मैले भाइटीका लगाइदिएका ती दुई भाइ

सम्झनामा ति दिनहरु !

मन निक्कै आत्तिन्थ्यो। आइडी बनिसकेको थिएन। फराकिलो जन्मथलो र घर आँगनमा हुर्केको मान्छे एकैपटक हङकङ जस्तो बिरानो ठाउँ र साँघुरो कोठामा बस्नुपर्दा कति कठिन हुन्छ भन्ने आएपछि मात्रै थाहा भयो। स–साना कोठा। धेरै मान्छेहरु मिलेर बसेका। कोही कताका कोही कताका। कहिलेकाहीँ छुट्टिमा आफन्तकोमा जाँदा रमाइलो लाग्ने। र, कहिलेकाहीँ त पार्कमा नेपाली भेट्दा पनि नौलो र रमाइलो लाग्ने।
जो नेपाली देख्दा पनि बोलाउँ र बोलौं जस्तो लाग्ने, आफ्नोपनको न्यानो अनुभुती हुने।
विदेशको ठाउँ। मान्छेहरु पनि अर्कै ग्रहबाट आएका सेता किरा जस्ता लाग्ने। हङकङमा बलियाबाङ्गा नेपालीको काम हुने नै भयो। छ्यामा मामाहरु र हामी जस्ता भुराभुरी चाहिँ पार्क वा कोठामा बस्न बाध्य भइन्थ्यो।यसैक्रम चलिरह्यो।
बजै, म र मामाका छोराछोरी पार्क जान्थ्यौं। पार्कमा अन्य ठाउँका नेपाली पनि आउँथे। सबैसँग बोल्ने हाँस्ने गरिन्थ्यो। आफुभन्दा सानालाई भाइबैनी भनेर बोलाउने, खेल्ने गरिन्थ्यो। यसै क्रममा तनहुँ घर भएका नेपालीसँग भेट भएको थियो। बाबा–आमा र दुई छोरा। मेरो अन्दाज अनुसार दुई छोरा मेरो कान्छो भाइ सँगैको हुनुपर्छ। २०–२२ वर्षका भए होलान अहिले।
दशैं आयो !
जसोतसो बाबा–आमा, मामा–माइजु र आफ्नाहरुसँगै दशैं मनाइयो। बस्ने कोठा नजिकै त्यो पार्क परेको हुँदा केटाकेटी, बाजे–बजै पार्कमै निस्किन्थौं। केही समयपछि तिहार पनि आयो। नेपालको जस्तो रौनक त कहाँ हुनु र यो बिरानो ठाउँमा। एक किसिमको वियोग मनमा अंकुरण भए जस्तो लाग्थ्यो। न भाषा मिल्ने, न भेष। प्रवासिएपछिको त्यो नै पहिलो तिहार थियो।
जतिसक्दो चाँडो आइडी लिएर नेपाल फर्कने हतार मनभित्र भैरहन्थ्यो। १९९८ सेक्टेम्बर १४ सोमबारको दिन भिसा थप्ने दिन थियो। बाबा र म बिहानै वान्चाईस्थित अध्यागमन विभाग गयौं। नौ बजे नै हामी अध्यागमन पुगिसकेका थियौं। भिसा फारम भरेर बुझायौं र वेटिङमा बस्यौं।
उफ !
