फजुल खर्च रोकौं

दशैं, तिहार, नेपाल सम्बत र छट पर्वको अवसर पारेमा यतिवेला बागलुङमा कृयाशिल बिभिन्न पार्टिहरुले चियापान, जलपान तथा शुभकामना आदान प्रदान कार्यक्रमहरु आयोजना गरी रहेका छन् । दशैं मनाई सकेका बागलुङ बासीहरुलाई शुभकामना दिनको लागि आयोजना गरीएका चियापान कार्यक्रमहरुमा स्थानियको सहभागीता भने निकै कम देखिएको छ । एका तर्फ कार्तिक महिना कामको चटारो छ भने अर्को तर्फ राजनीतिक दलहरु प्रति बढ्दै गएको सर्वसाधारणको बितृष्णाका कारण चियापान तथा जलपान कार्यक्रमहरु खल्लो हुने गरेका छन् । पार्टिले आयोजना गरेका कार्यक्रमहरुमा कार्यकर्ता तथा जिल्ला र स्थानिय तहका नेता बाहेक आम सर्वसाधारणको उपस्थिती निकै कम देखीएको छ । चियापान तथा जलपानका नाममा आयोजना हुने कार्यक्रमहरु शुभकामना आदान प्रदान र भावनाको साटा साट गर्ने भन्दा पनि भाषण लाद्ने अवसरका रुपमा पार्टिका नेताहरुले प्रयोग गरेका कारण पनि यस्ता कार्यक्रमहरुमा सहभागीता कम हुने गरेको हो ।
गाउँमा बर्ष भरी खाने धान तथा कोदो बाली भित्राउने चटारो छ । एकातर्फ गाउँलाई कामको चापले सताएको छ भने अर्को तर्फ पार्टिका कार्यक्रमहरु । पर्वका नाममा आयोजना हुने यस्ता कार्यक्रमहरु जिल्ला तह देखी गाउँ गाउँ सम्म भैरहेका छन् । दैनिक चिया पानको नाममा हजारौं रुपैयाँ खर्चेर कार्यक्रम भैरहँदा उपलव्धि भने नेताका भाषण सुन्ने मात्रैमा सिमित हुँदै गैरहेको छ । बर्षातको समयमा भत्केका सडकहरुमा धुलो उडाउँदै चियापानका लागि गाउँ गाउँमा पुग्ने नेताहरुलाई सर्वसाधारणले बाटो कहिले बन्छ भनेर सोध्न सम्म भ्याएका छैनन् । पहिरोले बगाएका पानी मुहना, बाटाका कारण धरापमा परेका बस्तिहरु, बिद्यार्थी बिनै घामतापेर तलवखाने शिक्षक तथ भौतीक संरचनाको अभाव झेलिरहेका बिद्यालयहरु, दैनिक झोला बोकेर बिदेशीने गरेका युवा, सुन्य गाउँघरमा पिँडी कुरीरहेका बृद्ध बृद्धा र बालबालिकाहरुले चियापानको केही स्वाद पाएका छैनन् । बरु उनिहरुको लागि चियापानमा हुने खर्च बिकासमा भए कस्तो हुँदोहो भन्ने एउटा सानो प्रस्न मात्रै छ । चियापनको नममा यतिवेला सत्तामा रहेका र सत्ता बाहिर रहेका सबै राजनितीक दलहरुले खर्च गरिरहेका छन् । अरुबेला एक अर्कामा खनिएर बिरोध र समर्थनका स्वरहरु गुन्जाउनेहरु चियापानमा भने मन्द मुस्कानका साथ सहभागी भएर भाषण गरीरहेकै छन् । कार्यकर्ता रिजाउनका लागि भएका कार्यक्रमहरु हुन वा पर्वका नाममा भएका कार्यक्रमहरु हुन पछिल्लो समय भैरहेका चिया पान र जलपान कार्यक्रममा कुनै तुक भेटिँदैन् । एक दिन चिया खुवाएर मिठो भाषणले मात्रै जनताका समस्याको समाधन हुन सक्दैन बरु कामको चटारोको बेला भएकाले फुर्सदमा रहेका पार्टिका नेता कार्यकर्तालाई गाउँमा खड्कीएको युवा अभावको परिपुर्तिमा लगाएर जनताका काममा सघाउने हो भने त्यसले तात्वीक महत्व राख्छ । एका तर्फ बेकामको खर्च र अर्को तर्फ सर्वसाधारणलाईनै गिज्याउने गरी भैरहेका चियापान तथा जलपान कार्यक्रमहरुको उपलव्धि खोजौं । पर्वका नाममा बेकामको खर्च गरेर समाजलाई थप महंगो र बिकृत बनाउने काममा आजै देखी ध्यान पु¥याउन आवश्यक छ ।