विराटनगर पुगेर प्रचण्डले भने – महासचिव र म हलगोरु जस्तो

ओलीजी र म झ्याप्पै मिल्यौं, नेता भनेको यस्तो हुन्छ क्या !

पहिलो संविधानसभा चुनावको बेला म सम्झिन्छु, माओवादीले कहाँ चुनाव जित्छ, बढीमा चार/पाँच सिट जित्छ भन्थे मान्छेहरु । हामीले तत्कालीन नेकपा एमालेसँग चुनावी तालमेलको प्रस्ताव राख्दा उहाँहरुको कुरा पनि त्यही थियो । म आफैं पनि तड्पिराखेको थिएँ, के हुने हो, के !
जे-जे पर्‍यो पर्‍यो, कुरो मिलेन, ४० र ६० गर्न अलि गाह्रो भो, त्यसो भएपछि हामफाल्यौं । परिणाम आउँदाखेरि बडो बिचित्रको आयो । हामी आफैंले पनि नसोचेको त्यति धेरै भोट आयो । त्यसपछि मैले भन्ने गरेकोे छु, माओवादीले धर्ती छाडेको हो । त्यो भोट माओवादीले पचाउनै सकेन क्या ! कहाँबाट आयो आयो ।
सबै नेता कार्यकर्ताले भोट पचाउन सक्ने क्षमता बृद्धि गरेको भए त हुन्थ्यो । तर, यति धेरै भोट आयो, आँखा देख्नै छाड्यौं । यति मनोगत र यति अहंकार आयो, यति धेरै भोट आउने रहेछ । प्रचण्ड अलि अडेको भए त क्रान्ति नै सम्पन्न हुने रहेछ नि, प्रचण्डले दक्षिणपन्थी बाटो लियो भन्ने निक्ले त्यहीँभित्र । प्रचण्डले गर्दा यति भोट आयो भन्नुपर्ने ठाउँमा प्रचण्डले बाटो बिराएर यतातिर यस्तो आयो भन्ने निस्के त्यहीँभित्र । अर्कोतिर एमालेमा के बिचित्र भयो, कहाँ गडबड भयो भनेर रुवाबासी शुरु भयो । कुन होटलमा गएर रुनुभयो भन्ने पनि थाहा छ मलाई । यत्रो नेकपा माओवादीलाई २२३ सिट कम हो त ? एमालेको ३३ सिट ।
यति भएपछि उहाँहरु कता लाग्नुभयो भने माओवादीसँग मिलेर काम गर्नुपर्छ भन्नेमा लाग्नुभयो । हामीभित्र के भयो भने, म त यहीँ छु मिलेर काम गर्नेमै छु तर हाम्राहरु पार्टी फुटाउनेतिर लागे । क्रान्तिकारी हुने होडबाजी चल्न थाल्यो हाम्रो त्यतिबेलाको माओवादीभित्र । र, चार/पाँच वर्षपछि अर्को चुनावमा जाँदा त ठिक उल्टो परिणाम आयो ।
एमाले र माओवादी बल्ल जमीनमा
१४ वर्ष काराबासमा केपी ओलीजी बस्नुभयो । उहाँको १४ वर्ष काराबास बसेको मनोविज्ञान पनि छ । १४ वर्ष म पनि वनवास बसेँ । मेरो पनि मनोविज्ञान छ । यो १४ वर्षको काराबास र वनबासले हामीलाई यो ठाउँमा ल्याएको छ । अब माओवादीको ठाउँमा एमाले, एमालेको ठाउँमा माओवादी । ०७० सालको चुनावको परिणाम भनेको हो मैले । ठीक उल्टो भयो क्या । मैले बडो सैद्धान्तिक कुरा भनेको छु है कमरेडहरु, ख्याल होइन । व्यवहारिक घटनामात्र भनेको होइन । यसले नेतृत्वलाई र कार्यकर्ता सबैलाई जमीनमा टेक्ने बनाइदियो । एमाले पनि जमीनमा, माओवादी पनि जमीनमा ।
