कृषि बाटै वार्षिक ४ लाख आम्दानी

कृषि फसलबाटै समृद्वि

बागलुङ, १९ कार्तिक — ताराखोला गाउँपालिका–५ की जसमती पुनले आलु लगाएर बर्षभरीको खर्चको जोहो गर्छिन् । ताराखोला–२ की तुलसी रोकाले मकै र कोदो मासेर अलैची लगाएकी छिन् । उनको वार्षिक ४ लाख रुपैयाँ कमाई पुगिसकेको छ । दुवै जनाले आलु र अलैचीको उत्पादन दोब्बर बनाउने लक्ष राखेको बताए । हाल उत्पादन भैरहेको कृषि फसल र अन्नलाई बढाएर ताराखोला गाउँपालिकाले एक बर्षभित्र आलु र अलैचीको जोन बनाउने योजना ल्याएको छ । आलुका लागि गाउँपालिकाका सबै वडा र अलैचीका लागि अर्गल, सिले, भुस्कात र माझखर्क गाउँ छुट्टयाइएको छ । हाल ५ लाख बढी बिरुवा लगाईसकिएको अलैचीलाई बढाउन नर्सरी पनि तयार गरिएको छ । त्यस्तै दुइवटा वडाका सबै घरमा अनिवार्य लगाउन आर्थिक र प्राविधिक सहयोग जुटाउने प्रतिवद्धता गाउँपालिकाले दिएपछि किसान उत्साही भएका हुन् । क्षेत्रफल पर्याप्त भएको, उचित हावापानी र सिंचाईको सुविधाले दुवै फसलको जोन बनाउन सकिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘कृषि पेशामा लागेकाहरु कृषिबाटै धनी बन्नुपर्छ भन्ने मान्यताले लगानी बढाएका छौं’ घर्तीले भने, ‘त्यसका लागि गाउँपालिकासहित प्रदेश र केन्द्रीय सरकारको लगानी पनि भित्राउने तयारी छ ।’ बागलुङमा बर्षेनी ४० हजार मेट्रिकटन आलु फल्छ । त्यो मध्येको आधा ताराखोलामा मात्र फल्ने अनुमान छ । गाउँपालिकाले ताराखोलामै किबी र लसुनको ब्लक बनाउने तयारी गरेको छ । गाउँपालिकाले कृषि प्राविधिक राखेर सबै किसानको बारीमा नियमित अनुगमन गर्ने, उत्पादन बढाउन आवस्यक मल र बीउ उपलब्ध गराउने काम समेत थालिसकेको हो । घरघरमै कृषि व्यवसायी उत्पादन गरेर समृद्धिको गाउँपालिका बनाउने कार्यपालिका सदस्यले संकल्प लिएको उपप्रमुख दिलकुमारी पुनले बताईन् । ‘कोही पनि खाली हात नबस्ने, कृषि उत्पादन गरियो भने केही बर्षमै धनी बनिन्छ’ उनले भनिन्, ‘कृषि उद्यममा छुटेकाले पनि अन्य व्यवसाय गर्नैपर्छ ।’ कृषिमा आधारित उद्यममा अनुदानको व्यवस्था गर्ने र अन्यलाई आवस्यकता अनुसारको सहयोग गर्ने गाउँपालिकाले नीति लिएको हो । ताराखोलाका किसानले आलुबाटै लाखौं कमाईरहेका छन् । अब भने संकलन केन्द्र, स्टोर बनाएर बेमौषममा पनि बिक्री गर्ने तयारी छ । यकिन तथ्यांक नभएकोले गाउँपालिकाले घरघरको उत्पादनको लागत राख्न लगाएको घर्तीले बताए । हरेक घरलाई खान पुगेर ५० हजारदेखि ३ लाख रुपैयाँ सम्मका आलु बिक्री गर्नेहरु यहाँ छन् । ताराखोलामै किबीको सफल परिक्षण भएको छ ।

राम्रो फलेको देखेपछि गाउँपालिकाले अनुदान समेत दिएर किसानलाई उत्पादन बढाउन लगाएको छ । लसुनको अत्याधिक उत्पादन गर्न सकिने भएकोले युवालाई बीउ र प्रविधि हस्तान्तण अभियानै चलाएको घर्तीले बताए । द्वन्द्वपिडित, दलीत र आर्थिक रुपमा कमजोर परिवारका सदस्यलाई कृषि र पशुपालनको काम गर्दा अनुदान दिने नीतिले उत्साह समेत थपिएको छ । कृषि प्राविधिक पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिने गरी चालु बर्षदेखि ३ लाख रुपैयाँ बिनियोजन समेत गरेको हो । उत्पादीत आलु र लसुन स्थानीय जातकै लगाईने व्यवस्था गरिएको उपप्रमुख दिलकुमारी पुनले बताईन् । बाँझो जमिन नराख्नेगरी स्थानीय जातकै बोडी, सिमी र भटमास लगाउन पनि किसानलाई प्रोत्साहन गरिएको उनले बताईन् । ‘घण्टौं हिडेर पुगिने गाउँमा आएपछि दुध, मोही, आलु र गेडागुडी समेत लोकल खान पाईन्छ’ पुनले भनिन्, ‘च्याउन उत्पादनमा पनि किसान अग्रसर छन् ।’ कृषिका हरेक फसल उत्पादन गर्न चाहनेलाई आवस्यकता अनुसारको अनुदान र प्राविधिक सहयोग गर्ने नीति बनाएपछि धेरैमा उत्साह थपिएको उनले बताईन् । गाउँपालिकाकै अगुवाईमा कृषि उपचार शिविर, स्वच्छ मासुका लागि तालिम र केही बिक्री केन्द्र, आधुनिक बधशाला समेत बनाउन लागेको उनले बताए । चालु बर्षका लागि गाउँपालिकाले कृषि फसल वृद्धिका लागि मात्र ७२ लाख रुपैयाँ बिनियोजन गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलुकै लागि यहाँ छुट्टै लगानी गर्न लागेको छ । भैसीका पाडापाडी हुर्काउनेलाई सुत्केरी भत्ता स्वरुप १ हजार रुपैयाँ दिने गरेको छ ।