अबको बाटो समाजवाद उन्मुख समृद्धि ः खनाल

नेकपाको चियापान कार्यक्रम सम्पन्न 

बागलुङ, १७ कार्तिक — नेपाल कम्प्युनिष्ट पार्टी नेकपाले शनिवार दशै, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेता झलनाथ खनालले समाजवाद उन्मुख आर्थिक समृद्धि ल्याउन सबै राजनीतिक दलको साझा अभियानको आवस्यकतामा जोड दिए । उनले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि गरेको साझा संघर्ष जस्तै संविधान कार्यान्वयन र नेपालको आर्थिक समृद्धिको लागि पनि सबै दलको सहयोग आवस्यक पर्ने धारणा राखे ।उनले संविधानको कार्यान्वयन सँगै देशलाई राष्ट्रियतामा सुदृढ बनाउनुपर्ने धारणा राखे । ‘अब हामीले नेपाललाई सुखी, सुदृढ र आर्थिक समृद्धिमा लैजान ६ वटा कार्यभार पुरा गर्नुपर्छ’ उनले भने, ‘राष्ट्रिय कार्यभारको लागि सबै दल, जनता र सरकारको साझा सोच बनाउन आवस्यक छ ।’ राष्ट्र निर्माणको जिम्मा जनताले नेकपालाई दिएकोले नेतृत्व लिने र अभियानमा सबैले सहयोग गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै खनालले सिमारेखाहरु मिचिईरहेपनि नेपालीले बोल्न नसक्दा राष्ट्रियता धरापमा परेको धारणा राखे । उनले सुगौली सन्धी पुनराबलोकन गर्ने समय आएको समेत बताएका थिए । महाकाली नदीको सिमाना भनेर लेखिएपनि त्यो भन्दा धेरै यता आएर सिमा मिचिएको उनको तर्क थियो । ‘महाकाली तरेर लिपुलेक सम्म आएर सिमा मिचिएको छ, अब हामी बोल्नुपर्छ’ उनले भने, ‘यस अघिको नेतृत्व गर्नेले देशको बारेमा बोलेनन् ।’ अब भारत र चीन दुवैसँझ साझा पारवाहन सम्झौता गरेर देशलाई आर्थिक समृद्धिको बाटोमा हिडाउनुपर्नेमा जोड दिए । उनले लिपुलेकमा बसेका बिदेशी सेनाले नेपालीको छातीमा परेड खेलेको टिप्पणी गरे । नगेन्द्र खडका