मुस्ताङको जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन

मुस्ताङ, २१ कार्तिक– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठन भित्रको व्यावसायिक मर्यादामा आँच पु¥याउने गतिविधि सह्य नहुने बताएका छन् । सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिए । “इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य गरेर काम गनुपर्छ,” उनले भने । जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्यामो गुरुङले जिल्लामा ट्राफिक प्रहरीको छुट्टै कार्यालय स्थापनाको माग गरे । प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले पाँच दशकपछि नयाँ पक्की भवन निर्माण भएकामा खुशी व्यक्त गरे ।
प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काका अनुसार रु दुई करोड ५४ लाखको लागतमा निर्माण भएको उक्त भवनमा २२ कोठा छन् । यसैगरी, चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको प्रवेशविन्दु मानिएको बेनी नगरपालिका–९ गलेश्वरमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको छ । कुश्मास्थित चण्डिका गणअन्तर्गत प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सो गुल्मको स्थापना गरिएको हो । गुल्ममा हाल ३५ प्रहरी खटिएका छन् । भौतिक पूर्वाधार निर्माण गरी जनशक्ति थप गरिने प्रहरी नायब उपरीक्षक अर्जुन कार्कीले बताए । यसअघि जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति थिएन । पर्वतको कुश्मास्थित गणले नै सुरक्षा गतिविधि सञ्चालन गर्दै आएको थियो ।