स्थानीय पशुपंक्षी संरक्षण अभियान

बागलुङ, १६ कार्तिक — परंपरागत रुपमा पालिने पशुपंक्षि संरक्षण गर्ने अभियान संचालन भएको बागलुङका ग्रामीण किसानले निरन्तरता दिएका छन् । चालु बर्ष तत्कालिन कृषि र पशु विकास कार्यालयको भूमिका फेरिएर कार्यक्रम नभएपनि निरन्तरता दिएका हुन् । बिशेषगरी कुखुरा, बाख्रा र भैसी पालनमा किसानले निरन्तरता दिएको बताए । यसरी पालिएका पशुपंक्षीबाट लाखौ आम्दानी पनि गरिहेका छन् । यसरी माग बढ्दा किसानलाई उत्पादनमा हौसला मिलेको रायडाँडाका दलबहादुर थापाले बताए । पशु स्वास्थ्य प्राविधिक केशव पौडेलका अनुसार रायडाँडामा बाख्रा, राङखानी र भकुण्डेमा कुखुरा, तारा, हिल र अर्गलमा भैसी संरक्षणको अभियान थालिएको हो । यो अभियानले किसानलाई व्यवसायिक बनाउने र स्थानीय जातको संरक्षण गर्ने लक्ष राखेको बरिष्ठ पशु बिकास अधिकृत नारायण शर्माले बताए । चालु बर्ष भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङमा कुनैपनि कार्यक्रम आएको छैन । केन्द्रले किसानलाई कुनैपनि सहयोग गर्न नपाएको उनले बताए । अघिल्ला बर्ष संचालित कार्यक्रमहरु बाट किसानले थालेको स्थानीय जातका पशु संरक्षण अभियानलाई निरन्तरता भने दिएका छन् । तत्कालिन जिल्ला पशु विकास कार्यालयले ताराखोला, अर्गल, तमान र बुंगादोभानमा स्थानीय जातकै लिमे र पाराकोटे भैसी संरक्षण गरेको थियो । तुलनात्मक दुध उत्पादन कम भएपनि पहाडी क्षेत्रमा लिमे र पाराकोटे भैसी पाल्न र चराउन सहज हुने भएपछि लगानी समेत गरिएको थियो । ‘गाउँघरकै स्वादका लागि आएका पाहुनालाई सधै लोकल कुखुराको मासु खुवाउने गरेको भकुण्डेका होमस्टे संचालकले बताए । १ सय बढी पाल्नेलाई ३० हजार, २ सय बढी पाल्नेलाई ४० हजार र ३ सय बढी पाल्नेलाई ५० हजार रुपैयाँ अनुदान दिने नीतिले किसान उत्साही भएको समेत पौडेलको भनाई छ ।

बाख्रा र कुखुरामा अनुदानसहित स्थानीय जातको संरक्षण बढाउँदा जिल्लामा मासु उत्पादन पनि बढेको छ । ५ बर्षअघि १५ मेट्रिकटन मासु उत्पादन भएकोमा चालु बर्ष २ हजार ८ सय २० मेट्रिकटनमा पुगेको केन्द्रको तथ्यांक छ । उक्त मासुबाट १ अर्व बढी रकम जिल्लाभित्रै खर्च भएको हो । हाल प्रतिव्यक्ति ११ केजी मासु उत्पादन भैरहेको छ । ‘व्यवसायिक रुपमा मासु उत्पादन गर्ने दुईचार जना किसान बढ्दा जिल्ला आत्मनिर्भर हुन्छ’ पशुविकास अधिकृत निलकण्ठ शर्माले भने, ‘केन्द्रमार्फत नमूना कृषि फर्म बनाउन प्रस्ताव आब्हान भएको छ ।’ उक्त प्रस्तावका लागि दुई दर्जन बढी निवेदन आइसकेको उनले बताए । घरेलुमा दर्ता भएको, कर चुक्ता गरेको, अडिट रिपोर्ट स्पष्ट राखेको संस्थाले गाईभैसी पालन भए कम्तिमा १० माउ पाल्नुपर्ने, बाख्रा भए ३० माउ, बंगुर भए ३० माउ र कुखुरा भए एक हजार पाल्ने गरी आउने किसानलाई १० लाखदेखि ५० लाखको लगानीमा सरकारले ५० प्रतिशत अनुदान दिने प्रावधान राखिएको छ । यो अभियानले मासु उत्पादन बढेर निर्यात गर्न सकिने पौडेलले बताए ।