हावाबाट उत्पादित बिजुलीबाट कार्यलयहरु झलमल्ल

५ मेगावाट बिजुली उत्पादन

बागलुङ, १६ कार्तिक — जिल्ला प्रहरी कार्यालय मुस्ताङमा काम लिएर आउने जो कोहीले पनि समयमा काम पाउने गरेका छन् । बिद्युतको आपुर्ति बन्द भएका कारण कम्युटर, प्रिन्टर तथा अन्य प्रबिधिको प्रयोगमा अवरोध भएर कसैले पनि समय खर्चिनु पर्दैन् । केन्द्रिय प्रसारण लाईनको बिद्युत काटिएको बेला होस वा आपुर्ति भैरहेको बेला नै किन नहोस कार्यालय परिसर झलमल देखीन्छ । रातको समयमा मात्रै हैन दिनमा समेत कार्यालयका भित्री कोठाहरुमा बिद्युतको प्रयोग गर्दा महशुल धेरै उठ्ने चिन्ता समेत कार्यालयलाई छैन् । फराकिलो कार्यालय परिसरको प्रवेशद्वार छेवैमा जडान गरिएको हावाबाट बिजुली निकाल्ने प्रविधिले कार्यालयले सबै काममा सहजता प्रदान गरेको हो । हावाबाट ट्रवाईन घुमाएर निकालिएको ५ मेगावाट बिजुली र ७ वटा प्यानल जडान गरिएको सौर्य उर्जाले कार्यालयमा खपत हुने सबै बिद्युत आपुर्ति गरिरहेको मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले बताए । हावा र सौर्य उर्जाको प्रयोगबाट जम्मा भएको शक्तिले कार्यालयका दश वटा कम्प्युटर, तिन वटा प्रिन्टर र २५ देखी ५० वाट सम्मका बिस वटा बत्ति सहजै बाल्न सकिने खड्काले बताए । दुई वटा खम्बामा युरोपियन प्रबिधिको प्रयोग गरेर दुई वटा ट्रवाईन हावाबाट घुमाएर बिद्युत निकालिएको छभने कार्यालयको प्रवेश द्वारको छानामा जडान गरिएका प्यानलहरुबाट उत्पादन हुने बिद्युतलाई समेत एकै ठाउँमा जम्मा गरेर कार्यालयको काममा लगाईएको छ । ‘हामिकहाँ कामको लागि आउने जो कोहीलाई पनि बिद्युतका कारण रोकिनु पर्ने अवस्था छैन्’ खड्काले भने– ‘हावाबाट निकालेको बिद्युतले सबै काममा सहजता प्रदान गरेको छ ।

’ २०७४ सालमा जडान गरिएका ट्रवाईनहरुले निरन्तर बिद्युत उत्पादन गरिरहेको कार्यालयले जनाएको छ । दिनभरि सौर्य उर्जा र हावाबाट चलेका ट्रवाईनले उत्पादन गरेको बिद्युतले रातभरि कार्यालयका सबै कोठा र परिसरमा समेत झलमल्ल बत्ति बाल्न पुग्ने गरेको छ । पर्वतका पुष्प तिमिल्सिनाको समुहले एक बर्ष पहिला व्यक्तिगत लगानीमा जिल्ला प्रहरी कार्यालय परिसरमा हावाबाट चल्ने ट्रवाईन जडान गरेका थिए । मुस्ताङ जिल्लाको सदरमुकाम रहेको जोमसोममा दिउँसोको समयमा हावा चल्ने भएकाले हावाबाट ट्रवाईन घुमाएर बिद्युत निकाल्न सहज रहेको स्थानीय बताउँछन् । जिल्ला प्रहरी कार्यालयमा उत्पादन भैरहेको बिद्युतलाई नमुनाको रुपमा लिएर अन्य ठुला योजनाहरु सञ्चालन गर्न सके मुस्ताङमा हावाबाट बिद्युत निकाल्ने काम सफल हुन सक्ने स्थानीयको भनाई छ ।