बागलुङमा हिउँदे घाँस उत्पादन घट्यो

प्राविधिक सहयोग र अनुदान काटिँदा किसानलाई समस्या

बागलुङ, २१ कार्तिक–हिउँदको समयमा पशुबस्तुलाई खुवाउने जै घाँस उत्पादनमा बागलुङको नाम अग्रणी थियो । केही बर्षदेखि भने उत्पादन खस्कन थालेको छ । यहाँका किसानले तीसबर्ष अघिदेखि जै घाँसको व्यवसायिक उत्पादन थालेका थिए । घाँस उत्पादन गरेर पोखरा, भैरहवा र धौलागिरीका सबै क्षेत्रमा पठाउने समेत गर्थे । तर केही बर्ष यता प्राविधिक सहयोग नपाएको र किसानले पाउने अनुदान नभएपछि उत्पादन घटेको अगुवा किसान गोबिन्द पौडेलले बताए । बागलुङ नगरपालिका–४ कुँडुले र अमलाचौरलाई घाँस उत्पादनको पकेट क्षेत्र मानिन्थ्यो । यहाँका नरहरी सापकोटा, डिल्ली सापकोटा र शशिधर आचार्य लगायतले व्यवसायिक घाँस उत्पादन गर्दै आएका थिए ।
२०४७ देखि हरेक बर्ष १० मेट्रिकटनसम्म घाँस बिक्री हुने गरेको थियो । दुई बर्षदेखि जिल्लामा प्रविधि, मल र उपचारका लागि साथ दिने कोही नपाएको उनले गुनासो गरे । हरेक बर्ष उत्पादन क्षमता र दर कम भएको पौडेलले बताए । जिल्ला पशु सेवा कार्यालयमा बजेट र कार्यक्रम आउन छाडेपछि उनीहरुले प्राविधिक सहयोग पनि नपाएका हुन् । ‘काम त गरिरहेका छौं, तर पहिला प्राविधिक सहयोग पाइन्थ्यो, अहिले वास्तै हुँदैन’ पौडेलले भने, ‘नगरपालिकाले कृषि क्षेत्रलाई वास्तै गरेको छैन ।’ अघिल्लो बर्ष बजेट शुन्य हुँदा किसानले पशुहरुको कृतिम गर्भाधान समेत गराउन पाएका थिएनन् । यो बर्ष पनि कृषिक्षेत्र हेर्नेगरी बजेट र कार्यक्रम नभएको उनीहरुले गुनसो गरे । तत्कालिन पशुसेवा कार्यालयमा हाल भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्र स्थापना भएको छ ।
चालु बर्षको चार महिना सकिंदासम्म कार्यक्रम र बजेट नआएपछि काम के गर्ने भन्ने अन्यौल भएको पशुस्वास्थ्य प्राविधिक केशब पौडेलले बताए । ‘किसानले राम्रो गरेका छन्, प्राविधिक सहयोग गर्न सकिएको छैन’ पौडेलले भने, ‘उत्पादन खस्केकोले निरास किसानलाई स्थानीय तहले सहयोग गर्नुपर्छ ।’ समन्वय अभावमा घाँसको बीउ समेत बिचौलीयाले खरिद गरेर किसानलाई ठगेको उनले आरोप लगाए । कार्यालयले व्यवस्थित रुपमा बिक्री र बजारीकरणको व्यवस्थापन गरिदिएको थियो । अहिले किसानको घर–घरबाट बिक्री हुन्छ । घरघरबाट बिक्री गर्दा मूल्य पाउन नसकेको किसानले गुनासो गरेका छन् । यहाँ जै र भेज घाँस उत्पादन हुन्छ । भेज घाँसको मूल्य राम्रो पाउने भएपनि उत्पादन घटेको छ ।
जै घाँसको बीउ प्रतिकेजी ६० र भेजको प्रतिकेजी २ सय रुपैयाँ पर्छ । भेज घाँसमा प्रोटिनको मात्रा बढी पाईने भएकोले दूध उत्पादन पनि बढी हुन्छ । व्यवसायिक गाई र भैसी पालेका किसानले घाँसको खोजी गर्छन् । यसअघि बागलुङको अमलाचौर घाँस विकास केन्द्र र मुक्तिनाथ घाँस विकास समितिमार्फत जिल्लालाई पु¥याएर लाखौं रुपैयाँको बाहिर पठाउने गर्थे । युवा पलायनले कामदार अभाव भएपछि उत्पादन गर्न नसकिएको शसिधर आचार्यले बताए । ‘काम गर्ने कोही छैन, बुढाबुढीले कति गर्न सकिन्छ र ?’ आचार्यले भने, ‘युवाहरुले काम सिकेनन् भने केही बर्षमा पहिचान बनेको घाँस उत्पादन घटेर हामीनै किनेर ल्याउनेमा पुग्छौं ।’ पशुपालनको संख्या पनि घटेपछि घाँसको माग घटेको हो । पर्वतको पाङमा समेत यहाँका किसानले जमिन खरिद गरेर उत्पादन गरेको घाँस अहिले शुन्यमा झरी सकेको उनले बताए ।