महोत्सव र विकास

यो साता बागलुङको गलकोटमा प्रथम गलकोट महोत्सव शुरु भएको छ । यस अघि जिल्ला तहमा मात्र हुने गरेका मेला महोत्सवले अब स्थानीय तहमा पुग्न थालेका छन् । नगर स्तर र गाउँपालिका स्तरमा गठन भएका उद्योग बाणिज्य संघ, होटल संघ, विषयगत व्यवसायिक संघ समेतले गर्ने मेला महोत्सवले ग्रामीण तह सम्म व्यवसायिक माहोल सिर्जना हुने देखिएको छ । गलकोट जस्तै बडिगाड, बुर्तिवाङ र जैमिनी पनि महोत्सवको विभिन्न स्वरुपमा कार्यक्रम गर्ने तयारीमा छन् । यो तयारीले स्थानीय तहको अधिकार अब कुनै न कुनै रुपमा प्रत्यायोजित हुन थालेको देखाएको छ ।
गलकोट पुरानो सदरमुकाम भएपनि संगठित रुपमा महोत्सव भएको थिएन । छोटो समयका मेलाहरु संचालन भएपनि सबै व्यवसायी, स्थानीय बासिन्दा र जनप्रतिनिधिहरु मिलेर गरेको यो पहिलो महोत्सव हो । यसले जिल्ला तहका व्यपारिक, औद्योगिक चिनारीको साथै गलकोट क्षेत्रका लघु, घरेलु उत्पादनको प्रचार गर्ने अबसरको रुपमा चिनिएको छ । गलकोट क्षेत्र आँफैमा रमणीय र समृद्ध छ । तर यहाँ पाईने हरेक उत्पादन र बस्तुलाई देशभर चिनाउने काममा महोत्सव फलदायी बन्ने विश्वास सबैको छ । गलकोटकै रुपमा ताराखोलालाई पनि चिनिन्छ । ताराखोलामा अहिले पनि धेरै घरेलु उत्पादनहरु हुने गरेका छन् । ती बस्तुको सहज बजार पनि गलकोट बन्ने गरेको छ । महोत्सवले त्यसलाई मूर्त रुप दिने अवसर बन्नेछ । साथै गलकोट माछा पाईने सबैभन्दा महत्वपूर्ण ठाउँ हो । दरमखोलाको महत्व चिनाउने पर्वको रुपमा पनि धेरै व्यवसायीले महोत्सवलाई लिएका छन् । दरमखोला जलविद्युतको खानी पनि हो । यहाँ संचालनमा रहेका धेरै आयोजना पुरा गर्न र लगानी भित्राउन तथा यहाँका सशश्रधारा, गाईघाट लगायतका झरनामा पर्यटक लैजाने, घुम्टेको प्रवद्र्धन गर्ने कामपनि यो महोत्सवको अर्को स्वार्थ हो ।

यसरी संचालन हुने मेला महोत्सवहरु उद्योग बाणिज्य संघले केही पैसा कमाउने र त्यसबाट प्रशासक, प्रहरीका उच्च अधिकारीलाई पालनपोषण गर्ने खर्चको रुप बन्न भने हुँदैन । जिल्ला तहमा भएका धेरै महोत्सवहरु केही कमाएर सुरक्षा निकायलाई खुवाउने, त्यसबाट अबैध व्यवसाय संचालनमा मान्यता लिन खोज्ने र केही कमीकमजोरी ढाकछोप गर्ने अवस्थाको रुपमा लिने गरेको घटना सार्वजनिक हुने गरेका थिए । त्यस्ता अवस्था आयो भने भने महोत्सवको अर्थ रहदैन । बरु यस्ता महोत्सव प्रति वितृष्ण र घृणा उत्पन्न हुने खतरा बढ्छ । बरु पर्यटक बढाउने, गीत संगीतको हब बनाउने, कलाकारहरुको गन्तव्य बनाउने र बिकासको लहर ल्याउने माहोलको रुपमा बिकास गर्नुपर्छ । यस्ता महोत्सवहरुले केही जिल्लामा महत्वपूर्ण बिकास निर्माण गरेका उदाहरण छन् । राज्यले गर्न नसकेका काम व्यवसायीले लगानी गरेर सहजै निर्माण गरेका छन् । कात्तिक देखि मंसिर, पुस, माघ हुँदै चैतेदशै सम्म मेला महोत्सवले धेरैनै प्रचार पाउँछन् । गाउँगाउँमा पनि साना मेलाहरु संचालन भैरहने गर्छन् । ती सबै मेलाहरु समग्र आर्थिक समृद्धिको बाटोमा हिड्न जरुरी छ । हाम्रा व्यवसायीहरुले पनि देशको बिकास, जिल्लाको पहिचान र पर्यटन प्रवद्र्धनका लागि मात्र महोत्वसको लगानी गरेर सकारात्मक सन्देश दिन सक्नुपर्छ । त्यस्ता महोत्सवको खर्च समयमै सार्वजनिक गरेर पारदर्शीताको नमूना पनि देखाउन सक्नुपर्छ ।