लगभग एक घन्टाको पर्खाइपछि फेरि उही एक महिनाको भिसा दिएछ। मन खिन्न भयो। बाबाको अनुहार पनि निन्याउरो देखें। हाम्रो भविष्य र आफ्नो कर्तव्य तथा जिम्मेवारीले बाबा नेपालबाट हङकङसम्म लागिपरिरहनु भएको थियो। मेरो र भाइको आइडी बनेपछि फेरि नेपाल फर्केर पढाइलाई निरन्तरता दिन जरुरी थियो।
मन भावविह्वल भए पनि बाबाको अगाडि आफुलाई निराश देखाउन चाहिनँ। बुझ्ने भएपछि आजको दिनसम्म बाबा आमाको कठिनाइको कारण कहिल्यै बन्नु नपरोस् भन्ने लाग्थ्यो र आज पनि सकेसम्म त्यही चाहना हुन्छ। सायद हरेक छोराछोरीको भावना यस्तै हुँदोहो।
भिसा थपेपछि फेरि उही कोठा र पार्क हुन थाल्यो। फेरि उही चिनेजानेका नेपालीहरु भेट हुन्थे। पार्कमै भेट भएका तनहुँका ती दुई भाइहरु पनि भेटिइरहन्थे। बजै र म स्याङ्जाकी अर्की बिमला दिदीसँग पनि सोही पार्कमा भेटिन्थ्यौं।
तिहारको दिन हाम्रोमा टिका लगाएर सकेपछि पार्कमा निस्कियौं। यत्तिकैमा तिनै तनहुँका भाइहरुकी आमा पार्कमा आउनु भयो। ‘जुनु नानी, भाइहरुलाई टिका लगाइदेउ न है। भाइहरुले टिका लगाउँछौं भन्दै कर गर्दैछन्। अरु कोही भएन, तिमिले नै टिका लगाइदेउ न है नानी,’ आमाले यसरी नै भन्नुभयो।
एकछिन त म आश्चर्यमा परें। उनीहरू तनहुँको, म कहाँ बाग्लुङको। फेरि साइनो पनि नेपाली बाहेक खासै लाग्दैनथ्यो। छेवैमा बस्नु भएकी बजैले भनिन्– ‘जाउ न त माइली, भाइहरुलाई टिका लगाइदेउ। भाइटीका लगाउन पाउनु त भाग्यको कुरा हो।’
अहिले आएर दिदीभाइ र दाजु बहिनीको अपनत्वको महत्व बुझ्दा यसरी मैले थप दुई जना भाइहरुसँग माइतीको नाता जोड्न पुगेको रहेछु। कुनै पूर्व जानकारी बिना अन्जानमै चेली–माइतिको सम्बन्ध गाँस्न पुगेछु। अहिले ती भाइहरु कहाँ छन् मलाई थाहा छैन। तर भाइटीका लगाइदिएपछि जोडिएको हाम्रो चेली–माइती र दिदी–भाइको साइनोको सम्झना भने ताजै छ।
टिका लगाइदिएपछि पाएको दक्षिणा भन्दा मलाई भाइ र भाइको परिवारसँग जोडिएको नाता र सोही नातासँग जोडिएको आत्मियता प्यारो लाग्थ्यो र अहिले पनि लाग्छ। ती दुई भाइहरुपछि नेपाल फर्केर पढ्दै गरेको खबर पाएको थिएँ। अंकलले कतै भेट्दा ‘सन्चो बिसन्चो के कसो छ नानी’ भन्दै मायाले बोलाउनु हुन्थ्यो। आण्टिलाई बाटोमा भेट्दा भाइहरुलाई सोध्न बिर्सिँदैनथें।
आज फेरि भाइटीकाको दिन !
यो वर्ष पनि मेरो कान्छो भाइलाई भाइटीका लगाइदिनेछु। म जस्तै हजारौं दिदीबहिनीले आफ्ना दाजुभाइको निधारमा भाइटीका लगाइदिएर दाजुभाइको सुख समृद्धि तथा लामो आयुको कामना गर्नेछौं। बाध्यता र विवशताले चेली माइतीहरुको मिलन हुनेछ। र, सँगसँगै ती दुई भाइहरु जहाँ भएपनि उनीहरुको निधार खाली नरहोस् भन्ने चाहन्छु। मैले ती दुई भाइहरुलाई फेरि दोहोर्याएर भाइटीका लगाइदिन नजुरे पनि अरु कोही न कोही दिदीबहिनीको हातबाट टिका ग्रहण गरेर चेली र दाजुभाइको पवित्र नाता अझ पवित्र बनाउने छन् भन्नेमा विश्वस्त छु।
अहिले निकै समय भो अंकल आन्टिलाई पनि भेटेको छैन। भाइहरु हङकङमै छन् वा नेपाल वा अन्तै कतै छन् थाहा छैन। तर मलाई पूर्ण विश्वास छ कि उनीहरु जहाँ जे जसरी रहेपनि शकुसल छन्। मैले भाइटीका लगाइदिँदा सानै उमेरका भाइहरु अहिले पक्कै जवान भैसके होलान। धेरै पढेर ठूला मान्छे बने होलान्। म दिदीको मनोकांक्षा यहि छ र सधैं रहनेछ।
र, यो दिदीको इच्छा !
नमरी बाँचे, भाग्यले जुराइदिए फेरि कुनै वर्ष भाइटीका लगाइदिनेछु। त्यतिन्जेलसम्म यो दिदीलाई नभुल्नु है !