बहुपेशाबाट आम्दानी गर्दै झप्पन श्रीष

बागलुङ, २२ कार्तिक — सलक्क बसेको डाँडामा केही समथरीलो जमिन छ, प्राय बारीका पाटा रहेको उक्त जमिनको दाहिनेतर्फ पानीले काटेर बनाएको खहरे, सानो जंगल, जंगल छेवैमा रहेको बिद्यालय भवनमाथि रहेका केही बारीका पाटामा कतै घर बनाएर व्यापार, कतै गोठ बनाएर भैसी पालिएको छ भने कतै खोर बनाएर बाख्रा, कुखुरा र बंगुर पालिएको छ । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका ४९ बर्षिय झप्पन श्रीषको व्यवसायको चित्र हो यो । केही समय पहिला दुवै मृगौला फेल भई जीवन मरणको दोसाँधबाट पुर्नजीवन पाएका श्रीषले पछिल्लो समय बहुपेशाबाट मनग्य आम्दानी गर्न थालेका छन् । तीन बर्ष अगाडि दुवै मृगौलाले काम गर्न छाडेर थलिएका श्रीस आफ्नी श्रीमतीको एउटा मृगौला प्रत्यारोपाण गरेर पुर्नजीवनपछि बहुपेशामा सफल बन्दै समाजकै उदाहरणीय बन्न सफल भएका हुन् । श्रीषको व्यवसाय निकै चल्ने गरेको छ । खोरमा पालेका बाख्रा, कुखुरा र बंगुरले समेत उनलाई राम्रो आम्दानी दिने गरेका छन् । बिरामी परेर थलिएपछि बाँच्ने आशा मारेका श्रीस मृगौला प्रत्यारोपण पछिको जीवनलाई उदाहरणीय बनाउने सोंचका साथ अगाडि बढेको बताउँछन् । अस्पतालबाट बाहिर निस्केपछि केही नगरी आराम गर्ने समयलाई बहुव्यवसायमा प्रयोग गरेका श्रीसले आफ्नै घरमा बाख्रा, बंगुरन, कुखुरा, माहुरीपालन, तरकारी खेतीसँगै किराना पसल सञ्चालन गर्दा जिवन जिउने कला सिकेको बताए । हरेक महिना ७५ हजार रुपैयाँ भन्दा बढीको औषधी सेवन गरिरहेका श्रीसले उपचारका लागि अहिलेसम्म करिब ९० लाख रुपियाँ खर्चेको बताउँछन् ।

युवा अवस्थादेखिनै गाउँमा व्यवसाय गरेको अनुभवलाई सदुपयोग गर्दैै श्रीसले आफू थलिएपछि उपचार खर्च तथा परिवारको आगामी भविष्यका लागि बाँच्ने बेलासम्म केही गर्नुपर्छ भन्ने उद्देश्यले बहुपेशा अँगालेको बताए । बिरामी हुनुभन्दा अगाडि गाउँमा सञ्चालित किराना पसलको रेखदेख, ट्याक्टरमा सामान ढुवानी लगायतका काम गरेका श्रीस अहिले बहुपेशामा रमाउँन थालेका छन् । ‘म युवा अवस्थादेखिनै व्यवसायमा लागेको थिए, बिरामी भएर थलिएपछि श्रीमतीको एउटा मृगौला प्रत्यारोपण गरेको छु, आफ्नो महंगो उपचार खर्चले परिवार ऋणमा नडुबुन भन्ने उद्देश्यले आराम गर्ने समयलाई पेशा व्यवसायमा लगाएको छु’ श्रीसले भने । आफ्नो बहुपेशालाई श्रीमती, छोराछोरी सबैले साथ दिएकाले सफल भएको बताउँने श्रीसले नियमित औषधी सेवन गरिरहनु पर्दा आफूले जटिल काम गर्न समस्या हुने भएकाले एकजना कामदार राखेर सबै पेशालाई व्यवस्थापन गरेको बताउँछन् । प्रायः अनेकथरि क्षेत्रमा लगानी गर्दा सफलता प्राप्त गर्न नसक्ने देखिएपनि श्रीसले हरेक क्षेत्रमा राम्रो आम्दानी गर्छन् । अहिले उनको फार्ममा पाँच सय भन्दा बढी ब्रोइलर कुखुरा, एक सयको हाराहारीमा कोइलर, सोही संख्यामा लोकल कुखुरा, ४० वटा बाख्रा, १० वटा बँगुर रहेका छन् । पुर्नजीवन पाएपछिको जीवनलाई व्यवसायीक नाफा मात्र नभई समाजमा सेवा समेत प्रदान गर्ने सोंच अनुसार अन्य ठाउँमा भन्दा सस्तो दररेटमा घरायसी सामान, मासु तथा तरकारी उपलब्ध गराउँदै आएका श्रीसले व्यवसायीले सेवाग्राहीलाई असहज हुने गरी नाफा खान नहुँने बताउँछन् । ‘मैले आफ्नै गाडीमा सामान गाउँमा ल्याएर उपभोग्य बस्तु बिक्री गर्छु, बँगुर, बाख्रा तथा कुखुरापालन गरेर घरमै मासु तयार गरेर बिक्री गर्ने भएकाले आफ्नो लागत तथा नाफा खान हुने रकम मात्र नाफा खाएर बिक्री गर्दै आएको छु, यसले रेश गाउँमा बस्ने सबैलाई सहज भएको छ’ श्रीसले भने । काठेखोला गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम लामिछानेले श्रीस बिरामी भएपछिको जीवनलाई उदाहरणीय रुपमा बिताएको बताउँछन् । वडामा मेहेनत गरी उदाहरणीय काम गर्नेहरुलाई वडामा गठित कृषि समितिमार्फत उनीहरुलाई उत्पादनमा लाग्न अग्रसर गराउँनुका साथै अनुदान तथा बजारीकरणलाई ध्यान दिदै आएको बताउँछन् ।