सबै जनताको बीचमा टेकेर हामीलाई आफ्नो हैसियत के हो भन्ने बुझ्ने बनाइदियो । लामो संघर्षले घटनाक्रमले उतार-चढावले हामी सबैलाई अलि परिपक्व बनाइदियो । अलि व्यवहारिक पनि बनाइदियो । अलि विवेकशील पनि बनाइदियो र अबचाहिँ हाम्रो अगाडि विकल्प संविधान मिलेर बनाउनुको छैन, सरकार मिलेर बनाउनुको छैन र पार्टी एकताको विकल्प छैन भनेर सोच्नुपर्ने ठाउँमा नेतृत्वपंक्तिलाई ल्याइपुर्‍यो । मैले भन्ने गरेको थिएँ, ०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि पार्टी एकताको एउटा पृष्ठभूमि बनेको थियो । त्यतिबेला नेकपा एमालेको निर्माण र नेकपा एकताकेन्द्रको निर्माण एउटा कालखण्ड थियो । कमरेड मदन भण्डारीको विशेष सक्रियता र पहलमा बनिएको एमाले र मेरो विशेष सक्रियतामा बनेको नेकपा एकताकेन्द्र दुईधार अगाडि आएका थिए ।
कमरेड मदन भण्डारी र मेरोबीचमा गम्भीर ढंगले बैचारिक राजनीतिक छलफल गर्ने भनेर कार्यक्रम तय भएपछि कमरेड मदन भण्डारीको अवसान भयो । दुर्घटना भयो हत्या भयो । मेरो जीवनमा सबैभन्दा दुःखको र अफशोचको क्षण भनेको त्यही भयो । जेठ ११ गते हामी दुईजना रातभरि बसेर पार्टी एकता हुन सक्छ कि सक्दैन भन्ने बारेमा कुरा गर्ने मिति तय भएको थियो । बस्ने घर र खाने कुरा तय भएको थियो । तर, जेठ ३ गते नै कमरेड मदन भण्डारीको हत्यापछि कम्युनिस्ट आन्दोलन जुन दिशामा जाँदै थियो, ०४८ सालपछिको परिस्थिति चाहिँ बिग्रियो ।
लेनिनले भन्ने गर्नुहुन्थ्यो, नेताहरुले सही समयमा सही निर्णय लिए भने इतिहास पचास सय वर्ष वर ल्याउन सकिन्छ । नेताहरुले सही समयमा सही निर्णय लिन सकेनन् भने इतिहास पचास सय वर्ष ढीलो हुन्छ भन्नुभएको छ । मलाई अहिले के लाग्छ भने कमरेड मदन र मेरोबीचमा त्योबेला गम्भीर ढंगले पार्टी एकताबारे छलफल भएको भए के हुन्थ्यो होला त ? हामी दुबै युवाहरु आफ्नो सक्रियता र आफ्नो त्यागका कारणले नेतृत्वमा आइपुगेका थियौं । देशमा केही नयाँ चिज गरौं भन्ने जोस हामीमा भरपुर थियो । त्यतिबेलै कुरा गर्न पाएको भए के हुन्थ्यो होला ?
