सम्बन्ध विच्छेदका मुद्दा बढे

बागलुङ, १४ कार्तिक — नयाँ मुलुकी देवानी र फौजदारी संहिता लागू भएपछि बागलुङमा सम्बन्ध बिच्छेदका मुद्दा बढेका छन् । जिल्ला अदालत बागलुङका स्रेस्तेदार विश्वप्रसाद रेग्मीका अनुसार भदौ र असोज महिनाको अबधिमा ३६ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । दुई महिनामा १९ जना पुरुष र १७ महिलाले मुद्दा दिएको पाइएको हो । भदौं १ गतेदेखि लागू भएपनि भदौ दोश्रो सातादेखि मात्र मुद्दा आउन थालेका थिए । तीमध्ये ११ जना महिलाले दिएको मुद्दामा मिलापत्र भएका छन्भने एकजना पुरुषले दिएको मुद्दामा मिलापत्र भएको हो । सम्बन्ध विच्छेदका लागि विषेशगरी लाउन खान नदिएको, अबैध सम्बन्ध राखेको र सम्पत्ति हिनामिना गरेको लगायतका आरोपमा अदालत आउने गरेका छन् । मुद्दा परेपनि एक बर्षसम्म छिनोफानो नहुने प्रावधानले फिर्ता लिने बढेका हुन् । एक बर्षसम्म तारेख धाउनुपर्ने भएपछि फिर्ता लिनुपरेको समेत उनीहरुले बताएका छन् ।

अदालतमा मुद्दा ल्याउने बिषयमा अधिवक्ताहरु पनि लामो समयसम्म अलमलमा परेका थिए । दशैमा १५ दिन बिदा भएकोले अदालतको कारवाही भदौ १ देखि २ महिना मात्र चलेको थियो । अघिल्लो बर्षहरुमा यतिधेरै मुद्दा दर्ता हुने गरेका थिएनन् । पुरुषहरु पिडित भएपनि मुद्दा लिएर नआउने गरेकोले मुद्दाको संख्या कम देखिने गरेको अदालतका कर्मचारीहरु बताउँछन् । बैदेशिक रोजगारी, बाल बिवाह लगायतले सम्बन्ध विच्छेद बढाउने गरेको अधिवक्ताहरुको भनाई छ ।