पदमार्गमा झोलुङ्गे पुल निर्माण

पर्वत, १५ कार्तिक — संसारको पदमार्गहरुमध्ये उत्कृष्ट १० मा परेको नेपालको अन्नपूर्ण पदमार्गमा झोलुङ्गे पुल निर्माण गरिएको छ । पदमार्गअन्तर्गत कास्कीकै सबैभन्दा अग्लो र लामो २८५ मिटर लामो र १३५ मिटर उचाइको झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुकको झिनुमा रहेको साम्रोङखोलामाथि निर्माण गरिएको छ । हङकङका व्यवसायी कादुरी परिवारको तीन करोड ३५ लाख रुपैयाँ आर्थिक तथा अन्य प्राविधिक सहयोग र स्थानीयको जनश्रमदानबाट निर्माण गरिएको पुलले अन्नपूर्ण आधारशिविरमा जाने पर्यटकका साथै अन्नपूर्ण गाउँपालिकाका चार वटा वडाका बासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको छ । खोलामा रहेको पुरानो पुलबाट यात्रा गर्दा जोखिम भएपछि नयाँ पुल निर्माण गरिएको अन्नपूर्ण गाउँपालिका वडा नं. ११ का अध्यक्ष तथा पुल निर्माण समितिका अध्यक्ष हिमबहादुर गुरुङले बताए ।

यो पुल निर्माण हुनुभन्दा पहिले झिनुबाट खोला पार गर्दा गहिरो गल्छी, निरन्तर ढुंगा झरिरहने पहिरो पार गर्नुपर्ने अवस्था थियो । वर्षा याममा गहिरो र अँध्यारो खोंच पार गर्दा यात्रुहरुले धेरै जोखिम मोल्दै आएका थिए । पुल निर्माण भएसँगै पदर्माको करिब एक घण्टाको बाटो छोटिएको छ । जसबाट घान्द्रुकका झिनु, छोम्रोङ, साम्रोङ, ताउलु गाउँबासी लगायत अन्नपूर्ण आधार शिविर जाने आउने सयौं पर्यटकहरु लाभान्वित हुने बताइएको छबmस् । यही मार्ग हुँदै गत वर्ष अन्नपूर्ण आधार शिविरमा ३५ हजार विदेशी पर्यटक पुगेका थिएभने त्यति नै संख्यामा नेपाली पर्यटक पनि पुगेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाको तथ्यांक छ ।