आज समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै

आजकै दिन कुवेरसहित समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ

काठमाडौं , २१ कार्तिक– तिहारको मुख्य दिन कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजा । साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा छ । औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको रूपमा यो दिन उनको पूजा–आराधना गरिन्छ । सफासुघ्घर र उज्यालो भएका ठाउँमा लक्ष्मीको प्रवेश हुने विश्वास अनुरूप घरआँगन, कोठाचोटा सफासुघ्घर पारी, लिपपोत गरिन्छ। यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने चलन छ । साँझ भएपछि आँगनदेखि पूजास्थलसम्म लक्ष्मीको पाइला बनाई दीपावली गरिन्छ । दीप–कलश–गणेशको पूजा गरी धनका देवता कुवेरसहित समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई खुशी पार्न श्रीसुक्त पाठ गरिन्छ । विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धन–धान्य र समृद्धि प्राप्त हुने पुराणहरूमा उल्लेख भएको धर्मशास्त्री तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।  पूजा मात्र नभई सत्य, दान, व्रत, तप, धर्म, पराक्रम र सरलता भएका व्यक्तिको घरमा लक्ष्मीले निवास गर्ने बताइन्छ । आलस्य, निन्द्रा, असन्तोष, अधर्म आदि दुर्गुण भएका स्थान लक्ष्मीले छाड्ने पुराणहरूमा उल्लेख छ । यो औँसीलाई सुखरात्रि, दीपमालिका, दीपावली वा दीपोत्सव पनि चिनिन्छ । यो दिनको उत्सवलाई ‘कौमुदी–महोत्सव’ वा ‘कौमोदिनी–महोत्सव’ पनि भनिन्छ । लक्ष्मीपूजा गरेपछि घरघर पुगी कन्याहरूले भैलो गीत गाउने चलन छ । घरपतिको भलो होस् भन्ने कामना गरेर भैलो गाउने चलन चलेको संस्कृतिविद्हरू बताउँछन् । भैलिनीहरूले दिएको आशीर्वाद लाग्छ भन्ने मान्यता छ ।भैलिनीहरूलाई सेलरोटी, मिठाइ, फलफूल र दक्षिणा दिइन्छ । लक्ष्मीको स्वरूप औँसीकै दिन गाईपूजा गर्ने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा मान्यता पाई प्रकाशित पात्रोहरूमा भने बिहीबार गाईपूजा उल्लेख छ । कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा उपयुक्त हुने समितिका अध्यक्ष गौतमले बताए ।