रारा यात्रा–२

स्कुलबाट फर्किएर गोठी ज्यूलामा खाना खाएर पुनः हामी नेपाली भाषाको उत्पत्ति स्थल ‘सोबन शाही’को दरबारमा पुग्यौं । हाम्रा केही विद्यार्थीहरुको त्यहाँ जाने उत्कट चाहना थियो तर समय अभावका कारण एक जना विद्यार्थी र हामी तीन जना शिक्षक नेपाली भाषाको उत्पत्तिस्थलतिर लाग्यौं । मनमा सबैलाई लैजान पाएको भए भन्ने लागेको पनि थियो । हिड्ने बेला विद्यालयका प्रअले दिनुभएको नेपालको राष्ट्रिय झन्डा र विद्यालयको झन्डा पनि लाने मन थियो तर लान सकिएन । ‘ओहो ! तपाईहरु धनी ठाउँका मानिसहरुलाई भेट्न आएको’ भन्दा कालिका आधारभूत विद्यालय हाटसिंजाका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गोवी सिकर्मीले ‘हो ! हामी धनी हौं । हामीले नेपाललाई भाषा दियौं ।’ भनेर एकै सासमा गर्व गरेका थिए । ‘अठचालिस वर्षको जीवनमा पहिलोपटक तपाईं यसरी नेपाली भाषा उत्पत्ति भएको स्थल खोज्दै आउनुभयो नभए आजसम्म कोही आएको मैले भेटेको थिइनँ ।’ भन्ने उनको गुनासो थियो । अवश्य पनि नेपाली भाषाको अनुसन्धान गर्ने विद्वानहरु त त्यहाँ पुगे होलान् तर सिंजाको हालत हेर्दा गोवी सिकर्मीको गुनासो जायज नै लाग्छ । कुनै सरकारी कार्यालय होला, भाषा अनुसन्धान गर्ने केन्द्र होला, पुरातत्वले उत्खनन् र संरक्षण गरेको होला, धेरैका मनमा यिनै कुरा खेल्दछन् तर त्यहाँ दरबारको भग्नावशेष र छेउमा कनका सुन्दरी मन्दिर बाहेक केही पनि छैन । मैले सिंजाका नरेश नागराजले खस भाषालाई खस साम्राज्यको भाषा बनाएको भनेको बुझेको थिएँ ।
त्यो साम्राज्यका अन्तिम राजा सोबन शाहीले बहादुर शाहसँगको लडाईंको अन्तिममा दुई शर्त तेस्र्याएको कुरा स्थानीयहरुसँगबाट बुझियो । पहिलो शर्त त्यस साम्राज्यको भाषालाई नेपालकै भाषा बनाइनुपर्छ र दोस्रो त्यस साम्राज्यको दौरा, सुरुवाल, टोपीलाई राष्ट्रिय पोशाक बनाइनुपर्छ । नेपाल एकीकरणपछि त्यो शर्त पालन गरियो भन्ने जनश्रुति रहेछ । तापनि आज सिंजाको पहिचान अस्तित्व संकटमा छ । दरबारका भग्नावशेषहरु करिबकरिब पुरिएर हराउने अवस्थामा रहेछन् । राजनीतिक लडाईंका कारणले सिंजा नाम हटाएर कनका सुन्दरी राखिएको रहेछ । हामी माल पाएर चाल नपाउने नेपाली न प¥यौँ ! तापनि गोठी ज्यूलामा नेपाली भाषाको उत्पत्ति स्थलको संकेत गर्ने बोर्ड राख्न र पर्यटन अनि शिक्षा मन्त्रालय र पुरातत्व सम्बन्धी निकायलाई संरक्षणका लागि अनुरोध गर्न आग्रह गर्दै हामी त्यहाँबाट फर्कियौँ । हामीले गर्न सक्ने त्यसभन्दा बढी के नै थियो र ?
