फ्रान्सको नेपाल सम्झाउने उपत्यका ‘रमणीय पासी’

व्यवस्थित योजनाः विकासको पहिलो पाइलो

फ्रान्सको चर्चित श्वेत हिम श्रृंखला (मो ब्लोँ)को काखैमा रहेको रमणीय पासी उपत्यका पुग्दा पोखरा र हिमाल छेउछाउका नेपाली उपत्यका पुगेको अनुभूति हुन्छ। दक्षिणी फ्रान्सको स्वीट्जरल्याण्डको नजिकै रहेको यो पासी उपत्यकाको बीचमा रहेको ताल, त्यस वरपरका गाईगोठहरु र सुन्दर तरीकाले जोगाइएका हरिया रुखबुट्यानहरुले मनमोहक बनाएका छन्।
समुद्रि सतहबाट ५४४ मिटरदेखि २ हजार ९ सय १ फिटसम्मको उचाइमा ८ हजार तीन वर्ग किलोमिटरमा फैलिएको छ। ११ हजारको बसोबास रहेको यो भेकको मूल पेशा कृषि र पर्यटन हो। चर्चित वैज्ञानिक म्याडम क्यूरीको निधन भएको कारणले चर्चित यो स्थानमा चिन्तक भिक्टोर ह्यूगो पुगेर प्रवचन दिएका हुनाले चर्चित त छँदैछ। उनीहरुसँग सम्बन्धित स्थलहरुको सँरक्षण पनि गरिएको छ।
रोमन साम्राज्यको समयमा व्यवस्थित बसोबासको थालनी गरिएको पासी व्यवस्थित बसोबास, स्वस्थ र योजनावद्ध वस्ती विकास, कृषिको आधुनिकीकरणसँगै पुराना वस्तुहरुको सँरक्षणको निम्ति फ्रान्समा मात्र हैन युरोपभरीकै कहलिएको गाउँ भएको छ।
व्यवस्थित योजनाः विकासको पहिलो पाइलो
केन्द्र सरकार र स्थानीय सरकारले निकै चासोका साथ हेरिरहेको पासी बिसौँ शताब्दीमा वरपरका गाउँहरु मिलेर सिँगो वस्तीको रुपमा अगाढि बढाउने अवधारणाले दुइसाना स्थानीय निकायको एकीकरण भयो। यो अवधारणा ल्याउने पुराना शिक्षकहरु थिए। उनीहरुले पासी क्षेत्रको भविष्यको राम्रो सपना बुनेका थिए। उनीहरु राजनीतिमा आए र जनताहरुलाई पासीप्रति आशावादी बनाए। र, वृहत्त पासी क्षेत्रको पर्यटकीय योजना बनाए। घरघरबाट योजना मागे। सबैका विचारलाई एकतावद्ध बनाएर योजनाविद्हरुलाई बुझाइदिए। शहरको योजना सम्बन्धी पढेका विद्वानहरुको टोली बन्यो। नेताहरुले उनीहरुलाई स्वतन्त्र रुपमा काम गर्न छोडिदिए।
उसबेला राजनीति गर्ने नेताका पनि आफ्नै समस्या थिए होलान् ? योजना पार्दा आफ्नो क्षेत्रमा मात्र पारे होलान् कि ? भनी सोध्दा स्थानीय नागरिक फोँस्वाले भने, अहँ उनीहरुले योजनाविद्लाई जिम्मा छोडिदिए। राम्रा इन्जिनियर, योजना बनाउने दक्ष जनशक्तिको योजना अनुसार काम अघि बढ्यो। पासी क्षेत्रको विकास सबैको साझा स्वार्थ बन्यो।
उनीहरुले केन्द्रीय बाटोसँग पासिलाई जोड्ने पहिलो योजना बनाए। हाइवे बन्यो। सहायक बाटाहरु बने। बाटाले नछोएका कुनै घर भएनन्। पर्यटकीय क्षेत्रको अवधारणा भएकोले उद्योगधन्दाको निम्ति छुट्टै क्षेत्र तोकियो। सरकारले तोकेको मापदण्ड पुरा भएनभएको हेर्न जनप्रतिनिधि र प्राविधिकहरुको टोली बन्यो।
