अकबरे खुर्सानी बेचेर मनग्य आम्दानी

पर्वत, २६ कार्तिक — धेरै युवा नेपालमा रोजगारीको अवसर नपाएको भन्दै विदेशिने गरेका बेला पर्वतका एक युवाले भने अकबरे खुर्सानी बेचेरै विदेशमा भन्दा राम्रो कमाइ गरेका छन् । जिल्लाको महाशिला गाउँपालिका ५ लुंखुका प्रकाश क्षेत्रीले व्यावसायिक रुपमै अकबरे खुर्सानी खेती गरिरहेका छन् । करिब आठ रोपनी जमिनमा खुर्सानी लगाएका क्षेत्रीले एक पटकको उत्पादनबाट मात्र २ लाख रुपैयाँ कमाएका छन् । ‘उत्पादन राम्रो नभएर लगानी पनि नउठ्ने हो कि भन्ने चिन्ता लागेको थियो, तर सोचेभन्दा राम्रो उत्पादन हुँदा आम्दानी पनि राम्रै भयो ।’ क्षेत्रीले भने । प्रकाशले यस अहिलेसम्म १२ क्वीन्टल खुर्सानी उत्पादन भएको र अब यही वर्षमै सोही परिमाणकै खुर्सानी फल्ने बताए । परीक्षणकै क्रममै राम्रो उत्पादन दिएका कारण खुर्सानी खेतीलाई अझै विस्तार गर्ने उनको योजना छ । महाशिला गाउँपालिकाका अधिकांश वडामा विगतमा तरकारी बाहिरबाट आउने गरेको छ । पछिल्लो समयमा गाउँपालिकाको अभियान र स्थानीयवासीले पनि घरमै तरकारी उत्पादन गर्नुपर्छ भन्ने अभियानले कम हुँदै गएको छ ।

खुर्सानीसमेत ठूलो परिमाणमा महाशिलामा भित्रिँदै आएको सन्दर्भमा प्रकाशले त्यसलाई रोकेरै छाड्ने दाबी गर्छन् । ‘बाहिरबाट अब गाउँमा खुर्सानी भित्रिन दिन्नँ’ उनले भने । गाउँपालिकामा बिक्री गरेर बाँकी रहेको उत्पादन फलेवास, कुश्मा, कार्कीनेटा र पोखरासम्म पु¥याउने उनको योजना छ । अहिले अकबरे खुर्सानी मात्र लगाएका उनले यही वर्षबाट रागे खुर्सानीको उत्पादन पनि शुरु गर्दै छन् । यसका लागि उनले भारतको सिलोङ पुगेर रागे खुर्सानीको बिउ ल्याईसकेका छन् । तेलमा डुबाएर राखेमा एउटा खुर्सानीको दानाले वर्षभरी पुग्ने उनको दाबी छ । ‘रागे खुर्सानी एउटा दानाले एउटा जति ठूलो भतेर पनि उम्काउन सकिन्छ ।’ प्रकाश भन्छन्, ‘त्यसैले यो खुर्सानी लोकप्रिय हुने सोचेरै भारत पुगेर बिउ ल्याएको हुँ ।’ उनले आफ्नै जमिनमा माछापालन र व्यावसायिक तरकारी उत्पादनसमेत सुरु गर्ने भएका छन् । तरकारीका लागि १५ वटा प्लाष्टिक घर निर्माणको तयारी उनले गरेका छन् । वैदेशिक रोजगारीमा जान खर्चने लगानी गाउँमै खर्चदा धेरै आम्दानी गर्न सकिने दाबी गर्दै प्रकाशले आफ्नो व्यावसायिक तरकारी खेती र खुर्सानी खेतीले वैदेशिक रोजगारीमा जान इच्छुकलाई रोकेर गाउँमै लगानीका लागि बाटो देखाउने उनको सोच छ । महाशिला गाउँपालिकाका ५ का वडा अध्यक्ष जीवन विक्रम उचैले प्रकाश क्षेत्रीको सोच र काम गराईले लोभ्याएको बताए ।