साँझ तीन बजे श्रमिक महिलाहरुले ढुंगा फुटाएर हाम्रो बाटो खोलिदिएछन् । त्यसपछि हाम्रो गन्तव्य मुगुको ताल्चा निश्चित भयो । रारा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार भुलभुले आफैमा सुन्दर रहेछ । प्रवेशद्वारको अगाडिको डाँडामा हिउँ खेल्ने अवसर पाइयो । नयाँ गाडीका साहु, हामी र विद्यार्थीहरु निकै रमायौँ हिउँमा । हुनतः फर्कदा बास बसेको स्थल भुलभुलेमा हिउँ परेको प्रत्यक्ष देख्ने भोग्ने अवसर पनि हामीले पायौँ । हिउँ खेल्दानखेल्दै दिन ढल्किइ सकेको थियो, त्यसैले गर्दा ताल्चा पुग्दा झमक्कै रात परिसकेको थियो । त्यसरात होटलमा बास बस्दा मित्र कुरै नबुझी म सँग रिसाए । भोलिपल्ट बिहान हामी पैदल यात्रामा रारा तालका लागि हिड्यौँ । एकै घन्टामा हामी रारा ताल पुग्यौँ । न उकालो न तेर्सो बाटो हिडेर हामी गन्तव्यमा पुग्यौँ । विद्यार्थीहरुलाई एक्लै नहिड्न, कुनै शारीरिक मानसिक असजिलो भए हामीलाई भन्न अनुरोध ग¥यौँ । विद्यार्थीहरु राराताल पुग्दा निकै उत्साहित देखिन्थे तर निकुन्जमा हल्ला निषेध रहेछ । रारा तालको मनोरम सौन्दर्य, उपत्यकाको डाँडाहरुमा सेताम्ये परेको हिउँ र पानीमा परेको त्यसको छाँयाले जो सुकैलाई पनि मनमोहक तुल्याउँथ्यो । जताबाट हेरे पनि रारा तालको सौन्दर्य उस्तै देखिन्थ्यो । यात्राको दुःख पीडा तथा तनाब क्षणभरमै राराको सौन्दर्यले बिर्साएको थियो । रारा तालकै छेउमा रहेको होटलमा खाना खाएर फर्कदा पानीले आफ्नो स्वरुप मात्रै बदलेको थिएन, गति पनि बदलेको पाइयो । तापनि पूरै दिन बसेर पूरै रारा ताल घुमेर अवलोकन गर्न सकेनौं किनकी हाम्रो यात्रा धेरै लामो भइसकेको थियो । राराबाट झरेर हामी पुनः पाँच बजे ताल्चाबाट फर्कनका लागि गाडी चढ्यौँ । त्यसदिन हामी भुलभुले आइपुग्यौं । निकै आत्मीयताका साथ होटलवालाले खाना खुवाए, राति बसाए । निकै सरल स्वभावका होटल साहु बाआमा अनि बुहारी पनि । बुहारीले निकै आत्मीयताका साथ खाना ख्वाइन् । मैले भनेको पनि थिएँ, घरमा आमाले खुवाएजस्तै भयो । त्यो हिडेंदेखिकै सबैभन्दा राम्रो बसाइ थियो । बाहिर हिउँ परिरहँदा हामी भित्र दुई दुई सिरक ओढेर सुतेका थियौँ । अर्को दिन बिहान भुलभुलेबाट हिडी नाग्मामा खाना खाएर कालिकोटको सदरमुकाम आउँदै गर्दा गाडी बिग्रिएकाले हाम्रो यात्रा कर्णाली मार्गको भीर पार गरेर खिड्गी ज्यूलासम्म मात्रै पुग्न सक्यो ।
