आन्तरीक पर्यटकले बलेवामा चहलपहल बढ्यो

सहजताका लागि छुट्टै जिप पार्क

बागलुङ, २१ कार्तिक– छिमेकी पर्वतको कुश्मा जोड्ने कैयाको अग्लो पुल हेर्न आउने पर्यटकका लागि छुट्टै जिपपार्क बनेको छ । दक्षिण बागलुङ र छिमेकी जिल्लाका पर्यटक घुम्न आउने क्रम बढेपछि कुश्मा कैया झोलुंगेपुल नजिकै जिपपार्क बनाईएको हो । कोरिडोर छाडेर ३ किमी पूर्वको कैयामा दैनिक १० देखि १५ वटासम्म जिप आएर फर्कने गरेका हुन् । अग्लो पुलकै कारण कुश्मीसेरा लगायतका दक्षिणी क्षेत्रमा यात्रा गर्न बाटो छोटिएकोले जिपले अग्लो पुल नजिकै पार्क बनाएका हुन् । पर्यटकले अग्ला पुलहरुको अवलोकन गरेपछि खाजाको व्यवस्थापन गर्न थालेपछि ग्रामीण बस्तीमा होटल र किराना पसल पनि फस्टाएका छन् । दैनिक सयौं मानिस आएर ओर्लन्छन् ।
पुलको अवलोकनपछि जिप लिएरै फर्कनेहरु धेरै छन् । ‘कोरिडोरको बाटोहुँदै यहाँ आउने धेरै छन्’ बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले भने, ‘बनभोजका लागि ठाउँ खोज्ने पनि बढेका छन् ।’ कुश्मा तर्फका मानिसले अग्लो पुलबाटै सामान ओसारपसार गर्छन् भने बागलुङ तर्फका मानिसले जिपमा सामान ओसार्छन् । पुलकै कारण बलेवाहुँदै मालढुंगा जाने यात्रीले पनि छोटो बाटोको रुपमा कैयाको बाटो रोज्न थालेका छन् । बलेवामै हवाईजहाज चल्न थालेपछि बिमानस्थलसम्मै घुम्न आउनेको संख्या पनि बढेको छ । पर्यटक बढ्दा जिपका यात्री बढेका हुन् । ‘लामो बाटो समयमा गाडी पाईदैन, छोटो र सजिलै गाडी पाउनका लागि कैयाको बाटो रोजें’ गैरसरकारी संस्थाको काममा हिडेकी पुतली थापाले भनिन्, ‘बिहान र बेलुकीको समयमा मात्र पाईने सवारी कुर्नभन्दा अग्लो पुलको बाटो हिड्दा जतिबेला पनि पाइन्छ ।’ बागलुङदेखि ४५ रुपैयाँ भाडामा कुश्मा पुगेपछि अग्लो पुल तर्दा २ सय रुपैयाँ भाडा पनि जोगिएको उनले बताईन् । दक्षिण बागलुङको जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र गुल्मीका केही खण्डमा यात्रा गर्नेले पनि अग्लो पुल तरेर जिप खोज्ने गर्छन् । सदरमुकामदेखि यात्रा गर्दा उक्त जिपपार्क पुग्न २ सय रुपैयाँ भाडा लाग्छ । दुरी छोटो र नियमित यात्री पाइने भएपछि चालकले पनि कैयामा जिपपार्क बनाएको बताए । जिप चल्न थालेपछि यहाँ चालक र यात्रीलाई खाना खुवाउने होटल र रेष्टुरेष्ट पनि खुलेका छन् ।
‘पहिला सामान किन्नु पर्दा डेढ घण्टा लगाएर कुश्मा जानुपथ्यो’ कैयाकै सन्तोष पौडेलले भने, ‘अहिले गाउँमा सबै सामान पाइने पसल खुलेका छन् ।’ गाउँमै जिप आएकोले थोक सामान खरिद गर्न सजिलो भएको समेत व्यवसायीले बताए । नियमित जिप चल्ने र अग्लो पुल घुम्न आउने पर्यटक बढेपछि बलेवास्थित कैया, चौर, कोलपाटा र नेपानेमा जग्गाको मूल्य पनि आकासिएको छ । घडेरी खोज्दै आउनेहरुले चाहेजति मूल्य तिर्न थालेको स्थानीय लक्ष्मी बस्नेतले बताईन् । ‘अहिले मूल्य पाएको बेला बेचिहालौं भन्ने धेरै छन्’ बस्नेतले भनिन्, ‘केहीले भने मूल्य बढेपनि बिक्री नगरी राख्ने योजना बनाएका छन् ।’ यहाँबाटै यान्त्रिक पुल बनेर दैनिक सयौं मानिस यात्रा गरिरहेका छन् । नेपानेबाट बञ्जीजम्प निर्माण भैरहेको छ । बञ्जीको कारण पर्यटक आगमन बढ्न थालेकोले जग्गाको मूल्य आकासिएको हो ।