कुश्माबजारका सडक फराकिलो बनाईदै

सडक फराकिलो बनाएर आठ मिटरको बनाईने

पर्वत, १४ कार्तिक — कुश्मा नगरपालिकाभित्रका सडक न्यूनतम आठ मिटर फराकिलो बनाउन थालिएको छ । कुश्मा नगरपालिकाले सडक फराकिलो बनाउन आसपासका घरटहरा भत्काउन शुरु गरेको छ । नगरभित्रका सबै सडक न्यूनतम मापदण्डका बनाउने गरी सडकमा परेका संरचना भत्काउने काम थालिएको हो । गत वर्ष प्राविधिक लगतसहित सडक मापदण्ड कायम गरिएको थियो । त्यसअनुसार अहिले उपल्लो बजारको चाक्लेको डिलदेखि बडागाउँसम्मको सडक चौडा पार्ने काम भइरहेको कुश्मा नगरपालिका–५ का अध्यक्ष चित्रकला शर्माले जानकारी दिइन । नगरपालिकाको न्यूनतम मापदण्डअनुसार रिङरोड बनाउने अभियान शुरु भएको हो । नगरप्रमुख रामचन्द्र जोशीका अनुसार अघिल्लो वर्षबाटै नगरको सडक न्यूनतम मापदण्डको बनाउने योजना रहेकोमा अहिलेदेखि काम शुरु भएको हो । पाँच दिनयता दुई डोजर परिचालन गरेर नगरपालिकाले चाक्लेको डिल, बौद्ध गुम्बा, उद्योग वाणिज्य सङ्घ, कल्लेरी जाने बाटो, मेलमिलापचोक र लभ्लीडाँडा लगायतमा सडक मापदण्डभित्र परेका घरटहरा भत्काउन थालिएको हो । संरचना भत्काउन थालेपछि आसपासका बासिन्दाहरू आफैँ पनि कस्सिएका छन् ।

डोजरले लथालिङ्ग पारेर भत्काउनुभन्दा आफैँले भत्काइदिएको कुश्मा–५ का टङ्कनाथ रेग्मीले बताए । नगरपालिकाले स्थायी संरचना र ऐतिहासिक महत्व जोडिएका मठमन्दिर भने तत्काल नभत्काइने जनाएको छ । त्यस्तै अतिविपन्न परिवारका संरचना पनि सकेसम्म जोगाइने वडाध्यक्ष शर्माले जानकारी दिए । “केही महत्वपूर्ण संरचना जोगाउनैपर्ने भए त्यसमा तत्काल क्षति नपुग्ने गरी सडक कालोपत्रे गर्ने बेलासम्म स्थायी व्यवस्थापन गरिने उनको भनाई छ । सडक कालोपत्रे गर्ने समयमा भने न्यूनतम आठ मिटरकै बनाइने उनले बताए । नगरपालिकाले धमाधम घरटहरा भत्काउन थालेपछि केही स्थानीयले विरोध जनाएका छन् । उनीहरूले बिनासूचना घरघरै डोजर चलाउँदा कतिपय संरचना जोगाउन नसकिएको बताए । नगरको विकास विरोधी नभई सूचना नपाएकामा आपत्ति भएको स्थानीय विष्णु नेवारले गुनासो गरेका हुन् । नगरपालिकाले भने केही दिनअघि ठाउँ–ठाउँमा सूचना टाँस गरेर मात्रै काम शुरु गरेको जनाएको छ । जनप्रतिनिधिले कुश्माको मुख्य बजार क्षेत्रमा चक्रपथ बनाउनैपर्ने भएकाले यो कदम चालिएको बताएका छन् । शहरी विकासबाट यहाँको सबै सडक कालोपत्रे गर्न टेण्डर परिसकेको नगरप्रमुख जोशीले बताए । अहिले सडक चौडा नगरिदिने होभने आएको बजेट पनि फिर्ता हुने भएकाले सडक विस्तार अभियान थालिएको जोशीले बताए । उनले नालीसहित आठ मिटरको सडक बनाइने बताए । सडक बिस्तार अभियानअन्तर्गत नगरपालिकाले दुई साताभित्र आठ मिटर मापदण्ड पुग्ने गरी पूर्वाधार फराकिलो पारिसक्ने जनाएको छ । त्यसलगत्तै नाली बनाउन थाल्ने योजना छ । आवश्यकता अनुसार नाली र कल्भर्ट लगायतका संरचना निर्माण भएपछि चालु वर्षभित्रै कालोपत्रेको काम शुरु हुने नगरपालिकाले जनाएको छ । कुश्मामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएका बेला सडक व्यवस्थित बनाउन सकेमा सबैको लागि सहज हुने नगरप्रमुख जोशीको भनाई छ ।