पर्यटकीय गन्तव्य सूचीमा परेका पर्वत म्याग्दीका गन्तव्य

पर्वत, १७ कार्तिक —थुप्रै धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएर पनि पर्यटकीय गन्तव्य सूचीमा नपरेको पर्वत जिल्लाका पाँच स्थानलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा सुचीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको एक सय पर्यटकीय गन्तव्यको सूचीमध्ये यहाँको गुप्तेश्वर गुफा, सेतीवेणी शिला र पञ्चासेलाई स्थापित पर्यटकीय गन्तव्यको रूपमा सुचीकृत गरिएको हो । यसैगरी कुश्मा नगरपालिका–३ दुर्लुङमा सञ्चालित क्यानोनिङ र महाशिला गाउँपालिकामा रहेको महाशिला नयाँ तथा विकास गरिनुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा समावेश भएको छ । पञ्चासे कास्की, पर्वत र स्याङ्जा जिल्लाको सङ्गममा रहेको पर्यटकीय गन्तव्य हो । पोखराबाट नजिक रहेको यस क्षेत्र पदयात्रा, हिमशृङ्खलाको दृश्यावलोकन, धार्मिक केन्द्र र घरबासका कारण स्थापित पर्यटकीय गन्तव्य बनेको हो । कुश्मा नगरपालिका–४ कुश्माबजारमा रहेको गुप्तेश्वर गुफा सात तले अलौलिक गुफा हो । मध्यपहाडी राजमार्गबाट ५०० मिटर तल रहेको यो गुफालाई पर्यटकीय र धार्मिक केन्द्रको रूपमा विकास गरिँदै लगिएको छ भने पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीमा कालीगण्डकी जलजविद्युत् केन्द्रमा बनेको जलाशयमा सञ्चालित स्टिमरका कारण आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गत वर्षदेखि सञ्चालनमा आएको कुश्मा नगरपालिका–३ दुर्लुङको क्यानोनिङ, केभिङ र महाशिला गाउँपालिकामा रहेको एशियाकै ठूलो शिलामा शिवको सुतेको मूर्ति बनाई विश्वभरका पर्यटक र धार्मिक तीर्थयात्री भित्र्याउने योजना अघि सारिएको छ तर नयाँ पदमार्गको रूपमा विकास गरिँदै लगिएका हम्पाल, जलजला, भँवरकोट, अग्ला र लामा पुल तथा नयाँ बन्दै गरेको विश्वकै दोस्रो अग्लो बञ्जिजम्प भने पर्यटकीय गन्तव्यको रूपमा छुटेका छन् ।

पछिल्लो समय ती अग्ला र लामा पुलमा दैनिक हजाराँै पर्यटक आउने गरेका छन् । भँवरकोट हुँदै घारेपानी जाने पदमार्गमा पूर्वाधार निर्माणका काम भइरहेको छ । घुमाउने तालदेखि बाँसखर्क, लोप्रे हुँदै घारेपानी पुग्ने अन्नपूर्ण मिलेनियम पदयात्रा मार्गमा पनि पदयात्री आइरहेका छन् । जलजला र हम्पाल क्षेत्र तथा डहरे देउरालीलगायत क्षेत्रलाई पनि पर्यटकीय गन्तव्य बनाउन स्थानीय तहले बजेट निनियोजनका साथै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । गुप्तेश्वर गुफा पर्यटकीय गन्तव्य सूचीमा परेपछि यहाँ पर्यटकको आकर्षण थप बढ्ने गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष मानकुमारी गिरी बताईन् । यस्तै म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुइसेदेखि धौलागिरि आइसफल क्षेत्रलाई सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको छ । ओझेल परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय गन्तव्यमा रुइसेडाँडादेखि धौलागिरि आइसफल क्षेत्र समेटिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ पर्यटकीय गन्तव्यको सूचीमा रुइसे हुँदै धौलागिरि आइसफल क्षेत्र समेटिनुले यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिएको रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष रिमबहादुर कटुवालले बताए ।“अहिलेसम्म ओझेल परेको यो क्षेत्र सरकारको प्राथमिकतामा परेको छ, स्थानीयस्तरबाट भएका प्रयास सार्थक बन्दैछन् ”, उनले भने । रुइसे हुँदै धोलागिरि आइसफलसँगै सरकारले म्याग्दीकै घोरेपानी पर्यटकीय क्षेत्रलाई समेत नयाँ गन्तव्यको सूचीमा राखेको छ । पुनहिल, गलेश्वर र तातोपानीलाई स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने गन्तव्य सूचीमा राखेको छ । रघुगङ्गा गाउँपालिकाको वडा नं १, २, ३, ४ र ७ को सीमा क्षेत्रलाई समेटिएको रुइसेदेखि धौलागिरि आइसफल क्षेत्र धौलागिरि र अन्नपूर्णक्षेत्रका हिमालको अवलोकनका लागि उत्तम मानिन्छ । सो मार्ग म्याग्दीबाट मुस्ताङ निस्कने वैकल्पिक नयाँ पदमार्गसमेत हो । धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारका रुपमा रहेको रुइसेमा रघुगङ्गा गाउँपालिकाले भ्यूटावर निर्माण शुरु गरेको छ । आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यअनुसार मन्त्रीस्तरको निर्णयबाट छनोट गरिएका १०० नयाँ पर्यटकीय गन्तव्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिश गरिएका हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६०० भन्दाबढी स्थान प्रस्तावित भएकोमध्ये मन्त्रालयले विभिन्न आधार तयार गरी छनोट गरेको हो । ‘नेपाल भ्रमण वर्ष’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्ने गरी नयाँ गन्तव्यको प्रवद्र्धन र विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न शुरुआत गर्नेछ । नयाँ गन्तव्य प्रवद्र्धन गर्न सरकारले रु ५० करोड छुट्याएको छ । सोही रकमबाट काम हुने छ ।