खेल क्षेत्रमा लगानी बढाऔं

केही समयदेखि बागलुङका ग्रामीण क्षेत्रमा खेलका जिल्ला स्तरीय, क्षेत्रीय र राष्ट्रिय खेलकुँद प्रतियोगिताहरु संचालन हुन थालेका छन् । पूर्वाधारको अभावका बीच पनि ग्रामीण क्षेत्रमा सक्रिय युवाले जिम्मा लिएर त्यस्ता प्रतियोगिताहरु संचालन हुनु गौरवको कुरा हो । किनकी देशले खेल क्षेत्रलाई उपेक्षा गरिरहेकै बेला युवाहरुको जोश र जाँगर मर्न नदिनका लागि गरिने क्रियाकलापलले राज्यलाईनै चुनौती दिएको छ । बिशेषगरी मार्सल आर्टमा बागलुङको बिहुँ, गलकोट र बुर्तिवाङ क्षेत्र बढी चर्चामा छ । स्थानीय तहमै आयोजना गरेर क्षेत्रीय तहका प्रतियोगिताहरु संचालन भएका छन् । त्यस्ता आयोजनामा लाखौं खर्चेर सफलता पाएका उदाहरणलाई अब सबैले सम्मान गर्नुपर्ने बेला भएको छ । गत महिना त गलकोट नगरपालिकाको सहयोगमा नेपाल भलिबल संघले राष्ट्रिय प्रतियोगिता पनि सम्पन्न गरेको छ । यो खेलले देशभरका खेलाडीलाई जिल्ला चिनाउने अबसर पनि प्राप्त भयो । यस्ता अबसर प्राय पाईदैन, तर पनि लगानी गरेर आफ्नो क्षेत्र चिनाउने प्रयास हुनुलाई राम्रो रुपमा लिन सकिन्छ ।

मेला र महोत्सव मार्फत कलाकारहरु भित्राउने, गीत संगीतमा आफ्नो क्षेत्र चिनाउने बिषयसँगै साहसिक खेल पर्यटनको गन्तव्य बनाउने अभियानमा पनि युवाहरु लागेका छन् । गलकोट नगरपालिकाको नैतिक र आर्थिक सहयोग सँगै वडा अध्यक्ष बनेका युवाहरुले पनि जिम्मा लिएरै खेलको बिकासमा योगदान दिएका छन् । युवाहरुको सक्रियताले गलकोट नगरपालिकाले गौरवको आयोजनाको रुपमा प्रदेश सरकारको साझेदारीमा कवर्डहल बनाउने तयारी समेत गरेको छ । यस्ता बिषय हेर्दा सामान्य जस्तो लाग्न सक्छन्, तर आम युवालाई समेट्ने आयोजना हुन । पूर्वाधार बिकासको नाउँमा करोडौं खर्चने हाम्रा स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले युवा र खेलकुँदको शिर्षकमा केही हजार र बढीमा लाख सम्मको बजेट दिने गर्छन् । त्यस्ता बजेटले युवाहरुलाई आर्कषण गर्नुको साटो बिदेशीन बाध्य पार्ने काम भएका छन् ।
आजकलका युवाहरु खेलकुँदमा सचेत पनि छन् । आर्थिक रुपमा लगानी गर्न नसक्दा पनि उनीहरुले क्षमता बिकास गर्ने भनेकै खेल क्षेत्र हो । त्यसैले राज्यले अब खेलमा लगानी गर्न भुल्नु हुँदैन । अन्तराष्ट्रिय मंचमा पुगेर ठूला देशको अगाडि साहस देखाउने खेल क्षेत्रको लगानीबाट राज्यले फाइदा कमाउने धेरै आधार र प्रमाण छन् । त्यसैले अब राज्यको लगानी यसतर्फ मोडिन जरुरी छ । साहसिक खेल तर्फ प्याराग्लाईडिङ, क्यानोनिङ जस्ता खेलले पनि युवालाई आर्कषण गरेको छ । झरनाहरु लाई सदुपयोग गरेर क्यानोनिङ गरिएका छन् । फुटबलका लागि आवस्यक पूर्वाधार बनाउन ठूलो खर्च लागेपनि भलिबल, बास्केटबल र फुटसल जस्ता खेलको बिकास अब स्थानीय तहमा सजिलै गर्न सकिने अबस्था छ । मार्सल आर्टका लागि पनि हरेक तहमा कम्तिमा एकएक वटा कवर्डहल बनाउन सकियो भने सयौं खेलाडी उत्पादन गर्न सकिने अबस्था छ । स्वदेशमा रोजगारी दिन नसकेकै अबस्थामा कम्तिमा खेलको बिकास गरेर युवालाई बिदेशिनबाट जोगाउने र खेल पर्यटनको रुपमा ग्रामीण क्षेत्रको बिकास गर्न सकिने आधार पनि बनाउन जरुरी छ ।