गंगा नदीमा पानीजहाज, नेपाललार्इ खाडीसँग जोडिन सहज

भारतले कोशी र गण्डकमा क्रमश चार–चार वटा टर्मिनल बनाउन काम गरिरहेको छ।

काठमाडौं,  १३ कार्तिक – नेपालले हिन्द महासागरसम्म पुग्न जलमार्गको रुपमा प्रयोग गर्ने तयारी गरेको भारतको गंगा नदीमा मंगलबारदेखि कार्गो पानीजहाज सञ्चालनमा आएको छ। भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणको पानीजहाज पेप्सी इन्डियाका १६ कन्टेनर सामाग्री बोकेर कोलकोताबाट उत्तर प्रदेशको वाराणसीका लागि छुटेको हो। एक कन्टेनरमा एक ट्रक सामाग्री हुन्छ। यसमा पेय पदार्थ र खाद्यन्न रहेका छन्। भारतको सिपिङ मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भारत स्वतन्त्र भएपछि पहिलो पटक नदीमा पानीजहाजको माध्यबाट सामान ओरासपोरास शुरु गरेको जनाएको छ।
एमभी आरएन टेगोर नामको सो पानीजहाजले पश्चिम बंगालको कोलकोताबाट उत्तर प्रदेश वारणसीसम्म पुग्न ९ वा १० दिन लगाउनेछ। सो पानीजहाज फर्किंदा भने इलाहावाद नजिकै फुलपुरबाट इन्डियन फार्मर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (आइएफएफसिओ) को मल बोकेर फर्किनेछ। भारत सरकारको जलमार्ग विकास परियोजना अन्तगर्त एक नम्बरका राष्ट्रिय जलमार्गमा गंगा नदी पर्छ। विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा भारतले हल्दियादेखि वारणसीसम्मका १ हजार ३९० किलोमिटरमा जलमार्गका निर्माणका लागि ५३ अर्ब ६९ करोड भारतीय रुपैया खर्च गरिरहको छ।
पानीजहाजबाट कार्गो ओसारपोसार गर्दा लागत कम लाग्ने, सहज र क्षति कम हुने भारतीय सिपिङ मन्त्रालयको दाबी छ। सो मन्त्रालयले प्राविधिक र वातावरणीय दुवै रुपमा गंगा जलमार्ग उपयुक्त रहेको जनाएको छ। नेपालले पनि भारतसँग जलमार्ग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनामा गरेको भारत भ्रमणको क्रममा जलमार्ग प्रयोग सम्बन्धी समझदारीपत्रका हस्ताक्षर गरेका थिए। नेपालले कोशी र नारायणी नदीको प्रयोग गर्ने गरी काम अघि बढाएको छ। दुवै नदीहरु गंगामा गएर मिसिन्छन्। गत महिना मात्रै नेपाली अधिकारीहरुले वाराणसीदेखि कोलकोताको भ्रमण गरेर जलमार्गको अवस्थामा बारेमा जानकारी लिएका थिए।
नेपालकाे प्राथमिकतामा नारायणी
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १६ गते हनुमान नगर (सप्तरी) बाट छुट्ने पानीजहाजमा चढ्न निम्तो दिएका छन्। तर सरकारले पछिल्लो दिनमा कोशीभन्दा नारायणीमा पानीजहाज सञ्चालनका लागि उपयुक्त रहेको निष्कर्ष निकाल्दै त्यसलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको छ। थिङ्क ट्याङ्क ब्रकिङ्स इन्स्टिच्युट इन्डियाका फेलो कोस्टान्टिनो जेभियरले गंगा नदीमा कार्गो पानीजहाज सञ्चालनलाई महत्वपूर्ण कदम भनेका छन्। ‘भारतको राम्रो आन्तरिक जलमार्ग कनेक्टिभिटीले भूपरिवेष्ठित नेपाललाई बंगाल खाडीसँग जोड्न सहज बनाउनेछ,’ जेभियरले भनेका छन्। भारतले नेपाल र बंगलादेशसँग जलमार्ग प्रयोगका विषयमा समझदारी गरेको छ।
कोशी गंगामा मिसिने कुर्सेला घाट नेपाल-भारत सीमाबाट २ सय ३६ टाढा छ। गण्डक-गंगा मिसिने हाजिपुर चाहिँ करिब तीन सय किमीको दुरीमा छ। भारतले कोशी र गण्डकमा क्रमश चार–चार वटा टर्मिनल बनाउन काम गरिरहेको छ। भारतले पछिल्लो समय १ सय ६ वटा ‘इनल्यान्ड वाटरवेज’ निर्माणको घोषणा गरेका छ। त्यसमध्ये गंगा नदीमा निर्माणाधिन वाटरवेज’ (जलमार्ग) एक हो।
भारतले ‘एनडब्लु ९नेसनल वाटरवेज० वान’ परियोजना अर्थात् हल्दिया(फरक्का(पटना(इलाहावाद वाटरवेज परियोजनाअन्तर्गत हुगली, गंगा र भागिरथी नदीमा जलमार्ग सञ्चालन गर्दैछ। यो परियोजनाको लम्बाई १ हजार ६ सय २० किमी छ। जानकारहरुका भनाईमा, पानीजहाज सञ्चालनका लागि पानीको गहिराई २५(६० मिटर हुन आवश्यक छ। यति गहिराईमा एक सय टन सामान बोक्ने क्षमता भएको पानीजहाज चलाउन सकिन्छ। र, त्यसलाई विकास गरेर ६ सय टनसम्म पुर्याउन सकिने स्थिति छ। नेपालखबर