बागलुङमा मात्र हरेक वर्ष ४० हजार मेट्रिकटन आलु उत्पादन

बजारमा प्रतिकेजी ६० देखी ७० रुपैयाँ मा विक्री

बागलुङ, १३ कार्तिक — ताराखोला गाउँपालिका–२ का अमृत घर्तीको बारीमा फलेको आलु घरमा खान पुगेर बागलुङ बजारमा बिक्री हुन्छ । घर्तीसहित छिमेकीले जिप र ट्रयाक्टरमा आलु बजार पठाउँछन् । बागलुङ बजारका ठूला र होलसेल व्यापारीले घर्ती जस्तै ताराखोलाका दुई सय बढी व्यवसायिक किसानको आलु खरिद गर्छन् । खरिद गरेको आलु गोदाममा धेरै दिन टिक्दैन । ‘ताराखोलाको आलु आयो भनेपछि किन्नेको भीड लाग्छ’ थोक व्यापारी गोपाल कंडेलले भने, ‘खानमा मिठो भएकोले आलु आएको देखेपछि बाटो छेक्नै आउनेहरु धेरै हुन्छन् ।’ कतिपय उपभोक्ताहरु ताराखोला पुगेरै आलु खरिद गर्न पनि पछि पर्दैनन् ।’ बागलुङको ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र ढोरपाटन क्षेत्र आलुका लागि बिशेष मानिन्छन् । हिउँदे आलु हरेक किसानको बारीमा फल्छ । हरेक बर्ष बागलुङमा ४० हजार मेट्रिकटन आलु उत्पादन हुने गर्छ । त्यो मध्ये हिउँदमा २३ हजार ९ सय मेट्रिकटन र बर्षातमा ११ हजार ६ सय ९४ मेट्रिकटन गरी ३५ हजार मेट्रिकटन आलु व्यवसायिक बजारमा आउने गरेको कृषि तथ्यांक छ । त्यसबाट किसानले करोडौं आम्दानी भित्राउन पाएका छन् । किसानले आफ्नै घरपरिवारमा खाने आलुको तथ्यांक छैन । पछिल्लो ५ बर्षमा झण्डै ३ हजारदेखि ४ हजार मेट्रिकटन आलु उत्पादन बढेको बाली संरक्षण अधिकृत सुजित पौडेलले बताए ।

‘आलु लगाएर फाइदा कमाउन सकिने र बारीबाटै बेच्न पाउने भएकोले धेरै आकर्षित छन्’ पौडेलले भने, ‘उत्पादन हुने क्षेत्रमा प्राविधिक, मल र बीउ सहज उपलब्ध गर्न सकेमा यो उत्पादन अझै २५ देखि ३० प्रतिशत बढाउन सकिन्छ ।’ हाल जिल्लामा उत्पादीत आलुले बर्षको ८ महिना खान पुग्ने तथ्यांक छ । बाँकी चार महिनाका लागि भने थोक बिक्रेताहरुले तराई र भारतबाट आलु झिकाउँछन् । आलुकै व्यवसायबाट किसानले राम्रो कमाई पनि गरेका छन् । ‘पोहोर साल ५ लाख रुपैयाँको आलु बेचेको थिएँ’ ढोरपाटनका चकबहादुर अदैले भने, ‘बुटवलका व्यापारीले बारीमै आएर लैजान्छन् ।’ संकलन केन्द्र वा कोल्डस्टोर बनाउन सकियो भने हामीले यही आलुबाट दोब्बर आम्दानी लिन सकिन्थ्यो ।’ जिल्लाभित्रै सबै आलु खपत गर्दा आत्मनिर्भर बन्ने अबस्था आइसकेको पौडेलको अनुमान छ । तत्कालिन जिल्ला कृषि बिकास कार्यालयले ढोरपाटन र ताराखोलामा एक÷एक स्टोर राख्ने योजना बनाएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि ती ठाउँसहित काठेखोला गाउँपालिकाको बिहुँमा पनि थप स्टोर बनाउने योजना अगाडि सारेको छ । यो योजना पुरा भएमा लाखौं रुपैयाँको आलु र अन्य उत्पादन लामो समयसम्म भण्डारन गर्न सकिने काठेखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष युक्तप्रसाद कंडेलले बताए । त्यसका लागि चालु बर्षदेखिनै निर्माणको काम थाल्न गण्डकी प्रदेशले दुई करोड बजेट समेत बिनियोजन गरेको छ । ताराखोला र काठेखोला गाउँपालिकाले आलु किसानलाई प्रोत्साहनका कार्यक्रम र बजेट बनाएको जनप्रतिनिधिहरुले बताए । ‘आलुबाटै चिनिएकोले ताराखोलामा आलु प्रशोधन केन्द्र समेत बनाउने भनेका छौं’ गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने, ‘प्रदेशको साझेदारीमा उद्योग संचालन गर्ने गरी काम शुरु भैसकेको छ ।’ ताराखोलामा बाँझो भएका सबै जमिनमा आलु लगाउन सक्दा जिल्लालाई बाह्रै महिना खान पुगेर निर्यात गर्न सकिने समेत उनले बताए । भौगोलिक उचाई र हावापानीले साथ दिएकोले ताराखोलाको आलु खानमा पनि मिठो छ ।

चर्चित गायक बसन्त थापाले ‘आलु मिठो ताराखोलाको’ भन्ने लोक भाखाको गीत समेत गाएका छन् । ‘हाम्रो गाउँमा ५० देखि २० सय मुरी आलु घरघरमा फल्छ’ ताराखोला–५ की हिरा कंडेलले भनिन्, ‘पहिला खान मात्र लगाउनेले पनि राम्रो मुल्य पाएपछि बढाउँदै लगेका छन् ।’ ताराखोलाको आलु बागलुङ बजारमा ६० देखि ७० रुपैयाँ केजीमा बिक्री हुन्छ । थोक बिक्रेताले किसानको बारीबाट प्रतिकेजी ४० रुपैयाँ सम्ममा ल्याउने गरेका छन् । गाउँपालिकाहरुबाटै आलु उत्पादनका लागि प्रोत्साहन गर्न कृषि औजारमा ५० प्रतिशतसम्म अनुदान, बजारीकरणमा गैरसरकारी संस्था परिचालन, युवा रोजगारीका लागि बीउ पूँजी दिने समेत काम थालिएको काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले बताए । ‘हरेक वडा प्रतिवर्ष ५ जनाका दरले युवालाई कृषि उद्यमको तालिम दिएर व्यवसायमा लगाउन थालेका छौं’ थापाले भने ‘एक बर्षमा एउटा वडामा ५ जना कृषि उद्यमी उत्पादन गर्दा ५ बर्षमा २० जना तयार हुन्छन् ।’ ५ बर्षमा १ सय ६० नयाँ व्यवसायिक युवा किसान उत्पादन गर्ने उनले योजना सुनाए ।