जाडोमा हुने स्वास्थ्य समस्या र बच्ने उपाय

बिगतका बर्षहरूमा भन्दा यो बर्ष चिसोले कान सेकाउन केही चटारो गरेको जस्तो मलाई लाग्यो । कार्तिकको पहिलो हप्ता नै बिहान बेलुका निकै चिसो बढेको छ । चिसो बढेसँगै जाडो याममा देखिने समस्याले धेरैलाई सताउन थालेको छ । जाडो याममा बालबालिका, महिला र वृद्धवृद्धालाई बढी नै समस्या हुने गरेको छ । बालबालिकामा पनि भर्खर जन्मेका शिशुमा समस्या बढी देखिने सम्भावना रहन्छ । चिसो मौसम र वातावरणको प्रत्यक्ष सम्बन्ध रहने भएकाले जाडो सुरू भएलगतै अस्पतालमा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, दम, श्वासप्रश्वास, पिनास, निमोनियाका जस्ता समस्याक बिरामी बढ्न सक्ने छन् । यति मात्र होइन जाडो याममा चिसोको एलर्जी, घाँटीको संक्रमण, चिसोमा हुने झाडापखाला, छाला, ओठ फुट्ने, चिलाउने, सुन्निने, शरीरमा सेतो कत्ला निस्कने, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुने, ब्रोङ्काइटिस, दादुरा, ठेउला, लगायत मुटु कमजोर हुने जस्ता समस्या पनि देखिन्छन् । यो बेलामा शरीरका बाहिरी भाग हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने जस्ता समस्या पनि हुन्छ ।
चिसोले विशेष गरी मुटु, जोर्नी, श्वासप्रश्वास र दमका पुराना विरामी, कुपोषित बालबालिकालाई बढी आक्रमण गर्छ । साथै शितलहर हुँदा मुटु र मस्तिष्कमा असर पुग्ने र हृदयाघात हुने, कोलेस्ट्रोल बढाउने, पक्षघात गराउने र बालबालिकामा दादुरा, ठेउला पनि देखिने सम्भावना हुन्छ । तर केही साधारण कुरामा ध्यान दिन सकियो भने यस्ता धेरै रोगबाट सहजै बच्न सकिन्छ । चिसोको बेला आराम, व्यायाम र खानपानमा भने ध्यान दिनु आवश्यक छ ।

सरुवा रोगको जोखिम बढी
प्राकृतिकक बिपत्ति विस्थापित नागरिक सामुहिक रुपमा बसेकाले, दशैं तिहारको यात्राको क्रममा यातायातका साधन र इन्धन अभावमा निजी तथा सार्बजनिक सवारी साधनमा कोचाकोच हुने गरी हिँड्नु परेकाले सर्ने रोगहरुको झनै जोखिम बढ्न सक्ने सम्भवना छ । बसभित्र अट्न नसकी छतमा यात्रा गर्ने निमोनियाको जोखिममा छन् । क्षयरोगको संक्रमण, श्वासप्रश्वास र अन्य सम्पर्कबाट सर्ने रोग यस्तो बेला बढि नै सर्ने गर्छन् । समुहमा बस्दा र भिडभाडमा सामान्य सावधानी पनि अपनाउँन नसक्दा सर्ने खालका रोग एउटाबाट अर्कोमा छिट्टै सर्न सक्छ ।

रुघाखोकी प्रमुख समस्या
चिसो बढेसँगै सामान्य रुघाखोकीको समस्या समेत बढ्दै गएको छ । मौसम परिवर्तन हुँदा रुघाखोकीले समाउने र थलिनेहरू बढिरहेका छन् । अस्पताल र स्वास्थ्य केन्द्रमा पनि प्रभावितहरूको संख्या बढेको पाइन्छ । मौसम परिवर्तन हुँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ र रुघाखोकीको संक्रमण बढ्ने गर्छ । सामान्य रुघाखोकीमा अर्थात मौसमी रुघाखोकीमा नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिउँ आइरहने, खान मन नलाग्ने, थकाइ अनुभव हुने जस्ता लक्षण देखा पर्छ ।

रुघाखोकीले अरु रोग पनि निम्ताउँछ ?
रुघाखोकीले मधुमेह, उच्च रक्तचाप, क्षयरोग, दम, एचआईभी, रक्तअल्पता जस्ता रोग लागेका, बालक, बुढापाका, कुपोषित, रोग प्रतिरोधक क्षमता कम भएकालाई बढी सताउँछ । रुघाखोकीको उपचार बेलैमा नगरे पछि नाक बन्द हुने र पिनासको समस्या समेत हुन सक्छ ।

यस्तो बेला के गर्ने
रुघाखोकी लागेका बेला सकेसम्म आराम गर्नुपर्छ । धुवाँधुलो, कडा गन्ध र खार आउने पदार्थबाट पनि जोगिनु राम्रो हुन्छ । रुघाखोकीबाट बच्न भिडभाडमा जानु हुँदैन, सकेसम्म मनतातो पानीले नुहाउने गर्नुपर्छ । नुहाएपछि घरमा पाइने तोरीको तेल घसेर केही समय घाममा बस्नु उत्तम हुन्छ । साथै खानपानमा पनि ध्यान दिनुपर्छ । रुघाखोकीबाट जटिल समस्या ननिम्ताउन हप्ता दिनभित्र डाक्टरको सल्लाह लिन सकिन्छ । रुघाखोकीबाट जोेगिन सम्भव भएसम्म तुलसीको पात, अदुवा, बेसार, मरिचको काढापानी बनाएर चिया जस्तै खाने गरे स्वास्थ्यलाई फाइदा हुन्छ । मह र कागती तातो पानीमा मिसाएर पिउनाले समेत रुघाखोकीमा फाइदा हुन्छ । सबैभन्दा उत्तम चिनिया प्रबिधी बात निर्मित अर्गा्निक ग्रिम टी लगातार पिउने गर्द राम्रो हुन्छ । बिहान बेलुका अदुवाको रस र मह मिसाएर खाने गर्नाले पनि रुघाखोकीबाट छुटकारा पाउन सकिन्छ । लसुनको पोटीलाई तातो पानीमा उमालेर पिउनाले पनि आराम हुन्छ । घाँटीमा खसखस भए अथवा नाक बन्द भए एक गिलास तातो पानीमा एक चिम्टी नुन हालेर कुल्ला गर्न सकिन्छ ।

