यातायातमा सिण्डिकेट तोडिएपछि फेरीएको मुस्ताङ

आफ्नै सवारीमा आन्तरीक पर्यटकको ओईरो

बागलुङ, २१ कार्तिक–भ्रमणको उत्तम समय भएकाले यतिबेला मुस्ताङका होटलहरु भरिभराउ छन् । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण मुस्ताङका व्यवसायीहरुलाई भ्याईनभ्याई भएको छ । मुस्ताङ घुम्नको लागि उपयुक्त मानिने असोजदेखी मंसिर सम्ममा यहाँका प्रकृतिक तथा धार्मिक सम्पदा घुम्न आउने पर्यटकको घुईंचो लाग्ने गरेको छ । केही बर्ष पहिलासम्म पदयात्राममा आउने र धार्मिक यात्रामा आउने पर्यटक मात्रै देखिने मुस्ताङमा दुई बर्ष यता भने मुस्ताङको प्राकृतिक सौन्दर्यता हेर्न आउने पर्यटकको संख्या ह्वात्तै वढेको छ ।
दशैं, तिहार, छठ लगायतका पर्वको समयमा बिद्यालयहरु बन्द रहेकाले बिद्यार्थीदेखी पारिवारिक घुमघामा निस्किनेहरु पनि मुस्ताङ पुगेका छन् । जोमसोम बजारका व्यवसायीका अनुसार पछिल्लो समय बाह्य भन्दा कयौं गुना आन्तरिक पर्यटकको संख्या बढेको छ । दुई बर्ष पहिलासम्म मुस्ताङ जिल्लाभित्र सवारीमा रहेको एकाधिकार तोडिएपछि आन्तरीक पर्यटकको संख्या ह्वात्तै बढेको मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र शेरचनले बताए । ‘पहिले ट्रेकिङमा आउने र मुक्तिनाथ दर्शन गर्न आउने मात्रै पर्यटकको रुपमा मुस्ताङ भित्रिने गरेका थिए’ शेरचनल भने– ‘यातायात क्षेत्रमा रहेको एकाधिकार तोडिएपछि आन्तरिक पर्यटकको संख्या कयौं गुणाले बढेको छ ।’ दुई बर्ष पहिलासम्म यातायात क्षेत्रको एकाधिकारका कारण मुस्ताङ आउने पर्यटकलाई असहज भएको व्यवसायीहरुले महशुस गर्न थालेका छन् । आफ्नै सावारी साधन लिएर निर्वाध मुस्ताङको प्राकृतिक छटामा रमाउन पाउने भएपछि आन्तरिक पर्यटकको ओईरो लागेको शेरचनको भनाई छ । ‘सवारीमा एकाधिकारले मुस्ताङको ढोका बन्द गरेको रहेछ, एकाधिकार तोडिएपछि अहिले त थामी नसक्नु पर्यटक मुस्ताङ भित्रिएका छन्’ शेरचनले भने । दुई बर्ष पहिलासम्म देशका बिभिन्न ठाउँबाट मुस्ताङ घुम्न आउने पर्यटकहरुले मुस्ताङको घाँसादेखी अनिवार्य मुस्ताङका यातायात व्यवसायीका सवारी साधनको प्रयोग गर्नुपर्ने व्यवस्था थियो ।
एकाध मुस्ताङ बाहिरका सावारी साधनले प्रबेश पाउने गरेको भएपनि अनुमति लिनुपर्ने झण्झटिलो प्रकृयाका कारण मुस्ताङ बाहिरका सवारी निकै कम मात्रामा भित्रिने गरेका थिए । मुस्ताङ घुम्नको लागि बर्षमा दुई सिजन उपयुक्त मानिने गरेका छन् । चैत्र महिनादेखी जेठ महिना सम्मको समय र असोजदेखी मंसिर सम्मको समय मुस्ताङ घुम्नका लागि उपयुक्त समय हुन् । यतिबेला मुस्ताङमा दैनिक ४ हजारदेखी ८ हजारसम्म पर्यटक भित्रिएका छन् । मुक्तिनाथ दर्शन गर्न आउने आन्तरिक तथा भारतीय पर्यटक र पदयात्रामा आउने पर्यटकका कारण मुस्ताङका सबै होटल भरिभराउ छन् । म्याग्दीको सिमानासँग जोडिएको घाँसादेखी चिनको सिमानासँग जोडिएको लोमान्थाङसम्म रहेका मुख्य बजारहरुमा मुस्ताङका व्यवसायीहरुले होटल तथा लजको व्यवसाय गर्दै आएका छन् । जिल्लाभरिका मुख्य बजारहरुमा २ सय ५५ बटा होटल रहेको मुस्ताङ उद्योग बाणिज्य संघको तथ्याङ्कमा छ । ‘एक सय जनाभन्दा धेरै पर्यटक राख्ने आठ दशवटा होटल मात्रै हामीसँग छन्, बाँकी सबै ४० देखी ५० जना क्षमताका छन्’ शेरचनले भने ‘ पर्यटको संख्या बढेअनुसारको बासस्थानको व्यवस्था मिलाउन कठिन हुने गरेको छ ।’ मुस्ताङ पुग्ने आन्तरिक पर्यटका कारण यहाँको अन्य व्यवसायमा समेत फाईदा पुगेको स्थानिय बताउँछन् । स्थानिय उत्पादन स्याउ, फापरको पिठो, आलु लगायतका उत्पादनको बिक्री वितरण बढेको छ ।