होटल व्यवसायमा लगानी बढ्न थाल्यो

राजमार्ग छेउमा होटल थपिदै

बागलुङ, १४ कार्तिक — जिल्लामा निर्माणाधिन मुख्य दुई राजमार्गको छेउमा होटल खोल्ने होड चलेको छ । राजमार्गको ट्रयाकमा सवारी साधन चल्न थालेकोले यात्रीहरुलाई लक्षित गरी धमाधम होटल खुल्न थालेका हुन् । कालीगण्डकी कोरिडोरको जैमिनी नगरपालिका–७ बेलबगरमा तमसम रानाले थ्री ब्रदर्श होटल संचालनमा ल्याएका छन् । आफ्नै बारीको तरकारी, लोकल कुखुरा, ढीडो र घिऊ खुवाउने गरी उनले दिवा होटल संचालनमा ल्याएको बताए । निर्माणाधिन कालीगण्डकी कोरिडोरको बेलबगर खण्डमा उनले खोलेको होटलमा अहिले पाहुनाको भीड लाग्न थालेको छ । सदरमुकाममा सटर र घर भाडामा लिएर व्यवसाय गर्दाको खर्च जोगाउन पाईने, अर्गानिक र स्थानीय स्वाद दिन पाईने भएपछि सदरमुकाममो व्यवसाय छाडेर राना गाउँ पसेका हुन् । ‘गाउँको तरकारी, कुखुरा र अण्डा समेत खपत गर्ने लक्षले होटल खोलेका हौं’ तमसम रानाले भने, ‘गाउँको स्वादका लागि पनि पर्यटक आउनुपर्छ भन्ने मान्यता राखेका छौं ।’ उनीहरुले खोलेपछि आसपासमा दर्जनबढी होटल खुसी सकेका छन् । कोरिडोरको ट्रयाक खुलेपछि बागलुङ, गुल्मी र पाल्पाको बाटो बुटवल जानेको संख्या बढेको छ । उक्त यात्रामा निस्केका धेरैले गाउँले खाना खान मन पराएपछि बेलबगर, बिनामारे र अर्जेवा खण्डका होटलको साख बढेको छ । कालीगण्डकी ए जलविद्युत आयोजनाको ड्याम रहेको मिर्मि घुम्ने पर्यटक पनि कोरिडोरको बाटो हिड्न थालेका छन् । बागलुङ, पर्वत, म्याग्दी र गुल्मीका मानिसले यो बाटो बढी प्रयोग गर्छन् । बागलुङ बजारबाट जिप लिएर एकदेखि तीन दिने प्याकेज बनाएर घुम्नेले पनि कोरिडोरका होटलको स्वाद लिने लक्ष बनाउन थालेका छन् । ‘दशैंको बिदामा कोरिडोरकै बाटो मिर्मि घुम्न जाँदा नयाँ होटलले लोकल स्वादको खाना खुवाए’ म्याग्दीका प्रकाश पौडेलले भने, ‘बुटवलसम्म कोरिडोरकै बाटोको घुमाई रमाइलो भयो ।’ सडक स्तरोन्नतीको काम बाँकी रहेपनि पाहुना स्वागत गर्ने शैली धेरैले आर्कषक बनाएको उनले बताए । कतिपयले सडक छेउमै कुखुरा पालन गरेका छन् ।

पाहुनाको चाहना अनुसार मासु खुवाउने योजना पनि बनाएका छन् । मध्यपहाडी लोकमार्गमा यो क्रम अझै बढेको छ । घोडाबाँधे, रिजालचोक, गलकोट र बडिगाडतर्फ सडक छेउमा होटल र रेष्टुरेष्ट खुल्ने क्रम अझै बढेको हो । कतिपयले माछाको विशेष पनि बनाएका छन् । ‘सबै खाना लोकल खुवाउने भनेर होटल संचालन गरेका छौं’ अर्का व्यवसायी महेन्द्र पुनले भने ‘ढीडो र लोकल कुखुरालाई विशेष प्राथमिकता दिएका छौं ।’ ढीडोको स्वाद लिने पाहुनाले फोनबाट पनि अर्डर गर्छन् । घोडाबाँधेबाट दर्जन हिमालका चुचुरा पनि देखिन्छन् । यहाँ रोकिएर खुलेको हिमाली दृश्य अवलोकन र खानाको स्वाद लिने चाहना राख्नेको संख्या बढेको छ । सदरमुकामका होटलले पनि पर्यटकलाई गाउँ पठाउने योजना बनाएका छन् । भकुण्डे, पञ्चकोट, जैमिनी, गलकोट लगायतका स्थानमा पठाउन उनीहरुले पनि लबिङ गर्छन् । कतिपयले बागलुङमा बसेर ढोरपाटन र मुक्तिनाथको प्याकेज पनि बनाएका छन् । ‘यसरी आएका पाहुनालाई केही दिन बस्ने वातावरण हामीले बनाउन खोजेका हौं’ होटल संघका अध्यक्ष निलेस राजभण्डारीले भने, ‘राजधानीका ट्राभल एजेन्सीले पनि प्याकेजमा पाहुना पठाउन थालेका छन् ।’ राजधानीका क्याण्डीट टुर एण्ड ट्राभल्स र घुम्न जाऔं डटकम बागलुङका लागि बढी प्याकेज पठाउने संस्था हुन् । संघको तथ्थांकमा कात्तिक लागेपछि जिल्ला भरका होटलमा दैनिक ८ हजार पाहुना बास बस्ने गरी आएका छन् । दिवा खाना खाएर घुम्नेको संख्या भने २० हजारसम्म पुग्ने उनले बताए । पर्यटकीय क्षेत्रको व्यवस्थापन चाहे जस्तो नभएको, जिल्लामा पर्यटन समिति वा बोर्ड गठन नभएकोले सबैको तथ्यांक राख्न नसकिएको राजभण्डारीले बताए । घुम्टे, ढोरपाटन, गाजादह, जैमिनी, पाण्डवखानी, बुर्तिवाङ लगायत स्थानमा बर्षेनी मेला समेत गरिन्छ । त्यस्ता मेलामा कति पर्यटक आए भन्ने तथ्यांक भने कसैले पनि राख्दैनन् । बोर्ड भएमा पर्यटकको सही तथ्यांक सार्वजनिक हुने उनको विश्वास छ ।