‘गाउँपालिकाका पदाधिकारीको मर्यादा र सुविधामा विभेद’

राजधानी पनि नगरपालिकामै भएकाले प्रदेश र संघ सरकारले उसैको कुरा बढी सुन्ने

कास्की, १७ कात्तिक – ‘बिहानै आँखा मिच्चै वडाध्यक्ष गाउँलेको काममा हुन्छ, काम गाउँमा छ तर दाम सिंहदरबारमा छ’, उनले भने, ‘समाजवादमा योग्यता अनुसारको काम र काम अनुसारको दाम हो । तर त्यस्तो छैन ।’ गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष होमनारायण श्रेष्ठ कास्कीको गुरुङ गाउँ ताङतिङमा शुक्रबार सुरु महासंघको गण्डकी प्रदेशको अधिवेशनमा बोल्दै थिए । अध्यक्ष श्रेष्ठले गाउँपालिकाका पदाधिकारीहरुको मर्यादा र सुविधामा पनि विभेद भएको गुनासो गरे । ‘नगरपालिकाकोलाई प्रमुख अनि दुरदराजका गाउँका जनताले चुनेको भनेर गाउँपालिकाकोलाई अध्यक्ष भनिएको छ’, उनले भने, ‘सुविधा पनि गाउँपालिकाका अध्यक्षलाई नगरपालिकाको उपमेयरलाई भन्दा कम छ ।’
राजधानी पनि नगरपालिकामै भएकाले प्रदेश र संघ सरकारले उसैको कुरा बढी सुन्ने गरेको गुनासो पनि अध्यक्ष श्रेष्ठले गरे । गाउँ र नगर भनेर संविधानले नाममै विभेद गरेको उनले सुनाए । अहिले पनि संघ सरकारले ससाना योजनामा आफैं बजेट राखेको भन्दै आफूहरुलाई आउने ससर्त अनुदानप्रति पनि असन्तुष्टि जनाए । ‘सशर्त अनुदान भनेको फलानो सडकलाई १० लाख भनेर पठाउने होइन’, उनले भने, ‘बरु केन्द्रबाट वडामा पुग्ने सडकलाई भनेर नीतिगत सर्त हुनुपर्ने हो ।’ शिक्षा र स्वास्थ्यमा यस्तो यस्तो योजनामा भनेर ससर्त अनुदान दिनुपर्नेमा श्रेष्ठले जोड दिए । उनले गाउँपालिकाहरुले डेढ वर्षसम्म कर्मचारीहरुलाई पर्खिबसेको तर अब कुर्न नसक्ने पनि सुनाए । ‘कर्मचारी समायोजन ऐन तुरुन्तै लागु होला भन्ने थियो’, उनले भने, ‘अब हामी आफैं अस्थायी र करारमा कर्मचारी भर्ना गरेर अघि बढ्छौं ।’ महासंघका महासचिव वंशलाल तामाङले जनताको सेवा गर्नुपर्ने कार्यालयहरु फेरि पनि जिल्लाका केन्द्रमा राखिन लागेको भन्दै आपत्ति जनाए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारका लागि पनि आवाज उठाइदिन गाउँपालिकाका प्रतिनिधिहलाई आग्रह गरे । उनले भने, ‘तपाईँका लागि हामी लड्छौँ, हाम्रा लागि पनि तपाईँहरु लडिदिनुहोला ।’ प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि नै कर्मचारी समायोजन, कानुन निर्माण लगायत काम सक्नुपर्नेमा अहिलेसम्म पनि हुन नसकेको हुँदा संघ सरकारको आलोचना गर्नुपरेको मुख्यमन्त्री गुरुङले प्रष्ट्याए ।
मादी गाउँपालिकाको आतिथ्यमा ताङतिङमा आयोजित अधिवेशनमा गण्डकीका ५८ गाउँपालिकामध्ये ५० वटाका अध्यक्ष र उपाध्यक्षहरु सहभागी छन् । मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ श्यामले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन संघ सरकारले स्रोतको बाँडफाँड र ऐनकानुन निर्माण छिटो गरिदिनुपर्ने बताए । विदेशको फूलको माला र खादा प्रयोग नगर्ने निर्णय गरेको मादी गाउँको ताङतिङमै उत्पादित सयपत्री फूलका १ हजार मालाले अतिथिहरुको स्वागत गरिएको थियो । अधिवेशनले शनिबार महासंघ गण्डकी कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनबाटै ताङतिङ घोषणापत्र पनि जारी हुनेछ ।