चालिसे पुर्पक्षकालागि थुनामा

बागलुङ, १७ कार्तिक — जैमिनी– ७ का भूमिश्वर शर्माको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालत बागलुङले आरोपी शालिकराम चालिसेलाई पुर्पक्षको लागि थुनामा पठाएको छ । जिल्ला न्यायधिश प्रकाश प्रसाद पण्डितको ईजलासले थप अनुसन्धानको लागि भन्दै चालिसेलाई थुनामा राख्न आदेश दिएको हो । चालिसे शुक्रबार नै जिल्ला कारागार चलान भएका छन् । जैमिनी नगरपालिका ७ जैदीका ५२ वर्षीय भुमिश्वर शर्माको हत्यामा संलग्न रहेको भन्दै चालिसेका विरुद्ध भुमिश्वरका छोरा अमृत ढुङ्गानाले जाहेरी दर्ता गराएका थिए । जाहेरीमा शर्माको कर्तव्य गरि हत्या गरिएको भन्दै अपराध (संहिता) २०७४ को परिच्छेद १२ बमोजिम कार्वाही गर्न माग गरिएको थियो । शर्मा गत असोज १८ गते बिहान ९ बजे जैमिनी ७ स्थित कालिगण्डकी करिडोरकोे कुनामा मृत भेटिएका थिए ।

गाउँतिर गएर आउँछु भनि घरबाट निस्किएको भोलिपल्ट मृत भेटिए पछि अदालतमा मुद्दा परेको हो । मृतक भुमिश्वरकी श्रीमति देविकला शर्माले चालिसेले फोन उठाए पनि आफ्नो श्रीमान भुमिश्वरलाई दिनुस भन्दा फोन नदिएको बताएकी थिईन् । फोन नउठेपछि हत्यामा उनको संलग्नता देखिएको भन्दै परिवारले किटानी जाहेरी दिएका थिए । शर्माको मुखमा रगत लत्पतिएको, घुँडा पछाडी २ इन्च जति काटिएको, बायाँ साप्राको पछाडी पनि चोट लागेको अवस्थामा थियो ।