तिहारको शुभकामना

खेतबारीको कामको चापसँगै नेपालीहरुको आँगनमा यमपञ्चक अर्थात् शुभदिपाली छाएको छ । भातृत्वको र सद्भावको पर्वको रुपमा रहेको दिपावली अर्थात् तिहार पर्वलाई नेपालीहरुले दोस्रो ठुलो पर्वको रुपमा मनाउने गरेका छन् । बत्तिहरुको पर्वको रुपमा मनाईने दिपावलीलाई दिदी बहिनी तथा दाजुभाई बीचको प्रेम प्रकट गर्ने पर्वको रुपमा मनाउने चलन छ । यो पर्वमा सूचनाको सम्बाहकको रुपमा काग, इमान्दारिताको प्रतिकको रुपमा कुकुर, उत्पादनमा सहयोग गर्ने गोरु, मल, मुत्र र दुध उपयोगी मानिने गाई र दैनिक जिवनमा अत्यावस्यक बस्तुको रुपमा रहेको पैसा तथा धन सम्पत्तिलाई पुजा गर्ने प्रचलन समेत परापुर्वकालदेखी चलिआएको छ । नेपालका हरेक पर्वहरु जस्तै तिहारलाई पनि पौराणिक मान्यताका आधारमा नै मनाउँदै आईरहेको छ । यो पर्वसँग जोडिएका धार्मिक तथा बैज्ञानिक कयौं कारणहरु छन् । पौराणिक रुपमा मनाउँदै आएको यो पर्वका केही सुधार गर्नुपर्ने पक्षहरु रहेका भएपनि यो पर्वले अन्य पर्वले भन्दा फरक महत्व बोकेको छ ।

तिहार पर्व हाम्रो संस्कार र संस्कृति हो । यो पर्वका सकरात्मक पक्षहरुको संरक्षण गर्नु र नकरात्मक पक्षहरुलाई सुधार गरेर लैजानु अहिलेको पुस्ताको जिम्मेबारी हो । पछिल्लो समय तिहार पर्वका नाममा कयौं बिकृतिहरु समेत हाम्रो समाजमा व्याप्त हुँदै गईरहेका छन् । तिहारमा दाजुभाई तथा दिदिबहिनीहरुले टिका लगाउँदा प्रयोग गरीने खानपान तथा उपहारमा बिकृतिको ठुलो रुप प्रवेश गरेको छ । सकेर होस वा नसकेर उपहारमा होडबाजी गर्ने प्रचलनले हुने खाने र हुँदा खानेको बीचको खाडल निकै गहिरो बनाईरहेको छ । तिहारमा प्रयोग हुने खानपान र उपहारको यो बिकृत रुपलाई तत्काल सुधार गरेर सद्भाव र भावना जोड्ने पर्वको रुपमा तिहारलाई विकास गर्न जरुरी छ । तिहारको अर्को बिकृत पक्ष भनेको देउसी भैलो हो । तिहारमा खेलीने देउसी भैलो साथीभाई तथा आफन्तसँग रमाईलो गर्ने र सद्भाव बाँड्ने खेल हो तर पछिल्लो समय देउसी र भैलो पैसा उठाउने र मनोरञ्जन मात्रै लिने खेलको रुपमा विकास भैरहेको छ ।

अझै पछिल्लो समयको देउँसी भैलोमा प्रयोग हुने बिदेशी भाषाका गीत तथा सोही अनुसारको नृत्य अर्को बिकराल रुप हो । देउँसीमा दिएको आशिष व्यवहारिक जिवनमा लागुहुने परम्परागत मान्यता अनुसार देउँसी र भैलोका गीत तथा नृत्यहरुमा मौलिकता खोजिनु आवश्यक छ । तिहारको बहानामा अर्को बिकृति पनि हाम्रो समाजमा व्याप्त छ । त्यो बिकृती जुवातास जस्ता बाजीहरुको बिकृती हो । तिहारको बहानामा यो धेरै हुने गरेको छ । जुवातास लगायतका खेलको नियन्त्रणमा पनि अहिलेको पुस्ताले ध्यान पु¥याउन जरुरी छ । तिहार सबैको रमझमको पर्व बनोस, सबैका भावना जोडिने पर्व बनोस, कसैको जुवातासका कारण घरबास नउठोस, देउसी र भैलेनीहरुमा सुधार आएर मौलिकता भेटियोस, दाजुभाई दिदीबहिनी नहुनेहरुलाई पनि तिहारको महशुस हुनेगरी भावना बाँडियोस, शुभ दिपावली २०७५ को अवसरमा तपाईंहरु सबैलाई हाम्रो तर्फबाट शुभकामना ।