अनि केपी ओली र म झ्याप्पै मिल्यौं
हिसाब तपाईहरु गर्नुहोला, माधव नेपालजी महासचिव र म अध्यक्ष भएका बेला भर्खर शान्ति प्रक्रियामा हुँदाका बेला ५०/५० मा तालमेल गरेको भए पार्टी एकता त्यतिबेलै भइसक्थ्यो । तर, ५०/५० को कुरा त्यो मिलेन । त्यो पनि नेतृत्वकै कारणले हो । अहिलेचाहिँ फेरि घुम्दै फिर्दै यति धेरै संघर्ष, रुपान्तरण र बहसपछि प्रदेश र संघको निर्वाचनमा हामी मिल्यौं । कमरेड केपी ओली पार्टीको अध्यक्ष र म पनि अर्को पार्टीको अध्यक्ष । हामी दुबै संघर्ष गर्दा पनि बेफिक्री संघर्ष गर्‍यौं, मिल्ने भन्दा पनि झ्याप्पै मिल्यौं । यो हो डाइलेक्टिस । नेता भनेको यस्तो हुन्छ क्या ! मौकामा हिरा फोर्न सक्नुपर्‍यो नि । नेताले निर्णय गर्न सक्नुपर्छ, त्यो भयो । र, त्यो निर्णय सही थियो भन्ने दुबैतिरका आम कार्यकर्ता र जनताले अनुमोदन गरिदियो निर्वाचनमार्फत ।
हामी पार्टी एकताको त्यो ठाउँमा आइपुग्यौं र मलाई गर्व छ । म तपाई अगुवा कार्यकर्ता कमरेडसँग भन्न चाहान्छु, मलाई गर्व छ । मैले कमरेड मदन भण्डारीको निधन भएकै दिन (जेठ ३ गते) पार्टी एकता गरौं भन्ने प्रस्ताव राखेँ र कमरेड केपी ओलीले ताली ठोकेर त्यसलाई समर्थन गर्नुभयो अनि जेठ ३ गते पार्टी एकता भयो । मलाई के लाग्छ भने कमरेड मदन भण्डारीप्रतिको यो ऐतिहासिक सम्मान हो र मैले त्यो बेला मदन भण्डारीसँग कुरा गरेर पार्टी एकतातिर लैजान सकिन्छ कि भनेको तर थाति रहेको कार्यभार पनि पूरा गरेँ । ०५० सालमा शुरु गरेको त्यो अभियान अहिले पूरा भएको छ ।
अहिले हामी यो ठाउँमा आइपुगेका छौं । हाम्रो जिम्मेवारी राष्ट्रियमात्र छैन । कम्युनिस्ट आन्दोलनलाई एक बनाएरमात्र यो देशमा सम्बृद्धि र स्थिरता हुन सक्छ भन्ने जिम्मेवारी पूरा गर्दैछौं । समृद्ध नेपाल र सुखी नेपालीको नाराभित्र केन्दि्रत भएर हाम्रो जिम्मेवारी पूरा गर्न खोजेका छौं । हामीले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक भएको अवस्थामा नेपालबाट आक्रामक ढंगले जाने र विश्व कम्युनिस्ट आन्दोलनलाई योगदान गर्ने ऐतिहासिक अवसरको रुपमा पनि यसलाई लिएका छौं । यो देशभित्रको मात्र सामान्य घटना होइन । हामी अन्तरराष्ट्रवादी हुनुको नाताले हाम्रो ऐतिहासिक दायित्व पनि हो कम्युनिस्ट आन्दोलनको एकीकरण ।
केपी ओली र मेरो बीचमा लामो र श्रृंखलाबद्ध छलफल भएर टुंगोमा पुग्ने बेलामा यी ऐतिहासिक परिघटनाबारे सोच्यौं । हामीले एकता गरेनौं भन्दा हुन्छ चाहिँ के ? फेरि पनि यो देशमा कसैको बहुमत हुँदैन । हामी झगडा गरेर फेरि चुनाव लड्न गयौं भने यो देशमा आर्थिक विकास पनि हुँदैन ।
देश किन बनेन ?
राजनीतिक अस्थिरताको फेरि अर्को दौड ७० वर्ष जान सक्छ । यदि फेरि पनि त्यहि अवस्था दोहोरियो भने देश यहि रुपमा रहन सक्छ त ? हामीले यो राष्ट्रलाई जोगाउन सक्छौं त ? हामीले यसमा पनि सौच्यौं । बिखण्डनका ट्रेण्डहरु हामीले देखेका छौं । हामीले यसो नगर्दा देशको अखण्डता र राष्ट्रिय एकता नै जोखिममा पर्छ भन्ने देखेपछि हामीले म कहाँ पर्छु भनेर सोचेनौं ।