त्यसदिन हामी कतै तल्लो डुंगेश्वर आइ पुगिन्छ कि भन्ने आशा थियो तर कालिकोटको मान्मामै रात प¥यो । त्यसकारण श्याम र यामजीले गाडीका चालकलाई दबाब दिइ राखेका थिए । राति त्यो बाटो गाडी चलाउन प्रतिबन्ध रहेछ । प्रहरीलाई हाम्रो भ्रमणको बारेमा भनेपछि उनीहरुले त छोडिदिए तर गाडी चालक भने त्यति खुश देखिएन । त्यसकारण उनले भनि पनि हाले, ‘कर्णालीमा मर्न आउने न हो । बाटो फिक्स छ, केही देखिदैन, ड्राइभर पनि बाँच्दैन ।’ यति भनेपछि भने हामीले उनलाई दबाब दिएनौं बरु नजिकै बास खोज्न आग्रह ग¥यौं । नभन्दै उनले आधा घन्टाको यात्रा पछि बास बसाले । भोलिपल्ट त्यहाँबाट हिडेपछि तल्लो डुङ्गेश्वरमा आएर खाना खायौं । अनि गाडी परिवर्तन गरेर बागलुङ आउने गाडीमा सुर्खेतको क्राक्रेविहार र बुलबुले ताल हे¥यौं ।
बुलबुले ताल पनि मासेछन्, दिग्गजहरुले । फेरि पुर्ननिर्माण होला, दुई चार वर्षपछि ? विद्यार्थीहरुको लुम्बिनी जाने चाहना यात्राभर पनि अभिव्यक्ति भइरहेको थियो । तर लुम्बिनी जानमा अलमल कायमै थियो । मित्र कतिखेर लैजाने कतिखेर नलैजाने भन्थे । लाने भनेर मैले गाडीका सारथीलाई त्यही अनुसार कुरा गरे । फेरि नलैजाने भन्छन् । प्रत्येक विद्यार्थीहरुलाई पैसा पुग्दैन भन्छन् अनि मैले पैसा नपुगे २० हजार म हालिदिन्छु भने । केही विद्यार्थीहरुले ताली बजाए । त्यसपछि हामी लुम्बिनीतिर लाग्यौं । लुम्बिनी हुँदै नौ दिनका दिनका राति हामी बागलुङ् फर्कियौं । फर्कदा बुटबलमा बाबालाई भेट्ने र करिब दश बाह्र वर्षपछि कोहलपुरमा साथीलाई भेट्ने अवसर समेत मलाई मिल्यो ।
खासमा यो भ्रमण विद्यामन्दिर विज्ञान संकाय कक्षा १२ ले आयोजना गरेको शैक्षिक अवलोकन भ्रमण थियो । विज्ञान विषयका शिक्षक विद्यार्थीहरुसँग गरिएको भ्रमणमा विज्ञानका शिक्षकहरुलाई गैरविज्ञानकाले अनेकौं प्रश्नहरु तेस्र्याएका थियौं । विज्ञानका सरहरुको समस्या के हो भने उहाँहरु वनवनस्पतिका विरुवाहरु चिनाउनुहुन्छ तर तिनको नेपाली नाम र उपयोगिता भन्नु हुन्न ।
विज्ञान पढ्नेहरुका लागि यो चुनौती पनि हो । हामीसँग रहेका वनसम्पदाहरुको पहिचान र तिनको उपयोगिताका बारेमा सबैलाई जानकारी गराउने हो भने हामी गरिब छैनौं । विज्ञानका सरहरुले गुरुले पेन्सिलले लेखाउन सिकाएको नाममा सधैभरि पेन्सिलले लेखिरहनु हुँदैन, पाइलट पेनमा पनि फड्को मार्न सक्नुपर्छ । त्यसो गर्ने हो भने रारा तालजस्ता सुन्दर सम्पदा भएका हामीले स्वाभिमान बेच्नुपर्ने थिएन । यात्राभर साहित्य र विज्ञानको घम्साघम्सी चलिरह्यो कतै बागलुङ् टु बागलुङ चर्चित भयो त कतै रकेट साइली पनि अनि सञ्चो छैन कि पनि अनि पाँच रुपैयाँको बार्गेनिङ । सँगै सुतेपछि गोडा लाग्छ भनेजस्तै सँगै यात्रा गरेपछि मित्रता र तिक्तता पनि आइहाल्छन् । तर जे होस् भम्रणबाट नेपाली भाषा तथा भेषभुषाको उद्गम थलो र जैविक विविधताको भण्डार कर्णाली प्रदेशका बारेमा छोटोमोटो जान्ने अवसर पाइयो । विकट कर्णालीका संभावना के छन् ? त्यो