परंपरागत कृषि छाडेर कागज उत्पादन व्यवसायमा युवा आर्कषित

प्रतिगोटा ३० रुपाँयाले बाणिज्य संघले खरिद गर्न सम्झौता

बागलुङ, १५ कार्तिक — गाउँघरमै पाईने कच्चा पदार्थबाट उद्योग संचालन गर्न पाउने भएपछि ताराखोलाका युवा कागज उत्पादनमा लागेका छन् । ताराखोला गाउँपालिका–५ सिपका हर्कबहादुर घर्ती सहित तुलसी घर्ती, लिलाबहादुर रोका, केशरबहादुर घर्ती र खिमबहादुर घर्तीलेले सामुहिक रुपमा कागज उत्पादनको काम थालेका हुन् । उनीहरुले परंपरागत कृषि छाडेर व्यवसायिक काममा लागेको बताए । बिहानैदेखि जंगलबाट ल्याएको बरुवा कुट्ने, मसिनो भएपछि कागज बनाउने र दिनभर सुकाउने उनीहरुको दैनिकी भएको छ । तमसुक, मुद्दा लगायतका महत्वपूर्ण काममा प्रयोग हुने नेपाली कागज बिक्रीका लागि बजार खोज्दै हिड्नु पर्दैन । त्यसका लागि बागलुङ उद्योग बाणिज्य संघले होलसेलमा खरिद गरिदिने व्यवस्था मिलाएको छ । घर्तीसंगै यहाँका अरु ५ जना युवा पनि कागजकै काममा खटिएका छन् । एक गाउँ एक उत्पादन अन्र्तगत यहाँको ताराखोला गाउँपालिका नेपाली कागजको उत्पादनमा अब्बल देखिएपछि यो काम शुरु भएको हो । ‘हाते कागजको माग अत्याधिक छ, प्रशोधन गरेर बजारमा पठाउन पनि पाईने, जिल्लाकै पहिचान पनि बढ्ने भएकोले लगानी गरेका छौं’ बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले भने, ‘लगानी बढाएर किसानलाई पनि व्यवसायिक बनाउन खोज्दैछौं ।’ नियमित काम गर्दा किसानहरुले मनग्ये कमाई गर्न सकिने वातावरणका लागि लगानी थप्ने उनले बताए । बरुवा जातको बोटबिरुवा प्रसस्त पाईने भएकोले संघले ताराखोलालाई कागज उत्पादनका लागि छनौट गरेको हो । किसानले प्रतिधार्नी २ सय रुपैयाँमा बरुवा खरिद गर्छन् । त्यसबाट बनाईने कागज प्रतिगोटा ३० रुपैयाँमा संघले खरिद गर्ने सम्झौता भएको छ । किसानले स्थापना गरेको डुडेलेक हातेकाजग उद्योगलाई रोजगारमुखी बनाउन लगानी थप्न लागिएको भारीले बताए । हाल यहाँ झण्डै ४ लाख रुपैयाँको मेसिन र मोटर संघले सहयोग गरेको छ । एकपटकमा २ सयवटा कागज उत्पादन गर्ने साँचो बनाइएको छ ।

हरेक दिन दुई पटकसम्म गरी ४ सय कागजका थान उत्पादन गर्न सकिने व्यवस्था छ । ‘साँचो थप्ने, बरुवाको उत्पादन र आयात बढाउनेहो भने एकैपटक १० जना युवाले रोजगारी पाउन सक्छन्’ रोकाले भने, ‘हामीले बजार खोज्न जान नपरेमा आम्दानी पनि राम्रो हुन्छ ।’ सदरमुकाम सहित काठमाण्डौका विभिन्न संस्थाले माग गरेकोले कागजको खपत सहजै हुने अनुमान उनीहरुले गरेका छन् । सदरमुकाम आउजाउ टाढा भएकोले संघले ढुवानी खर्च व्यहोर्दा किसानलाई सहज हुने रोकाले बताए । यसअघि पनि यहाँ परंपरागत रुपमा कागज उत्पादन भैरहेको थियो । उक्त उत्पादनले स्थानीय बजारको आवस्यकता पुरा गर्न सकेको थिएन । संघले कागजकै जिल्ला बनाउने लक्षले लेखानी, ताराखोला र तमानमा पनि उत्पादन बढाउन लगानी गर्ने तथा किसानलाई प्रोत्साहन गर्ने योजना बनाइएको संघका उपाध्यक्ष नरेश कंडेलले बताए । ‘उत्पादनसँगै किसानको हातमा नगद पर्ने व्यवस्था गरियो भने उत्साह थपिन्छ’ कंडेलले भने, ‘त्यसका लागि बजार खोज्ने र कागजका अन्य सामाग्री बनाउने काममा थप लगानी गर्न जरुरी छ ।’ डायरी बनाएर आर्कषक रंग भर्न सकेमा नेपाली कागजका सामानमा दोब्बर फाइदा हुने उनले बताए । कागजको काम गर्न निरन्तर खट्ने युवाको आवस्यकता पर्छ । चिसो मौषम भएकोले बाह्रै महिना जंगल जाने, बरुवा काटेर ल्याउने काम सजिलो छैन । गर्मी मौषममा संकलन गरेर जाडो मौषममा घरभित्र काम गर्ने गरी तयारी गर्दा सफल भइने घर्तीले बताए । ‘घरेलु उद्योग संचालनमा सरकारले लगानी बढाउनुपर्ने, बजार खोजी र उचित मूल्य पाउने वातावरण बनाउनुपर्नेछ’ घर्तीले भने, ‘काम गर्न प्रोत्साहन दिने होभने युवाहरु पलायन हुने क्रम पनि रोकिन्छ ।’ साथै व्यवसायिक कृषि, तरकारी उत्पादन जस्ता काममा पनि जिल्लाका व्यवसायीले लगानी गरेर युवालाई काम गर्न प्रोत्साहित गर्नुपर्ने उनले बताए ।