अस्ति बुटवलमा यस्तै कार्यक्रममा भनेको थिएँ मैले, १४ वर्ष काराबासमा केपी ओलीजी बस्नुभयो । उहाँको १४ वर्ष काराबास बसेको मनोविज्ञान पनि छ । १४ वर्ष म पनि वनवास बसेँ । मेरो पनि मनोविज्ञान छ । यो १४ वर्षको काराबास र वनबासले हामीलाई यो ठाउँमा ल्याएको छ । ऐन नियम कानुन मिल्दैन हजुर भन्दाभन्दै आन्दोलनबाट आएका नेताहरुको दिमाग खराब गर्ने काम तिनै कर्मचारीले गर्छन् । केही वर्षको संगतपछि त नेता नै कर्मचारी जस्तो भएर निस्किन्छ।
दुई तिहाई बहुमतको सरकारको नेतृत्व गर्ने पार्टी हौं हामी । यो ठाउँमा हामीलाई कसैले दया गरेर ल्याइदिएको हो त ? देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले माया गरेर यो १४ वर्ष बनबास बसेकोलाई बिचरा र काराबास बसेकालाई पनि बिचरा भनेर ल्यादिएको हो र यो ? यो तपाई हामी सबैले मिलेर लडेर रगत बगाएर खोसेर ल्याएको हो नि ।
अहिले पनि हाम्रो भनाइ के छ भने तपाई हामी एकजुट भएर संकल्पका साथ अघि बढ्यौं भने साम्राज्यवादको केही लाग्दैन । ठूल्ठुला प्रतिक्रियावादीको केही लाग्नेवाला छैन । हामी जित्नेछौं । नेपालमा शान्ति प्रक्रिया सम्भव छैन भनेको हो, तर भयो । संविधानसभा सम्भव छैन भनिएको हो, तर भयो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव छैन भनिएको हो, भयो ।
अब मैले भनेँ भने यहाँ म भावुक हुँदै जान बेर छैन । कति धेरै अप्ठेरा र घेराबन्दीबाट संविधान बनाइयो । निर्वाचन पनि कसरी सम्पन्न गरियो भन्ने हामीलाई थाहा छ । हाम्रो एकतामा कति ठूलो ताकत रहेछ । हामीले एउटै पार्टी बनाउने भन्नेवित्तिकै लौ नेपालमा अधिनायकवादको शुरु भयो भनेर कम प्रचार भएको हो ? अब यो देशमा रुन पनि पाइँदैन, हाँस्न पनि पाइँदैन भनेका होइनन् ? किनभने उनीहरुले रुवाएर राखेकाले अब हाँस्न नपाउने भए भनेका हुन् । जतिसुकै हल्ला गरिए पनि जनताले हामीलाई भरोसा गरे र झण्डै दुई तिहाई बहुमत दिए । अब अहिले पार्टी एकता खोई तलसम्म गर्न सकेको भन्दैछन् ।
महासचिव र म हलगोरु, अब ठूलो अभियान आउँछ
प्रतिक्रियावादीहरुले नेकपाको एकता तलसम्म हुँदैन भन्न थालेका छन् । पहिला पहिला संविधान गणतन्त्र हुँदैन भनेजस्तै यो पार्टी एकता पनि हुँदैन भन्दैछन् । सरकारले केही पनि गर्न सक्दैन भनेर प्रचार गरेका छन् । कमरेड महासचिवले राम्रोसँग भन्नुभयो । महासचिव र मेरो भाषा बिस्तारै बिस्तारै मिल्न थालेको छ । कुरा बुझ्नुस है, हामी हलगोरु जस्तो हुन थालिएको छ क्या ! सबै ठाउँमा सँगै गएर एकले अर्काको भाषा सुन्दा-सुन्दा एउटै भाषा हुन थालेको छ ।
हामीले भनेका छौं, यो पार्टी एकता सफलताको साथ तलसम्म सम्पन्न हुन्छ । त्यो पनि छिटै । बिभिन्न कार्यदलका सुझालाई अन्तिम रुप दिएर सचिवालय र स्थायी समितिमा पेश गर्नका लागि कमरेड महासचिवकै नेतृत्वमा अर्को कमरेड समेतको टिम बनेको छ । हिजो बिहानमात्र मेरो प्रधानमन्त्रीसँग कुरा भयो । आज बिहानमात्रै मेरो कमरेड माधव नेपालजीसँग पनि कुरा भयो । हामीले अब छिटोभन्दा छिटो तलसम्म एकता टुंग्याउनुपर्छ र एउटा अभियानको रुपमा देशभरि जानुपर्छ भनिएको छ । कमरेडहरुलाई बिल्कुल कसैको प्रचारबाट भ्रममा नपर्न म अनुरोध गर्न चाहान्छु । हेर्नुहोला, केही दिनभित्रै पार्टी एकताको सम्पूर्ण प्रक्रिया टुंगिनेछ ।