कुरा पनि गर्न मन लाग्यो । हामी त्यतातिर लाग्दा रारा ताल जाने भन्नेमात्रै थाहा थियो, यो कहाँ पर्छ र कुनकुन बाटोबाट गइन्छ भन्ने कुरा भने थाहा थिएन । मुगु जिल्ला र रारा ताल निकै टाढा भएकाले अवसर पटकपटक आउँदैन र पैसा भए पनि एक्लै जान सकिदैन भन्ने लागेर नै विविध खाले पारिवारिक अप्ठ्यारोलाई थाती राखेर म त्यो यात्रामा निस्किएको थिएँ । जब यात्रा सुर्खेतबाट उकालो लाग्यो, तब मुटुको धड्कन पनि बढ्न थाल्यो । दैलेखको तल्लो डुङ्गेश्वरबाट हामीले बागलुङ्बाट लिएर गएको गाडी छाड्यौं र कर्णाली लोकमार्गमै चल्ने गाडीका चालक सहचालकहरुको भाषामा ‘दुई सापटे’ गाडीमा यात्रा सुरु ग¥यौं । कर्णाली लोकमार्गको प्रस्थान विन्दु रहेछ, सुर्खेत । पहिलो काम सुर्खेतलाई नै व्यवस्थित शहरका रुपमा विकास गर्नु रहेछ । त्यसो त सुर्खेत पुग्ने शहरिया बाटो नै आफैमा विकटकै जस्तो रहेछ । तर अझै सुर्खेत उपत्यकामा भने शहरीकरणको व्यापक प्रभाव परिसकेको रहेनछ । सुर्खेत उपत्यकालाई सुन्दर उपत्यकाका रुपमा विकास गर्न योजनाबद्ध शहरीकरणको आवश्यकता देखियो ।
अव्यवस्थित सहरीकरण नेपालकै चुनौती बनेको छ भने सुर्खेत पनि यसबाट अछुतो छैन होला । नेपाली मौलिक शैलीका भन्दा पश्चिमी भद्दा शैलीको अनुकरण गरेर घरहरु बनाउने काम नेपालको शहरी क्षेत्रमा भइरहेको छ । हिजो पुर्खाहरुले बसोबासका लागि ज्योतिष माध्यम अपनाउँथे । तर आज हामी न हिजोको पुर्खाको विरासतलाई लिएर अगाडि बढेका छौँ न त आजको विज्ञानलाई समातेर अगाडि बढेका छौँ । सुर्खेत उपत्यकालाई व्यवस्थित तुल्याउने दुई उपायहरु छन् कि त नेपाली वास्तुकलालाई उपयोग गर्नुप¥यो कि त वैज्ञानिक शहरीकरण गर्नु प¥यो । त्यस्तै काक्रेबिहार, देउतीबज्जै, बुलबुले सुर्खेतका पहिचान हुन् । काक्रेबिहारको त पुर्ननिर्माण भइरहेको रहेछ तर बुलबुले तालको पहिचान त हराएछ ? त्यसको पहिचानलाई फेरि कसरी पुर्नजीवित गर्ने ? यस्ता कुराहरु जोगाइएन भने कर्णाली प्रवेशविन्दुले आकर्षण होइन विकर्षण थप्ने निश्चित छ ।बाटो हिड्ने जो कोहीको पनि पहिलो चाहना हो, सुरक्षा । कर्णाली मार्गलाई समाचार पत्रहरुमा मृत्युमार्ग भनेर आउँथ्यो, पहिलापहिला । धेरै काम भएको रहेछ, बाटोको सन्दर्भमा । बाटो पिच भइसकेको रहेछ । तर कम्तीमा अझ पनि केही मोडहरु एकैपटकमा गाडी कट्नसक्ने बनाउनुपर्ने आवश्यकता छ । हो, अप्ठ्यारो छ तर असंभव त रहेनछ नि त भन्ने कुरा कर्णाली लोकमार्ग स्वयंले नै पुष्टि गर्दछ । कर्णालीको पहिचानको एउटा माध्यम बन्नसक्छ, त्यो साहसिक बाटो ! त्यो मार्गको यात्रालाई ‘एडभेन्चर यात्रा’का रुपमा विकास गर्न सक्ने हो भने पर्यटकहरुको आकर्षण बढाउन सकिएला कि ? क्रमश……….