम्म पुग्न नदिन चिकित्सकहरूले प्रयास गरिरहेको बताउनु भयो । सिसियूमा उपचाररत प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमी, मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह शाह र डा प्रकाश काफ्ले, छातीरोग विशेषज्ञ डा सन्तकुमार दास र एनेस्थेसिया डा सुवास आचार्य खटिनुभएको छ । चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन ।
प्रधानमन्त्री ओलीले आमसर्वसाधारणलाई दसैँको टीका लगाइ दिनुभयो । कार्यकर्ताको भावना बुझेर प्रधानमन्त्रीले टीका लगाइदिने समय निकाल्नुभयो । उहाँबाट टीका थाप्न पार्टी कार्यकर्ता, सर्वासाधारण र शुभचिन्तकको बालुवाटारमा टीका थाप्न भिड लाग्यो । भिडभाडमा लामो समय रहँदा नै संक्रमण भएको प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंहले बताउनु भयो । मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति भिडभाडमा ५ मिटरको दूरीमा बस्दासमेत श्वासप्रश्वासको माध्यमबाट संक्रमण फैलन्छ ।

दसैँको भिडभाडकै कारण मौसमी फ्लु (रुघाखोकी)को संक्रमण भएको प्रधानमन्त्रीलाई निजी चिकित्सक डा दिलीप शर्माले घरमै उपचार गराउँदै आउनु भएको थियो । गत शुक्रबार शिक्षण अस्पतालमा छातीको एक्सरे पनि गरिएको थियो । तर, कुनै समस्या नदेखिएपछि आत्तिनु नपर्ने सल्लाह चिकित्सकले दिएका थिए । तर, रगतमा सुगरको मात्रा पनि बढ्यो । घरमै नियन्त्रणको प्रयास सफल भएन । आइतबार निरन्तर खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल ल्याइएको निजी चिकित्कसको भनाई छ । ‘घरमै सुगरलगायत समस्या कन्ट्रोल गर्न खोजेका थियौँ, तर नसकेपछि अस्पताल ल्याएका हौँ,’ डा सिंहले भन्नुभयो ।
चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधाररत रहेपनि भिडभाडले थप जोखिम बढाउने भन्दै भेटघाटलाई कम गराएका छन् । सकेसम्म कमलाई भेटघाट गर्न दिने भन्दै अस्पताल पुगेका शीर्ष नेतालाई समेत टाढैबाट देखाउने गरिएको छ ।
यस्तो छ स्वास्थ्य रिपोर्ट
प्रधानमन्त्रीको शरीर दुई दिनदेखि सुन्निएको छ । गाला, अनुहार र छाती रातो भएको छ । रगतमा चिनीको मात्रा असन्तुलित छ । तर, मौसमी फ्लु भनेर चिनिने एच वन एन वन (स्वाइनफ्लु) भने नेगेटिभ छ । ज्वरो भने आएको छैन । चिकित्सकका अनुसार स्वासनलीमा संक्रमण देखिएपनि फोक्सो, मुटु र मिर्गौलासम्म पुगेको छैन । प्रधानमन्त्रीको स्वास्थ्यको नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको हो ।