नयाँ योजनावद्ध निर्माण र पुराना चिजहरुको सँरक्षण
नयाँ बनेका बगैँचा, पाटीपौवा, पुलपुलेसा मात्र होइन, पासी क्षेत्रमा नयाँ बनाइने घरगोठहरुको पनि कडा मापदण्ड बनाइयो। पुरानो गाउँको झल्को दिने खालका समितिले तोकेको मापदण्डको आधारमा घर बनाइनुपर्ने, जहाँपायो त्यही बस्ती बस्न नपाइने, हिउँ परेका बेला चिप्लेटी खेल्ने ठाउँहरुमा घडेरी बनाउन नपाइने, सार्वजनिक जग्गाको उचित व्यवस्थापन जनप्रतिनिधिहरुको समितिले गर्ने गरी कानून बन्यो। कानून बनेन मात्रै, यसको कडाइका साथ पालन भयो।
विज्ञानका दुइवटा फरक विषयमा नोबेल पुरस्कार पाउन सफल पोल्याण्डमा जन्मेर फ्रान्समा बसोबास गरेकी म्याडम क्यूरी यहीँ आउँदा बितेकी थिइन्। उनी बितेको ठाउँ, उनको शबलाई राखिएको गिर्जाघर लगायत उनी शोधमा सँलग्न सँस्थाहरु सबैको उचित सँरक्षण गरिएको छ। बीचको तलाउलाई प्राकृतिक रुपमै सजाइएको छ। काठका बस्ने ठेउका छन् तर सिमेन्टको मनपरी प्रयोग भएको छैन। श्वेत हिमालको छायाँ तालमा पर्दा ठ्याक्कै फेवातालमा जस्तो देखिन्छ यहाँ। तालमा नौका बिहारको पनि व्यवस्था छ। वस्तीको बीचबाट खोलो बग्छ। खोलोको पनि उचित व्यवस्थापन गरिएको छ।
वृद्धहरुको सम्मान र केटाकेटीको संरक्षण
लामो अभ्यासपछि जनप्रतिनिधिहरुको नगरपालिकाले वृद्धहरुको लागि उचित बसोबासको व्यवस्था मिलाएको छ। तातोचिसो पानी, सफा कोठाहरु, बिरामी हुँदा स्याहार गर्ने नर्ससहित वृद्धहरु बस्ने आवासहरु बनेका छन्। नयाँ थपिएका छन्। बूढाबूढीहरुलाई नगर समितिले सम्मान गरेकोछ। झिजो मानेको छैन। केटाकेटी युवाहरुलाई भाषा, सँगीत, खेलकूदमा पारँगत बनाउन योजना बनाएको छ। सजिलै क्लब र समितिहरु बनेका छन्।
नेपालमा जस्तो विदेशिनेहरु होलान् कि ? मैले बाटोमा भेटिएकी सिल्भियालाई सोधेँ। उनले भनिन्, पढाइमा राम्रो गर्नेहरु र जीवनका महत्वकाँक्षा बोक्नेहरु जन्मेको ठाउँ छोड्ने कुरा सामान्य हो। तर परिवार त यहीँ छन्। आवतजावत सामान्य हो। आफ्नो गाउँ बनाउन आफ्नै गाउँमै बस्नुपर्छ भन्ने छैन। बसाइसराइ त मान्छेको विकासमा हुने कुरा नै हुन्।
हिउँ परेका बेला  सँसारैभरीबाट चिप्लेटी खेल्न आउने ठाउँ बनाएकाछन् पासीवासीहरुले। कसरी हुन्छ बाहिरका मानिसहरु आएर यहाँ पैसा खर्च गरुन् भनेर दूधबाट बन्ने परिकारहरुको बेपारीकरण गरेका छन्। नगरपालिकाको सिफारिशमा बैँकले निब्र्याजी जस्तै ऋण सहुलियत दिन्छ। किसानहरुका उत्पादनको पनि बिमा हुन्छ। गाई मरेर किसानले पुर्पुरो समाउनुपर्दैन। नत असिनाले बाली फाँडेर सत्यानाश भयो भन्नुपर्छ। किसानहरु नहुने हो भने पासी रहन्न भन्ने सबैको भनाइ छ।