श्वासप्रश्वासको समस्याः
जाडो मौसममा श्वासप्रश्वाससँग सम्बन्धित स्वास्थ्य समस्या बढी देखिने भएकाले चिसोबाट बच्न आग्रह गर्दछु । जाडोमा छातीमा कडा खाल्को समस्या देखिन्छ भने मुटु र रक्तनलीहरुमा पनि समस्या देखिन्छ । चिसोका बेला हावामा प्रदुषणको मात्रा बढी हुने भएकाले नाक र मुखको माध्यमबाट फोक्सोसम्म नै कणहरु पुग्नसक्छ । जाडोमा धुलोका कणहरु प्रशस्त मात्रामा रहने हुँदा हिँडडुल गर्दा विशेष सतकर्ता अपनाउनुपर्छ ।

के गर्नु हुँदैन !
जाडोको मौसममा सकेसम्म विहान सबेरै मर्निङवाक् नगर्न र गर्ने परे नाक र मुख राम्रोसँग छोप्ने, छातीमा चिसो नपस्ने खालका कपडा र मास्क लगाउने। सावधान ! मुख छोपेर कडा व्यायाम गर्नु हुँदैन । यो बेला तराईमा तुषारो, बाक्लो हुस्सु, शितलहर, पहाड र हिमालमा हिउँसँगै हुने चिसोले जनजिवन कष्टकर नै हुनसक्छ । तर चिसो भयो भन्दैमा पुरै झ्याल ढोका बन्द गरी बस्ने, हावा नै नछिर्ने ठाउँमा नुहाउने, बन्द कोठामा भुसको आगो बाल्ने, हिटर, कोइला बालेर ताप्ने गर्नु हुँदैन । किनभने अक्सिजनको मात्रा कम हुँने ठाउँमा आगोले कार्बन मोनोअक्साइड जस्ता विषालु ग्यास उत्सर्जन गरी शरिरलाई आवश्यक पर्ने अक्सिजन कम भइ बिस्तारै अचेत हुने र ज्यानै जान सक्ने सम्भावना हुन सक्छ ।

आफ्नो सुरक्षा आफैले गरौ
चिसोमा रुघाखोकी, श्वासप्रश्वास मात्र होइन रक्तनलीमा रगत जम्ने समस्या पनि हुने भएकाले बेला बेलामा स्वास्थ्य जाँच गरिरहनुपर्छ । दम, निमोनिया, ब्रोङ्काइटिस र मुटुसम्बन्धी रोगका विरामीले पनि उपचार गराउनुपर्दछ । भिडभाडमा नजाने, शरीरलाई न्यानो राख्न तातो र बाक्ला लत्ताकपडा लगाउने, प्लेन ग्रिन टी तथा तातो शुपहरू पिइरहने र रोगी व्यक्तिबाट टाढै बस्ने र सके सम्म आफ्नो सुरक्षाका उपाय अपनाउनु पर्छ ।

जोखिम घटाउँन के गर्न सकिन्छ
महंगीले इन्धन र ग्यास नपाइँदा तातो खाने, बनाउने जस्ता कुरा सहज नहोला तर घरमा भएका कपडा र कम मुल्यमा पाइने मास्क लगाउन सकिन्छ । यसले पुरै नभएपनि रोगको जोखिम केही मात्रामा घटाउन सहयोग गर्न सक्छ । अरुले प्रयोग गरेका सामग्री प्रयोग नगर्ने, समय समयमा तातो तरल पदार्थको सेवन गर्ने र रक्सी, चुरोटबाट टाढै रहने हो भने पनि स्वास्थ्यलाई फाइदा नै गर्छ ।
समग्रमा जाडोयाममा न्यानो लुगा, टोपी, मास्क लगाएर हिड्नुपर्छ । बन्द कोठाभित्र बसेर भुस, कोइला, हिटरको आगो नताप्ने । बन्द बाथरुममा ननुहाउँने । हावा छिर्ने ठाउँमा नुहाउँ र नुहाएरपछि शरिरमा तोरीको तेल घस्ने र घाममा बस्दा फाइदा पुग्छ । झोलिला पदार्थ, पोषिलो खानेकुरा, फलफुल,तातो पानी, मांसहारी भए माछा मासु आवश्यकता अनुसार खाने । संक्रमित व्यक्तिबाट टाढै रहने, भिडभाडमा नजाने । जाडोमा हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने भएकाहरूले सकभर शरिर छोप्ने गरी कपडा लगाउँने । विशेष गरी हात, कान र नाकलाई पन्जा, टोपी, गलबन्दी आदिले राम्ररी छोप्ने गर्नुपर्छ । अन्त्यमा सावधानी अपनाउँदा अपनाउँदै पनि कुनै समस्या देखिएमा सम्बन्धित विशेषज्ञसँग परामर्श लिने र उपचारतर्फ लाग्ने ।