बडिगाड खोलामा बनेको ‘तुरतुरे ताल’ जोगाउने तयारी

प्रभावितको व्यवस्थापन गर्न स्थानियको सुझाव

बागलुङ, २१ कात्तिक – गत भदौमा खसेको पहिरोले बडिगाड खोला थुनिएर बनेको तुरतुरे ताल जोगाउन गाउँपालिका तहमा छलफल शुरु भएको छ । आन्तरिक पर्यटकहरुको लर्को लाग्न थालेपछि ताल संरक्षण गरेर पर्यटकीय गन्तव्य बनाउन जनप्रतिनिधि र स्थानीयबासिन्दाबीच छलफल भएको हो । पहिरोले बडिगाड खोला थुनेपछि ताल बनेको थियो । ओभरफ्लो भएको पानी नियमित बगेपछि सफा र आर्कषक तालको रुपमा देखिएको छ । शुरुमा डरलाग्दो मानिएको यो ताल दुइ महिनामै पर्यटकीय गन्त्व्य जस्तो बन्न थालेको छ । पहिरोले अवरुद्ध लोकमार्ग एक महिनापछि खुलाईयो । पूर्ण सुरक्षित नभएपनि एकतर्फी रुपमा यो सडक संचालन भएको छ । थुनिएको खोला खुलाउन आएको सेनाको विज्ञ टोलीले बर्षातमा नखोल्ने सुझाव दिएको थियो । ठूला ढुंगा आएर थुनिएकोले पानीको बहावले फुटाल्ने संभावना नदेखेर सेनाको टोली फर्केपछि स्थानीयले यो ताललाई पर्यटक आर्कषण गर्ने स्थलको रुपमा बिकास गरेका छन् ।
हिउूदमा पानी कम भएको बेला फुटाल्ने निष्कर्ष निकालेको सेनाको टोलीलाई पनि ताल सुरक्षित राख्ने बारे आग्रह गर्ने निष्कर्षमा पुगेको गाउूपालिका अध्यक्ष मेयरसिंह पाईजाले बताए । गाउूपालिकाको बैठक तथा अन्य सामाजिक संघसंस्थाको बैठकमा पनि ताल जोगाएर राख्ने छलफल शुरु भएको हो । ‘गाउूपालिका र स्थनीय बासिन्दाहरु ९९ प्रतिशतले ताल जोगाएर पर्यटक भित्राउने सुझाव दिएका छन्’ पाईजाले भने, ‘अहिले पनि दैनिक ५ सय जना सम्मले अबलोकन गरिरहेका छन् ।’ आएकाहरुको लागत राख्ने, व्यवस्थित बनाएर तालमा डुंगा सयरको व्यवस्था मिलाउने तयारी गरेको उनले बताए । मंसिर पहिलो साता यो ताल नजिकै न्वागी मेला लाग्दैछ । उक्त मेलाको आर्कषणकै रुपमा ताललाई लिइएको छ । गाउूपालिकाले तालमा डुंगा सयर गराउने योजना बनाएको उनले बताए । झण्डै ३० देखि ४० मीटर गहिरो र झण्डै डेढ किमी लामो यो ताल हेर्नेको दैनिक भीड लाग्न थालेको छ । तालको नजिकै लोकमार्ग छ । दैनिक सयौं मानिसले यात्रा गर्ने भएकोले तालको छेउमा रेष्टुरेन्ट संचालन गर्न सकिने, डुंगा सयरबाट कमाई बढाउन सकिने स्थानीय बुझाई छ ।