कानुनको सही सदुपयोग

लामो समय कार्यान्वयनमा रहेको मुलुकी ऐनलाई विस्थापित गर्दै नेपालमा नयाँ मुलुकी देवानी संहिता लागु भएको छ । भर्खरै कार्यान्वयनमा आएको देवानी तथा फौजदारी संहितासँगै केही आशा र केही निराशाहरु समेत पलाएका छन् । पछिल्लो समय संहिताका केही बुँदाहरुका कारण प्रेस स्वतन्त्रता, प्रहरी संगठनको स्वतन्त्रता, यातायात क्षेत्र तथा स्वास्थ्य क्षेत्रमा गरिएको कडाई लगायतका बिषयमा प्रश्नहरु उठेको भएपनि संहिता लागु भएयता त्यसको प्रभावका कारण देखीएको परिवर्तन भने विवाह पछिको सम्बन्ध बिच्छेदमा छ । बागलुङमा पछिल्लो समय सार्वजनिक भएको तथ्याङ्कलाई आधार मान्ने होभने एक महिनाको अवधिमा जिल्ला अदालतमा दर्ता हुने सम्बन्ध बिच्छेदका मुद्दा निकै धेरै देखीए । सरदरमा दिनमा एक भन्दा धेरै मुद्दा फैसला गर्नुपर्ने गरी जिल्ला अदालतमा मुद्दा दर्ता भएको पाईएको छ । एकै महिनामा ३१ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता हुनु भनेको सम्बन्ध बिच्छेदले बिकराल रुपधारण गर्दै छ भन्ने संकेत हो ।
मौलिक हकहरुलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउनका लागि र कार्यान्वयनमा ल्याउनका लागि सहयोगी बन्ने गरी बनाईएको संहिताका कारण सम्बन्ध बिच्छेदले प्रश्रय पाएको छ । मुलुकी ऐनका बिभिन्न समयमा भएका संसोधनहरुले सम्बन्ध बिच्छेदलाई केही हदसम्म कडाईका साथ राखेको भएपनि पछिल्लो समयको देवानी फौजदारी संहिताले बनाएको खुकुलोपनका कारण महिला तथा पुरुषहरु दुवै सम्बन्ध बिच्छेदमा लालाहित देखीएका छन् । जिल्ला अदालतमा दर्ता भएका सम्बन्ध बिच्छेदका मुद्धामध्ये पुरुषले सम्बन्ध बिच्छेद चाहेर दर्ता भएका मुद्दाको संख्या बढि हुनु अर्को महत्वपुर्ण कुरा हो । पुरुषले चाहेको खण्डमा योभन्दा पहिला अदालतले सम्बन्ध बिच्छेदको फैसला गर्न सक्ने व्यवस्था यो भन्दा पहिलेको कानुनमा थिएन् ।
एकातर्फ देशको परिस्थितीका कारण रोजगारी लगायतका कामको शिलशिलामा पुरुषहरु बाहिर रहने र महिलाहरु घरमा रहँदा भावनात्मक सम्बन्धमा चिसोपना देखा पर्दै जानु र अर्कोतर्फ बढ्दो प्रबिधिको प्रयोगका कारण पुरुष महिला दुवैले प्रबिधिको प्रयोगमार्फत आफ्नो जिवनसाथीभन्दा अर्को कोही व्यक्तिसँग भावनात्मक सम्बन्धलाई बिस्तार गर्ने गरेका कारण सम्बन्ध बिच्छेद गर्न चाहने र स्वतन्त्र भएर बाच्न चाहनेहरुको संख्या बढ्दै गैरहेको छ । पश्चिमाहरुको सिको गरेर एकल जिवन बिताउन चाहनेहरुको समेत संख्या बढ्दै छ । कानुनी रुपमा अड्चन रहेकै कारण चाहेर पनि सम्बन्ध बिच्छेदको चरणमा पुगेकाहरुलाई रोकीएको भएपछि पछिल्लो समय कार्यान्वयनमा आएको कानुनले सहजता प्रदान गर्दा यो संख्या बढेको हो । कानुनी सहजता अफ्ठेरोमा परेकाहरुलाई मात्रै हो । यो जोकोहीको सहजताका लागि वा कुनै मिलेको परिवारमा भाँडभाईलो नचाउनका लागि गरीएको हैन् । कानुनको सहि सदुपयोग गरेर हुने र मिल्ने सम्म मेलमिलाप गरेर हरेक परिवार सुन्दर बनाउन सबैमा चेतनाको खाँचो देखीएको छ । कानुनको दुरुपयोग गरेर व्यक्तिगत आकांक्षा पुरा गर्नकै लागि सम्बन्ध बिच्छेद गरेर सुन्दर घर बिग्रिन नदिनको लागि सामाजिक स्तरमा चेतना फैलाउन र कानुनको सही सदुपयोग गराउन सरोकारवालाले समयमै ध्यान दिन आवश्यक छ ।