न्हू दँ भिन्तुना

प्राचिनकालमा महिनाको गणना चन्द्रमा र वर्षको गणना सूर्यबाट हुन्थ्यो । मानिसहरु चाडपर्व, व्रतको लागि पूर्णिमा या प्रतिपदा कहिले पर्छ, बर्षा कुन महिनामा हून्छ, शरद कहिले आउँछ, कहिले बिऊ हाल्ने हो, कहिले अन्नबाली भित्राउने हो भन्ने कुराहरु पहिल्यै नै जान्न चाहान्थे । व्रतहरु एवं उत्सवहरु सम्पादन गर्ने उचित समय तथा व्रतबन्ध, विवाह आदि संस्कारिक कार्यको मुहुर्त निकाल्न हामीलाई पंचाग (पात्रो) को आवश्यकता पर्छ । बार, तिथि, नक्षत्र, योग र कारणको लेखालाई प्रत्येक तिथिको पचांग भनिन्छ । कुनै समयमा आफ्नै निश्चित सम्बत चलाउनु स्वतन्त्रता र शक्तिको प्रतिक मानिन्थ्यो । त्यो एक प्रकारको राष्ट्रिय झण्डा जस्तो थियो ।
मानदेव चौथौको छोरा राजा राधवदेवको राज्यकालमा श्री पशुपति भट्टारक सम्वतसार चलाए भन्ने नेपाल वंशावलीमा उल्लेख छ । शंख नामक साख्वा ज्यापूले कालिगताब्द ३९८१ र शाके सम्बत ८०२ मा आफ्ना राजा (राधवदेव) बाट स्वीकृति लिई नेपाल सम्बत १ कायम गरे भनी नेपाल देशको ईतिहास नामक वंशावलीमा उल्लेख गरिएको छ । भद्रमति (बल्खुखोला) र बिष्णुमति नदीको दोभान लखु तिर्थमा, सुवर्ण आकर्षण योग (बार,साईत) परेको बेला बालुवा झिकी ल्याउन गुप्त रुपमा पठाईएको भत्तग्राम बासी भरियाले बोकी ल्याउको खर्पनको बालुवा कान्तिपुरबासी खाख्वा नामको शुद्र जातले भरियाहरुलाई फकाई सो बालुवा किनी राखेको भाषा वंशावलीमा उल्लेख छ । सोही सुनको बालुवाको सम्पत्तिले मुलुक भरीको असामी (ऋणी) ऋणबाट मुक्त गरिएको उपलक्ष्यमा नेपाल सम्वत प्रारम्भ गरिएको हो । यो सम्बत जनस्तरबाट प्रचलनमा ल्याईएको देखिन्छ ।
भारतमा अराजकता छाएको, तिब्वत र चीन आपसी लडाँईले कमजोर भएको र सामन्ती अराजकताले देश विखण्डन भै नेपालका लिच्छवी शासकहरु बिलाएको अवस्था, आखिरमा एउटा निश्चित समयपछि कुहिरो र सबै गोलमाल हट्यो र नयाँ युगको आरम्भ भयो । त्यही नयाँ युगको क्रममा विक्रम सम्बत ९३६ कार्तिक शुक्ल प्रतिपदा इ.सं. ८७९ अक्टोवर २० मा नेपालमा नयाँ सम्बत प्रचलनमा आएको हो । नेपाल सम्बत प्रचलनमा ल्याउने शंखधर साख्वा बौद्ध मार्गी एवं पशुपतिनाथका परमभक्त थिए । पशुपतिनाथको दक्षिण ढोका नजिकै आफ्नो शिलामुर्ति बनाई स्थापित गरी पशुपति घाटमा शंखधरले देहत्याग गरे भनी भाषा वैशावलीमा लेखिएको छ । नेपाल सम्बत नेपालको मौलिक सम्बत हो । नेपालीमा पनि सम्बत सम्बन्धी चेतना रहेको कुरा नेपालीहरुको लागि गौरवको कुरा हो । पृथ्वीनारायण शाहले उपत्यका कब्जा गर्नुअघि नेपाल संवत् ८८८ बर्षसम्म राज्य स्तरमा प्रचलनमा आएको थियो । पृथ्वीनारायण शाहको शासनकालदेखी नेपाल सम्बतलाई राज्यले प्रचलनमा नल्याई शक सम्वत प्रचलनमा ल्याएका थिए । चन्द्र शम्सेर नेपालको प्रधानमन्त्री बनेपछि उनले हाल प्रचलनमा रहेको बिक्रम सम्बत प्रचलनमा ल्याएका हुन् । बिक्रम सम्बत नेपालको राजकीय प्रचलनमा आएको ११० बर्ष जति भएको छ ।
तत्कालिन चीनका राजा तापिभिङले बनेपाको शासकलाई पठाएको फरमान पत्रमा नेपाल सम्बत ५३५ उल्लेख भएको देखिन्छ । तत्कालिन कुच विहारका राजा प्राण नारायणले निकालेको सुवर्ण मुद्रामा नेपाल सम्बत ७५३ उल्लेख छ । राजा प्रतापसिह बीर विक्रम शाहदेवको पालामा भोट (तिब्बत) सितको सन्धी पत्रमा नेपाल सम्बत ८९५ उल्लेख गरिएको छ । उक्त कुराहरुबाट ईतिहासमा नेपाल सम्बतको महिमा झल्कन्छ । नेपाल सरकारले शंखधर साख्वालाई राष्ट्रिय विभूति र नेपाल सम्वतलाई राष्ट्रिय सम्बतको मान्यता दिएको छ । गुल्मी, प्यूठान र लम्जुङको पुरानो हस्त लिखित कागज पत्रहरुमा, नेपालको वंशावलीहरु, घटनावलीहरु, कतिपय नेपाली ग्रन्थ एवं विश्व सम्पदा सूचीमा परेको कतिपय स्थानहरुमा नेपाल सम्बतको उल्लेख रहनुबाट यो सम्बत सबै नेपालीको सम्पदाको रुपमा रहेको देखिन्छ । न्हू दँ भिन्तुना नेपाल भाषा (नेवारी भाषा) को शब्द राखेर नेपाल सम्बतको नयाँ साल प्रारम्भ भएको शुभ कामना शब्दलाई लिएर नेपाल सम्बत नेवारहरु सँग मात्र सम्बन्धित बिषय हो भनेर सोच्नु विषयको अल्पज्ञान हो । नेपाल भाषाको रन्जना लिपी नेपालको राष्ट्रिय लिपीको रुपमा हामीले संयुक्त राष्ट्र संघमा दर्ज गराएका छौ । त्यसर्थ पनि नेपाल सम्बत कुनै समुदाय विशेषको मात्र नभएर सम्पूर्ण नेपालीको मौलिक सम्बत हो । यसमा हामीले गौरव गर्नुपर्छ । नेपाल सम्बत मात्र हैन तत्कालिन समयमा प्रचलित कतिपय भारतीय सम्बतहरुको प्रारम्भिक बर्ष कार्तिक प्रतिपदालाई मानिएको देखिन्छ । नयाँ बर्षको प्रारम्भ भएको दिनलाई शुभ दिन मानिन्छ । त्यहि शुभ दिनको मङगल कामना भिन्तुनाको उत्सवमा रमाऔ, एक आपसमा शुभ कामना भिन्तुनाको आदान प्रदान गरौ । मौलिक नेपाली सम्बतको महत्व कायम गरौ । सबैको भलो होस् ।