देउसीभैलो खेलेर शिक्षकलाई तलव

म्याग्दी, २६ कार्तिक — म्याग्दीका विभिन्न विद्यालयमा निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब खुवाउन देउसीभैलो खेलेर रकम संकलन गरिएको छ । जिल्लाको ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूले निजी स्रोतमा राखेका शिक्षकहरूलाई तलब खुवाउन समस्या भएपछि ३ वटा विद्यालयले देउसीभैलो खेलेका थिए । मालिका गाउँपालिका १ खहरेमा रहेको सिद्धार्थ आधारभूत विद्यालयले सञ्चालन गरेको देउसीभैलोमा दुई लाख पाँच सय ७० रुपैयाँ संकलन भएको छ । विद्यालयका प्रधानाध्यापक मोतीराज गौतमका अनुसार देउसी भैलो खेल्ने क्रममा २५ हजार रुपैयाँ खर्च भयो भने एक लाख ७५ हजार ५ सय ७० रुपैया बचत भएको छ । यसैगरी, मंगला गाउँपालिका १ कुहुँका बासिन्दाले देउसीभैलो खेलेर स्थानीय दीपशिखा माध्यमिक विद्यालयका लागि लागि चार लाख ५५ हजार रुपैयाँ जुटाएका छन् ।

संकलित रकम विद्यालयको भौतिक विस्तार, शैक्षिक गुणस्तर सुधार र निजी स्रोतका शिक्षकको तलब भत्तामा खर्च गरिने प्रधानाध्यापक नन्दबहादुर खत्रीले जानकारी दिए । यस्तै, रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेमा रहेको रितुङ माध्यमिक विद्यालयको सहयोगका लागि शिक्षक, विद्यार्थी र अभिभावकहरूले देउसीभैलो खेलेर पाँच लाख रुपैयाँ संकलन गरेका छन् । निजी स्रोतबाट माध्यमिक तह सञ्चालन गरिएका कारण निजी स्रोतका शिक्षकको तलबका लागि संकलित रकम परिचालन गरिने शिक्षक यामप्रसाद विश्वकर्माले बताए ।