के.वि. रानाका कार्यभार

केन्द्र सरकार मातहतमा रहेको धौलागिरी अञ्चल अस्पताल राज्यको पुर्नसंरचनासँगै बनेको प्रदेश सरकार मातहतमा हस्तान्तरण भएपछि पहिलो पटक अस्पताल विकास समिति गठन भएको छ । अस्पतालको भौतिक बिकास तथा प्रशासनिक कामका लागि बनेको अस्पातल विकास समितिबाट आम धौलागिरीबासीले नयाँ आशा राखेका छन् । अञ्चलकै नागरिकको स्वास्थ्य क्षेत्रको आशाको केन्द्रबिन्दु अञ्चल अस्पतामा रहेको चरम बेथितीका कारण आक्रान्त बनेका सर्वसाधारणमा नयाँ बिकास समिति गठन भएपछि नयाँ आशा पलाउनु स्वभाविक हो । पर्याप्त जनशक्तिको दरवन्दी भएर पनि जनशक्ति नहुनु र भौतिक संरचना रहेर पनि त्यसको प्रयोगबाट सर्वसाधारणले सुबिधा उपभोग गर्न नपाउनुले जुनखालको निरासाको वातावरण सिर्जना भएको थियो त्यो निरासा हराउने आशामा सर्वसाधारण छन् । रिफर सेन्टरको रुपमा बिकास भैरहेको अञ्चल अस्पतालमा आएको नयाँ बिकास समितिले जनताको बिचमा रहेका निराशालाई चिरेर नयाँ आशाको पालुवा निकाल्न आवश्यक छ । प्रदेश सरकारले गठन गरेको पहिलो बिकास समितिमा लामो समय गैह्रसरकारी संस्थाको क्षेत्रमा काम गरेर अनुभव बटुलेका केवी राना मगरलाई अध्यक्ष बनाउँदा गैह्रसरकारी संस्थाहरुले बागलुङमा पाएको सफलताका कारण सर्वसाधारणमा थप आशा र भरोसा छ ।
समन्वय र सहकार्यलाई आत्मसाथ गर्दै सहभागितात्मक बिकासमा काम गरिहेका गैरसरकारी संस्थाका कारण त्यही क्षेत्रमा लामो अनुभव भएका रानाले अस्पतालको बिकासमा सोही पद्धती अपनाउने कतिपयको बिश्वास छ । अस्पताल बिकास समितिमा भएको नियुक्ती राजनीतिक नियुक्ती हुँदा–हुँदै पनि सक्रिय राजनीति भन्दा सामाजिक क्षेत्रका व्यक्तिलाई बिकास समितिको अध्यक्षमा नियुक्त गरेका कारण आशाहरु बढेर गएका हुन् । बिकास समितिको अध्यक्ष रानाले आँफु मात्रै नभएर बिकास समितिका सदस्यहरुमा सक्रिय राजनीतिमा लागेका भन्दा सामाजिक क्षेत्रमा काम गरेका हरुलाई प्राथमिकतामा राखेर मनोनित गरेका छन् । त्यसमा पनि युवा पुस्ता प्राथमिकतामा परेका छन् जुन कुरा अर्को आशा लाग्दो बिषय हो ।
आफ्नो कार्याकालको सुरुवाती अस्पतालको सरसफाईबाट सुरु गरेको बिकास समितिले अस्पतालमा रहेका बेथितीहरुको अन्त्यका लागि पनि सरसफाई अभियान चलाउन आवश्यक छ । अनावश्यक रुपमा यसभन्दा पहिलेका बिकास समितिले नियुक्त गरेका कर्मचारी, करार सेवाका कर्मचारी र आयोग लडेर स्थायी सेवामा आएका कर्मचारी तथा विकास समितिको बीचमा समन्वय गरेर आफ्ना काम कार्वाहीलाई अगाडि बढाउने र जनतालाई भरोसाको केन्द्र बनाउने काम बिकास समितिको पहिलो काम हुने छ । दरबन्दी भएर पनि अस्पतालमा चिकित्सक नहुँदा लामो समय सम्म सर्वसाधारणले भोगेको सास्तीलाई कम गर्न दरबन्दी अनुसारका चिकित्सक उपलव्ध गराउन पहल गर्नु अर्को महत्वपुर्ण कार्यभार हुने छ । अस्पताको भवन निर्माण थालेको दशौं बर्षसम्म पनि केही भवन अलपत्र छन् । ती भवनहरुलाई समयमा नै पुरा गर्नु तेस्रो कार्यभार हुने छ । सुरुवाती राम्रो गरेको बिकास समितिले केही दिन पहिला जिल्लाका सांसदहरुलाई राखेरै अस्पतालको सुधारका लागि थालेको पहलले आम सर्वसाधारणमा पलाएको आशा निरासामा परिणत नहोस् । नाम जस्तै अञ्चलभरिका बिरामीको उपचार केन्द्र धौलागिरी अञ्चल अस्पताल बनोस् । अस्पतालको सुधारका लागि चौतर्फी पहल र दवाव सिर्जना गरौं ।