हामी नेताहरु तपाईहरुसँग एउटा योजना र कार्यक्रम लिएर अभियानका रुपमा आउछौं । देशलाई एकपटक जुरुक्क उठाउने ढंगले आउछौं । हामीसँग अजेय शक्ति, एउटा बिशाल शक्ति सञ्चय गरेका छौं । ४० औं वर्ष यो कम्युनिस्ट आन्दोलनमा बिताएका हजारौं नेताहरु हामीसँग छन् ।
लाखौंको संख्यामा युवाहरु हामीसँग छन् । संघर्षका सबैखाले रुपहरुको अनुभव भएको एउटा विशाल फौज हामीसँग छ । हामीले पार्टी एकतालाई टुंग्याएर अभियानका रुपमा हामी गइसकेपछि प्रतिक्रियावादीहरुले हाम्रो विरुद्ध गर्ने गरेका दुश्प्रचारहरु हामी एउटै योजना र अभियानबाट धूलोपीठो पार्न सक्छौं । यो विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु । हामीले त्यसो गर्नैपर्छ हामीसँग अर्को कुनै विकल्प छैन । हामी त्यही बाटोमा जानैपर्छ र जान्छौं । हामीलाई थाहा छ, हिजो कति ठूला घेरा र षडयन्त्र तोडेर यहाँसम्म आइपुगेका छौं । अहिले भइरहेका दुश्प्रचारहरु त हाम्रा लागि दूधभात नै हो, मज्जाले पचाउँछौं ।
सरकारको कुरा
सरकारको कुरा पनि आएको छ । हाम्रो यहाँ समस्या के छ भने, रणनीतिक कामहरु गर्‍यो भने तत्कालीन काम छुट्ने । तत्कालीन काम गर्‍यो भने रणनीतिक काम छुट्ने र एकांगी हुने खतरा हामीले भोग्दै आएका छौं । हामीकहाँ लडाइ जनताले र पार्टीले गर्छन् र त्यो आन्दोलन रोक्नको लागि पूरानो नेतृत्वको बलमा पूरानेा संरचनाले असहयोग गर्छ । सात सालमा राणा शाहीको विरुद्ध चलेको आन्दोलन दबाउनका लागि उनीहरुको प्रशासनले आन्दोलनकारीमाथि सकेको दमन गर्न खोजेकै हो । ०४६ मा आन्दोलनकारीमाथि राजाको प्रशासनले रोक्न बल गरेकै हो । यही कुरा पछि पनि भएकै हो । परिवर्तन कार्यन्वयन गर्ने बेला पुराना कर्मचारीतन्त्रका हाकिमहरु बदलिएनन् ।
ऐन नियम कानुन मिल्दैन हजुर भन्दाभन्दै आन्दोलनबाट आएका नेताहरुको दिमाग खराब गर्ने काम तिनै कर्मचारीले गर्छन् । केही वर्षको संगतपछि त नेता नै कर्मचारी जस्तो भएर निस्किन्छ । अनि आन्दोलनका उपलव्धी पनि गुम्ने गरेका छन् नि । तपाई हामी सबैले बिचार गर्नुपर्ने कुरा हो ।
योपटक हाम्रो कमरेड केपी ओलीसँग मेरो लगातार कुरा हुने गर्छ । कमरेड माधव नेपाललगायत उहाँको टिमसँग पनि मेरो कुरा हुने गर्छ । अहिले त हामीले खाली सामान्य राजनीतिक परिवर्तन गरेकोमात्र होइन, सिस्टम परिवर्तन गरेको हो । गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशिता जस्ता कुरा सामान्य राजनीतिक हेरफेरमात्र होइनन् ।
संविधानमा सबै मौलिक अधिकार लेखिएका छन् । दुनियाँको संविधानमा यति धेरै अधिकार छैनन् । तर, लागु गर्ने बेलामा पुरानो कर्मचारीतन्त्र बाधक हुन्छ । प्रदेशमा कर्मचारी जान मान्दैनन् । सिंहदरबारभित्रै बस्न खोज्छन् । अधिकार तल दिने भनेपछि पसिना आउँछ, माथि नै राख्न खोज्छन् ।
मलाई याद आउछ, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलजीले संविधानसभामा मेरो नेतृत्वमा समस्या समाधान समितिको बैठक बस्दा उहाँ दिक्क मानेर ‘यो के के भाउँतो ल्याउनुभयो’ तपाईहरुले भन्नुहुन्थ्यो । भाउँतो ल्याइएको भन्ने ठान्नुभएछ क्या उहाँले । यो भाउँतोलाई के गरी असफल बनाउने भन्ने दिमाग भएपछि लागु हुन्छ त अब ?
