बागलुङका चारवटा पर्यटकीय स्थल देशकै सय गन्तव्यमा

बागलुङ कालिका, भकुण्डे भैरवस्थान गाजाको दह र ढोरपाटन सुचिमा समावेश

बागलुङ, १५ कार्तिक — सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रबद्र्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । सरकारले छनौट गरेका गन्तव्यहरु मध्ये बागलुङका चार वटा पर्यटकीय क्षेत्र समावेश भएका छन् । जिल्ला सदरमुकाम नजिकै रहेको बागलुङ कालिका भगवती मन्दिर स्थापित गन्तव्य र भकुण्डे भैरवस्थान, जैमिनी नगरपालिकाको गाजाको दह र ढोरपाटन नगरपालिकामा रहेको नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन शिकार आरक्ष लगायत निसी क्षेत्र बिकास गर्नुपर्ने गन्तव्यमा समाबेश भएका छन् । बागलुङका स्थानिय तथा गण्डकी प्रदेश सरकारले सिफारीस गरेका गन्तव्यहरु मध्ये बागलुङबाट चारवटा मात्रै गन्तव्यहरु छनौटमा परेको प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले जानकारी दिए ।

नयाँ पर्यटकीय गन्तव्यका लागि देशभरीबाट ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यसमध्ये कुन गन्तब्यलाई सयवटा भित्र समेटेर प्रवर्द्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो । मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् । सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ । ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्राउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रबद्र्धन योजना बनाइएको छ । यी पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुआत गर्नेछ । नयाँ गन्तब्य प्रबद्र्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो । पुरातात्विक सम्पदा, ठूला तालतलैया वा पोखरी, सम्भावित भए पनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवासुविधाको अभावले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई नयाँ पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी छनोट गरिएको हो ।