त्यसकारण, यो कर्मचारीतन्त्रलाई पनि अहिलेको परिवर्तन बुझाउनुपर्‍यो क्या । नेताहरुले, पार्टीले कर्मचारीलाई यो परिवर्तनको ऐतिहासिक महत्व बुझाउनुपर्छ । यसले जनताको हित कसरी गर्छ भनेर कर्मचारीलाई बुझाउनुपर्छ । कर्मचारीलाई मेरो आरोप होइन । उनीहरु त बिचरा लडेका होइनन् नि ।
आरोप भन्दा पनि उहाँहरु त दमन गर्न भनेर बस्नुभएको हो नि । उहाँहरुलाई हामीले सिकाउनुपर्ने । तर, अहिले त कर्मचारीले नेतालाई सिकाउन थाले । अस्ति चितवनमा गएको थिएँ । राष्ट्रिय निकुन्ज सम्बन्धी ऐन रहेछ २०२९ सालको । त्यतिबेलाको ऐनले मान्छेलाई हेरेको रहेनछन् । त्यो माडी भन्ने ठाउँ नै त्यतिबेला बनेको थिएन । मान्छे नबसेकाले जनावरको सुरक्षामात्र हेरियो । अब ऐनहरु समयानुकुल बदल्नुपर्छ ।
एउटा कुराचाहिँ छातिमा हात राखेर भन्नुपर्दा तपाई हामी सबै अलिकति बिग्रेका छौं नि आजभोलि । बिगि्रएकाहरुको एकता पनि हो नि यो यो पार्टी एकता । सप्रेकामात्रको एकता होइन । हाम्रो कार्यशैली, आचरण बिगि्रएको छ । हिजोको जस्तो समर्पण त हामीले त्यागेकै हो नि । सबै चिज मेरा लागि, सबैले मेरा लागि काम गर्दिनुपर्छ भन्ने प्रवृत्ति बढ्दै गएको छ ।
हामीले पार्टी एकतालाई एकतामात्र होइन, कार्यशैलीमा सुधार, आचार व्यवहारमा पनि सुधार, एक्काइसौं शताब्दीमा समाजवाद लागु गर्न नयाँ ढंगको पार्टी बनाउने गरि जानुपर्छ । पुरानो धर्मशास्त्र पढेजस्तो हाम्रो त यो हो भनेर बिहान शंख घण्ट बजाएजस्तो अब हुँदैन । हाम्रो सबै क्षेत्रमा सुधार गर्नुपर्ने भएको छ ।
हामीले नयाँ ढंगको पार्टी बनाउने हो । यहीखालको प्रतिस्पर्धाबाट जनताको मन जितेर समाजवाद ल्याउने हो । हामीले हिजोको रसियाको मोडल पनि अब काम गर्नेवाला छैन । चाइनिज मोडलको नक्कल गरेर पनि हुनेवाला छैन । नेपाली मोडेलको विकास गर्नुपर्ने छ । यसमा हामी धेरै केन्दि्रत हुनुपर्छ । यसो गर्न सकियो भने यो पार्टी महान हुनेवाला छ । ममाथि कतिपयले भन्छन्, प्रचण्ड अस्थिर छ । अस्थिर मान्छेले कहाँ हान्छ थाहा छैन पनि भन्छन् । यसो होइन, म एकदम सोझो मान्छे हो वास्तवमा । गर्दागर्दै कस्तो भइदियो भने..म कुनै बहकाबमा छैन भन्न खोजेको हो ।
(नेकपा अध्यक्ष प्रचण्डले सोमबार बिराटनगरमा आयोजित कार्यकर्ता भेलामा गरेको सम्बोधनको सम्पादित अंश)